काठमाडौँ सहर राजधानी होइन, फोहोरदानी जस्तो लाग्छ कहिलेकाहीँ ! मनमा कहिलेकाहीँ प्रश्न उब्जन्छ, मोहर बनाउन सकिने फोहोरले काठमाडौँलाई किन झिँजोल्दो हो ? व्यवस्थापन गर्न सकिने हिलोले गल्लीलाई मात्र होइन, मूल सडकलाई नै किन गिजोल्दो हो ?
सहरीकरणसँगै बढेका सवारी र साँघुरा सडक काठमाडौंको पर्याय बनिरहेका छन् । एकातिर गन्तव्यमा पुग्नाको ताप र अर्कातिर सवारी चापले भनेको समयमा कहिल्यै पुग्न सकिँदैन । समस्याबाट आहत हुने ममात्र होइन, सिंगो सहरबासी पीडा हो यो ।
यहाँ अर्को अनौठो दृष्य पनि छ–
कुन बत्ती बल्दा सवारी रोक्ने र कुन बत्ती बल्दा सवारी चलाउने भनेर ट्राफिक लाइटमा अभ्यस्त भइसकेपछि मात्रै सवारी चालक अनुमपतपत्र प्रदान गरिन्छ । तर, सवारी चलाउँदै कतै ट्राफिक लाइट देख्न पाइँदैन । विकसित देशहरूका सडकमा ट्राफिक देख्नै मुस्किल हुन्छ । तर, यहाँ सडकमा उडेका धुलो धुवाँसँग निर्मम सिँगौरी खेल्दै ट्राफिक प्रहरी हात हल्लाइरहेका हुन्छन् ।
सवारीसाधनका चर्का हर्नले कति ट्राफिक प्रहरीमा श्रवण समस्या उत्पन्न भइसक्यो होला । यसबारे कतै कुरा उठेको सुनिँदैन ।
काम विशेषले एकदिन रत्नपार्क पुगेकी थिएँ, अर्को अनौठो दृष्य देखेँ ।
एकजना पढेलेखेका जस्तै देखिने मान्छे हतार–हतार आकाशे पुलमुनिबाट बाटो काट्दै रहेछन् । जानेबुझेका मान्छेले नै जीवनसँग यसरी खेलबाड गर्छन् भने दोष कसलाई दिनू । पुलमुनिबाटै बाटो काट्ने भए करोडौँ खर्च गरेर बनाइएका आकाशे पुलको के उपादेयता ?
त्यस्तै अर्को समस्या पनि छ ।
सवारी चालकलाई पनि जेब्रा क्रसिङको कुनै मतलब हुँदो रहेनछ । सामान्यतः ज्रेबाक्रसिङ आउन लागेपछि सवारीको गति कम गर्नुपर्छ तर यहाँ त किचुँला जसरी चलाउँछन् । वयोवृद्ध र बालकहरू अताल्लिँदै दगुर्छन्, केही भइहाले चालकहरूलाई मतलबै हुँदोरहेनछ !
एक त सबैतिर जेब्रा क्रसिङ पनि देखिँदैन । भएको ठाउँको पनि त्यो हालत देख्दा टिठ लागेर आउँछ मलाई । नियम भए पनि पालना गर्नेले नगरिदिएपछि के लाग्दो रहेछ र ?
सार्वजनिक सवारीमा यात्रुको खचाखच
निजी सवारी प्रयोगको सट्टा सार्वजनिक सवारीको प्रयोगमा बढोत्तरी दिन सके ट्राफिक व्यवस्थापनमा निकै सहज हुने विकसित देशको अभ्यासले देखाउँछ । यहाँ त त्यसको ठीक उल्टो छ । आफ्नो साधन भएन भने त भनेको समयमा गन्तव्यमा पुग्नै सकिँदैन । जिउ अड्याउन सकिने त परै जाओस्, खुट्टा राख्ने ठाउँसमेत हुँदैन सार्वजनिक सवारीमा ।
जानैपर्ने बाध्यताका कारण खुट्टा समेत टेक्न नसकिने ठाउँमा ढोकामा झुन्डिएर यात्रा गर्न बाध्य हुन्छन् यात्रु । त्यसमाथि सहचालकको रूखो वचनको कारण यात्राभरि मन अमिलो बनाइरहनुपर्छ ।
ट्याक्सीमा जथाभावी भाडा
काठमाडौंको अर्को समस्या हो– ट्याक्सी चालकको मनोमालिन्य !
समस्यामा परेका यात्रु भेट्टाए भने सहयोगको भावना होइन, कसरी पैसा दोब्र्याउने भन्ने भाव पैदा भइहाल्छ ट्याक्सी चालकमा । यो समस्याबाट प्रताडित नहुने कमै होलान् ट्याक्सी प्रयोगकर्ता ।
एक वर्षअगाडि भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको हाहाकार मच्चियो । चियादेखि चुरोटसम्मको मूल्य बढ्यो । ट्याक्सी–भाडा पनि नबढ्ने कुरा भएन । कष्ट सहेर सबैले भुक्तान गरे ।
तर, अहिले सहज छ र पनि अप्ठ्यारो लाग्नेगरी आफैँ भाडा निर्धारण गर्छन् ट्याक्सी चालक ।
हर्नको दुरूपयोग
अन्य देशमा कहाँ हर्न बजाउने कहाँ नबजाउने स्थान तोकिएको हुन्छ । तर, यहाँ त जहाँ पायो त्यहीँ ‘प्रेसर हर्न’ प्रयोग गरिरहेका हुन्छन् । बाटोमा जाममा पर्दा सबैभन्दा अगाडि आफू बढ्न पाइयोस् भन्ने चाहना सबैमा हुन्छ । त्यसो भन्दैमा ‘नो हर्न’ कै नजिक गएर बनाउनु त भएन नि !
यात्रुको लापरबाही
सडकमा चालकमात्रै दोषी छैनन् । यात्रु पनि उत्तिकै दोषी छन् ।
राजधानीको व्यस्त सहरमा यात्रुले पनि कतिपय ठाउँमा जानेर वा नजानेर गल्ती गरिरहेको हामी देख्छौँ । नजिकै आकाशे पुल हुँदाहुँदै बीच बाटोबाट बाटो काट्ने र सडक पेटी हुँदाहुँदै गाडीको नजिकबाट हिँड्छन् कतिपय यात्रु । जसले पनि सडकमा दुर्घटना बढेको नकार्न सकिँदैन ।
यस्ता धेरै समस्या छन्, जसले सुन्दर समुन्नत काठमाडौंलाई गिज्याइरहेका छन् । सहरको सभ्यता र सौन्दर्य हामी हौँ । हामी सुध्रिए मात्रै सहर व्यवस्थित बन्छ ।
रुमु न्यौपाने