site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कराँतेका दीप
Sarbottam CementSarbottam Cement

खेल जित्नलाई खेलिन्छ । खेलाडीहरू जितका लागि खेल्छन् । उनीहरूले जित्दा राष्ट्रले पनि जित्छ, उनीहरू हार्दा राष्ट्र पनि हार्छ ।
तर, सितोरियो कराँतेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी (हाल प्रशिक्षक) दीपक श्रेष्ठ त्यस्ता अनौठा खेलाडी हुन्, जो हार्दा पनि खुसी भए । त्यही खुसीले उनी खेल जीवनमा ढलमल नहुने गरी चम्किए । हार्दा दुःखी भएर बसेका भए शायद उनले नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउँथेनन् ।

“०५० सालमा बनेपामा क्षेत्रीय खेल थियो । मेरो पहिलो खेल थियो, हारें । तर, खै किन हो, हारेर पनि म अति खुसी भएँ,” खेलकुद भनेपछि सानैबाट हुरुक्क हुने श्रेष्ठले सम्झिए, “हारेर पनि त्यति खुसी भएँ भने जित्दा कति खुसी हुन्छु होला ? घरमा आमाबुबालाई मेडल देखाउन पाए कस्तो हुन्छ होला ? त्यही सोचेर निरन्तर कराँतेमा लागेँ । मलाई खेलमा नशा पस्यो ।”

कराँतेमा सफल खेलाडी भए पनि दीपकलाई सबैभन्दा बढी मन पर्ने खेल फुटबल थियो । कुनैबेला उनी फुटबल खेलाडी बन्न लागिपरेका थिए । उनले स्कुल, टोलका सबै प्रतियोगिता खेले । स्कुलको फुटबल टोलीका कप्तान थिए । केही समय पाटनको थ्रीस्टार क्लबमा प्रशिक्षण लिनसमेत भ्याए । १२ वर्षको हुँदा उनी राजदल गणमा हुने थ्रीस्टार क्लबमा प्रशिक्षण गर्न जान्थे । त्यहाँ सिनियरसँग करिब ३ महिनाजति प्रशिक्षण लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, उनलाई कराँतेमा चम्किनु रहेछ । स्वास्थ्यका कारण दीपकले फुटबललाई निरन्तरता दिन सकेनन् । फुटबल प्रशिक्षणकै बेला उनलाई टाइफाइडले समात्यो ।

“नियमित २ घण्टा ट्रेनिङ र साइकलमा १४ किलोमिटर हिँडाइले मलाई टाइफाइड भयो,” दीपकले सम्झिए, “मध्यमवर्गीय परिवारमा जन्मिएकैले मलाई न्युट्रिसनबारे जानकारी नै थिएन । ट्रेनिङले मेरो स्वास्थ्य कमजोर बनायो । त्यसपछि मलाई परिवारले ट्रेनिङमा आउन दिएन । बरु घरनजिकै अरु खेल खेल्न छुट दिनुभयो ।”

Global Ime bank

त्यसपछि सुरु भयो दीपकको कराँते यात्रा– चापागाउँबाट रंगशाला, रंगशालाबाट विश्व च्याम्पियनसिपसम्म ।

“मलाई टाइफाइड भएपछि घरबाट फुटबलमा प्रतिबन्ध नै लाग्यो । घरबाट टाढा जान नपाइने भयो । तर, मलाई घर नजिकै अरु खेल खेल्न भने छुट थियो,” दीपकले सम्झिए, “गाउँमा मीनकृष्ण (गुरु) महर्जनले कराँते सिकाउनुहुन्थ्यो । म उहाँसँग कराँते सिक्न थालेँ ।”

यस दौरान दीपकले धेरै राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिते । समकालीन कराँते खेलाडीभन्दा माथिल्लो दर्जामा रहे । उनले राष्ट्रिय मान्यताप्राप्त दर्जन प्रतियोगितामा स्वर्ण जिते । तीन पटक दक्षिण एसियाली खेलकुद (साग) खेलेका दीपकले आठौं र नवांै संस्करणमा लगातार दुई स्वर्ण जिते । त्यसबाहेक उनले अन्य थुप्रै अन्तर्राष्ट्रिय आमन्त्रण च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दुई पटक एसियन गेम्समा सहभागी पनि भएका छन् ।

बाल्यकाल
०३४ वैशाखमा ललितपुरको चापागाउँमा जन्मिएका दीपक साह्रै चकचके थिए । बदमासी गरेर बुवाको हातबाट थुप्रै पटक कुटाइ खाएका छन् । ठूलाले भनेको नमान्ने, पढ्दै नपढ्ने, स्कुल जाने निहुँमा फिल्म हेर्न जाने गर्थे । गाउँलेको नजरमा उनी बिग्रेका केटा थिए । शुक्रबार भयो कि फिल्म हेर्न नगई नहुने । पैसा नहुँदा बुवाको चोर्थे । पत्ता लागेपछि धूवाँधार कुटाइ खान्थेँ । तर, पढाइभन्दा खेलमा रुचि राख्दा उनी बिस्तारै ज्ञानी हुँदै गए ।

९–१० वर्षकै उमेरमा गाउँकै एक डोजोमा कराँते खेल्दै गर्दा दीपक निकै राम्रो खेल्ने भइसकेका थिए । त्यसैले एकदिन गुरु मीनकृष्ण महर्जनले रंगशालामा अभ्यास गर्न जान सल्लाह दिए । त्यसपछि सुरु भएको हो दीपकको कराँते यात्रा । उनको सहर प्रवेश पनि कराँतेसँगै भयो ।

“मलाई मीन गुरुले अब यहाँ खेलेर हुन्न, तिमी रंगशाला जानुपर्छ भन्नुभयो । अनि म ०४९ सालमा रंगशाला आएर गुरु राजेश जोशीबाट ट्रेनिङ लिएँ । त्यसको तीन महिनापछि सिनियर प्रशिक्षक हीरासिंह डंगोलबाट ट्रेनिङ लिन थालेँ,” दीपकले सुनाए ।

त्यसबेला मीनकृष्ण गुरुले गरेको सहयोग दीपक अहिले पनि सम्झिरहन्छन् । पत्रिकामा गुरुहरूको फोटो छापिएपछि कराँतेमा उनी झनै दत्तचित्त भएर लागे ।

“मीन गुरुहरू दिल्लीमा आमन्त्रण कराँते च्याम्पियनसिप खेलेर आउनुभएको थियो । त्यो फोटो गोरखापत्रमा छापिएपछि हेर्ने मान्छेको लाइन लाग्यो । त्यसले मलाई खेलमा लोभ्यायो र खेलमा अझ दत्तचित्त भएर लाग्न प्रेरणा दियो,” दीपकले भने ।

रंगशालामा कराँते सिक्न थालेपछि उनी ०५० मा पहिलो पटक राष्ट्रिय खेल खेल्न बनेपा गए । त्यो प्रतियोगितामा उनी पराजित भए ।

त्यसबाट पाठ सिक्दै दीपकले ०५१ सालमा पोखरा गएर क्षेत्रीय खेलमा स्वर्ण जिते । त्यही साल जनकपुरको आठौं अधिराज्यव्यापी कराँते प्रतियोगितामा सिनियर खेलाडीलाई पराजित गर्दै ५५ केजी तौल समूहमा स्वर्ण जिते । त्यसपछि दीपकले राष्ट्रिय खेलकुदमा आफ्नो अपराजित यात्रा कायम गरे ।

जनकपुरबाट विजय यात्रा सुरु गरेका दीपकले ०५५ को चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै आफूलाई आफ्नो समयको उत्कृष्ट खेलाडी बनाइसकेका थिए । त्यही प्रदर्शनले उनी आठौं साफ गेम्स (हालको साग)का लागि बन्द सत्रमा परे ।

“मैले आफ्नो करिअरमा आठौं साफको बन्द सत्रमा रहँदा सबैभन्दा राम्रो प्रशिक्षण पाएको थिएँ,” दीपकले सम्झिए, “करिब ९ महिना ट्रेनिङको बेला धेरै सिक्ने मौका मिल्यो ।” 

काठमाडौँमा भएको उक्त साफमा दीपकले ६० केजी तौलमा स्वर्णसमेत जितेर आफूलाई प्रमाणित गरे ।

त्यसबेला दीपक टिममा पर्नेमा समेत सबैलाई दोधार थियो । किनकि एसियन गेममा कांस्य जितेका समरबहादुर गोलेजस्ता खेलाडी साफ छनोटमा थिए । दुवै ६० केजी तौल समूहमा खेल्थे । तर, प्रतिस्पर्धात्मक खेलमा गोलेलाई पराजित गर्दै दीपक साफ गेम्सका लागि छनोट भए ।

“धेरैलाई म साफमा छनोट हुन्न भन्ने थियो । तर, मैले सिनियर खेलाडी समरबहादुरलाई पराजित गरें,” दीपकले सुनाए, “मैले त्यो बेला एसियन गेममा हारेको बदलासमेत लिएँ ।”

एसियन गेममा कांस्य जित्दा गोलेले छनोटमा दीपकलाई नै पराजित गरेका थिए ।

“मेरो खेल जीवनमा सबैभन्दा खुसीको दिन नै समरबहादुर गोलेलाई जित्दा थियो शायद,” उनले भने ।

तर, त्यसपछि दीपक र गोलेबीच कहिल्यै भिडन्त भएन । दीपक ६० केजी तौल समूहमै खेल्न थाले भने गोलेले तौल समूह परिवर्तन गर्दै ६५ केजीमा उक्लिए ।

दीपकको आधिकारिक अन्तर्राष्ट्रिय खेल भने सन् १९९७ को तेस्रो अन्तर्राष्ट्रिय एसियन च्याम्पियनसिप (मकाउ) हो । त्यो खेलका लागि छनोट हुदा पनि दीपकलाई धेरै गाह्रो भएको थियो । उनी निकै घाइते भए । त्यसबेला तुलसी महर्जन जस्ता स्टार खेलाडीसँग खेल्नुपर्‍यो उनले । उक्त च्याम्पियनसिपमा नेपालबाट दीपक र धोजमान मोक्तान सेमिफाइनलसम्म पुगेका थिए । तर, दीपकले पदक जितेनन् । कराँतेमा सेमिफाइनलमा पुगे पनि ‘रिपर्चार’ खेल खेल्नुपर्ने हुन्छ । उक्त सेमिफाइनलमा कोरियाका खेलाडीसँग दीपक पराजित भए ।

खेलाडी भएर दीपकले जति सफलता पाए, खेल जीवनमा त्यत्ति नै उतारचढाव पनि भोगे । कतिपटक खुसीले लोतपोत भए, कतिपटक दुःखले गले । साग गेम्समा रेफ्रीका कारण मेडल जित्नबाट बञ्चित भएदेखि कराँते खेल्न प्रतिबन्धमा परेको हल्लाले मानसिक तनावसम्म बेहोरे । त्यसैले दीपक आफूलाई अभागी खेलाडीको रूपमा समेत चिनाउने गर्छन् ।

“मलाई श्रीलंकाको १०औं सागमा नियतवश आयोजक राष्ट्रका खेलाडीसँग फाइनलमा हराइयो । त्यो घटना सम्झिँदा अहिले पनि मुटु दुख्छ,” दीपकले सम्झिए, “नवौं साफमा कराँतेबाट एकमात्र स्वर्ण जित्ने म थिएँ । त्यसैले १० औंमा मलाई ह्याट्रिक गर्ने अवसर थियो । तर, फाइनलमा मलाई हराइयो । रेफ्रीको गलत निर्णयले म पराजित भएँ । त्यसैले अभागी खेलाडी मान्छु म ।”

दीपक अझै पनि दक्षिण एसियाली क्षेत्रमा कराँतेको आधुनिकीकरण नभइसकेको मान्छन् । भन्छन्, “कुनै समय स्ट्रिट फाइटरले खेल्ने कराँतेमा अहिले धेरै फरक आएको छ । पहिले रगत आउने गरी फुल कन्ट्र्याक्ट कराँते खेलिन्थ्यो । अहिले विपक्षीलाई थोरै चोट लागे खेलाडी ‘डिसक्वालिफाइड’ हुन्छ ।”

कराँतेमा पनि नयाँ प्रविधि प्रयोग भए दक्षिण एसियाको कराँते निकै माथि पुग्ने उनको बुझाइ छ । “हाम्रो जोनमा अझै पनि आधुनिक प्रविधि भित्रिएको छैन, जसका कारण खेलाडीहरू गलत निर्णयको शिकार हुने गरेका छन्, जसरी १० औं साफमा म भएको थिएँ । अझै पनि त्यस्तै छ । आधुनिक प्रविधिमा सुधार नआए हामी निकै पछि पर्छौं,” उनले एकैसासमा भने ।

दीपकलाई अर्को घटनाले पनि दुःखी बनाउँछ । श्रीलंकामा भएको साफ फाइनलमा आफूलाई रेफ्रीले नियतवश हराउने तयारी गरेपछि दीपकले दुई घण्टासम्म म्याटमा बसेर विरोध जनाएका थिए । र, दुई घण्टासम्म म्याट नछोड्दा दीपकलाई एसियन फेडेरेसनले प्रतिबन्ध लगाउने धम्की दिएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव जीवनराम श्रेष्ठले सम्झाएपछि दीपकले म्याट छाडे ।

त्यसपछि दीपक दिल्ली हुँदै नेपाल आउँदै थिए । दिल्लीमा पत्रकारहरूसँगको कुराकानीमा दीपकले कल्पनै नगरेको घटना सुने ।
“दिल्ली एयरपोर्टमा पत्रकार दाइहरूले मलाई एसियन कराँते फेडरेसनले दुई वर्ष खेल्नबाट प्रतिबन्ध लगाएछ हैन भनेर सोध्दा म झसंग भएँ,” मलिन अनुहार बनाउँदै दीपकले दुःखका दिन सम्झिए, “कराँते संघका महासचिव आनन्डु लामा हाम्रो म्यानेजर भएर श्रीलंका जानुभएको थियो । खै किन हो, उहाँले मिडियालाई हचुवामा मलाई २ वर्ष प्रतिबन्ध लगाएको सुनाउनु भएको रहेछ । मैले त पछि दिल्ली आएपछि मात्र थाहा पाएँ ।”

त्यो समाचारले दीपकलाई एक महिना तनाव दियो । प्रतिबन्ध लगाएको छैन भनेर प्रमाणित गर्न उनलाई निकै गाह्रो भयो । प्रमाणित गरिछाडे । दीपकले भने, “मलाई प्रतिबन्ध लगाएको छैन भनेर प्रमाणित गर्न निकै गाह्रो भयो । किनकि त्यसलगत्तै दुई महिनापछि दोहामा एसियन गेम थियो । त्यहाँ म छनोट भइसकेको थिएँ । मैले नेपाल ओलम्पिक कमिटीका महासचिव ध्रुवबहादुर प्रधानलाई प्रतिबन्धबारे बुझ्न आग्रह गरेँ । उहाँले साउथ एसियन र एसियन कराँते फेडेरेसनमा सोधीखोजी गर्नुभो । कहीँ प्रतिबन्ध लागेको देखिएन । अनि उहाँले नेपाल कराँते महासंघलाई मलाई प्रतिबन्ध नलागेको एउटा चिठी लेखिदिनुभयो । त्यसपछि मैले दोहामा भएको एसियन गेम खेलेँ ।”

त्यो एसियन गेममा दीपकले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।

त्यो घटनाले चाँडै संन्यास लिने मनस्थितिमा पुर्‍यायो । दीपकले सन् २०१० बाट औपचारिक रूपमा खेल जीवनको अन्त्य गरे । खेल जीवन टुंग्याएलगत्तै उनी प्रशिक्षण जीवनमा होमिए । उनले सिकाएका खेलाडीले धेरै पदक जितिसकेका छन् ।

दीपकका अनुसार खेलाडीहरू खेलेरै जित्ने अवस्थामा छैनन् । आफ्नो पालामा जस्तो अहिलेका खेलाडीहरूले खेल्न नसकेको उनी ठान्छन् । “मेरो योजना खेलाडीले खेलेरै जित्ने बनाउनु हो । साग गेम्समा मात्र हैन, एसियन लेभलमा पनि खेलाडीले पदक ल्याउन सक्ने बनाउने योजना छ,” उनले भने ।

दीपक जति खेलाडीमा कुशल थिए, प्रशिक्षक पनि उस्तै कुशल छन् । त्यही भएर ०७२ मा उनले प्रशिक्षकतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार पाए । त्यसअघि खेलाडी हुँदा उनी तत्कालीन राजा वीरेन्द्रबाट सुप्रबल दक्षिणबाहु पुरस्कार र ज्ञानेन्द्रबाट विख्यात त्रिशक्तिपट्ट तेस्रोबाट पुरस्कृत भइसकेका छन् ।

दीपकलाई आफ्नो सफलतामा परिवारको सहयोग महत्वपूर्ण लाग्छ । खेलाडी हुँदा आमाबुबा, भाइबहिनी र विवाहपछि  श्रीमतीको साथ र सहयोगले उनी शिखरसम्म पुगे । फेसन डिजाइनर श्रीमती कविता शाक्यलाई जस दिन उनी कहिल्यै बिर्सिन्नन् । एक छोरीको बुबा भइसकेका दीपकलाई श्रीमती कविताले भरपूर साथ दिन्छिन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ नेपालका महासचिवसमेत रहेका दीपक कराँतेको स्तर खस्किँदै गएकोमा चिन्ता लिन्छन् । यसो हुनुमा कराँते संघको विवाद मुख्य जड लाग्छ उनलाई ।

“नेपाली कराँते निकै तल झरिसक्यो । खेलाडीहरूले खेल्न छाडिसके । कराँते किन खेल्ने ? भन्ने भइसकेको छ । कारण कराँते संघको विवाद नै हो,” दीपकले भने, “यो विवादले कराँते सकिने हो कि भन्ने चिन्ता लागेको छ । कराँतेलाई पुरानै अवस्थामा फर्काउन विवाद चाँडो समाधान गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय