site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
झोला महात्म्य

 हाइवे


“शिल्पी, अबको २० मिनेटमा !”

“हस् !” म बतासिएँ पुरानो बानेश्वरतिर ।

Dabur Nepal

बस, टेम्पो— दुईथरी गाडी चढेर निर्धारित समयभन्दा ६ मिनेट ढिलो पुगें । ‘ययाति’को नियमित शो शुरु हुँदै थियो । नाटकको ठूलो पोस्टरअघि उभिएको थियो पात्र ‘अ’, जसले मलाई फोन गरेको थियो ।

“बाटो ब्रो ! खै झोला ?” ‘अ’को प्रश्न आइहाल्यो ।

हतारमा छुट्यो । कि बिर्सिएँ मैले ? के उसले मलाई झोला नभिरेको बेला देखेकै छैन ? झोला मेरो बानी हो र ? के झोला नहुँदा म फरक देखिएको थिएँ र ? झोलावाला प्रश्नले रन्थनिएपछि यति लेखियो ।

हुन त झोलाको उत्पत्ति कहाँ, कसरी र कुन समयमा भयो भन्ने यथेष्ट अध्ययन र प्रमाण नभेटिए पनि एक अज्ञात स्रोतको खबरलाई मान्ने हो भने झोलाको प्रयोग पहिलोपटक पृथ्वीलोकमा भन्दा स्वर्गलोकमा भएको हो । नारदमुनी खबरी थिए । कुरौटे स्वभावका नारदमुनीले एक ठाउँका कुरा अर्को ठाउँमा प्रवाह गर्थे । पछि समयक्रममा सुनाइने र बोलिने कुरामा विश्वसनीयता घट्दै गएपछि नारदमुनीले लिखित सन्देश पठाउन थाले । तसर्थ ती सारा लिखित सन्देश कसरी प्रवाह गर्ने भनी सल्लाह लिन विश्वकर्मा बाबाकहाँ पुगे । बाबाले धातु, रत्न, पल्ला र मंगलजडित एउटा झोला बनाए । नारदमुनीले त्यो झोलामा आफ्ना सन्देश, चिठी बोक्थे । त्यसो त पाँच पाण्डव वनबास बस्दा पनि आफूले मागेको भिक्षा आफ्ना वस्त्रमा पोको पारेर काँधमा बेरी घर पु¥याउँथे । यसरी हातमा बोक्नुभन्दा काँधमा बोक्दा भार कम हुने देखियो । पछि कपडा, छाला अनि प्लास्टिकका हुँदै आजको झोलासम्म विकास भयो ।

आफ्नो कामबमोजिम आफ्नो यात्रामा चाहिने अत्यावश्यक वस्तु, लत्ताकपडा, नित्यकर्ममा चाहिने सामान बोक्न झोला प्रयोग गरिन्छ । सामान अट्ने हिसाबमा र प्रयोजनका आधारमा झोलाका किसिम हुन्छन् । मादले झोला, स्कुले झोला, पेरिस झोला, काँधमा बोक्ने झोला, साइड ब्याग प्रतिनिधि झोलाहरू हुन् । खानेपानी, छाता, डकुमेन्ट, ल्यापटप आदि–इत्यादि बोक्नमात्र निश्चित प्रायोजनका झोला पनि बन्न थाले ।

केही मान्छेलाई झोला बोक्ने बानी हुन्छ । पुसको मध्यचिसोमा तीन–चार जना साथीहरू हिँड्दै चिसापानी जाने भनेर भेटेछन् । एउटा केटोमात्र झोला बोकेर आएछ । सबैजना ऊसँग रिसाएछन् किनभने दुईदिने हिँडाइमा झोला ल्याउनेले झोला बोकेन, बरु अरूलाई बोक्न लगाइरह्यो । झोला अत्यावश्यक वस्तु भए पनि समयानुकूल नहुन पनि सक्छ । चिसापानी जाँदा मिथ्यामा झोला बोक्ने मान्छे पंक्तिकार स्वयं नै हो भन्दा बिल्कुल ग्लानिबोध भएको छैन ।

झोला बोक्नुको सबैभन्दा समस्या स्कुले र कलेजका विद्यार्थीलाई हुने गर्छ । काँधलाई भुइँसम्म तन्काउने झोलाको भारलाई थामेर हिँडेका विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा भयंकर समस्या हुन्छ । झोला राख्ने ठाउँ हुँदैन । अत्यधिक भीड हुने नेपाल यातायात, बाग्मती यातायात (कलंकी, बालकोट), पेप्सीकोलाको फोर्स गाडीमा भने यात्रुले २०–२५ वटा झोला रेखदेख गर्छन्, मानौं उनीहरूको कामै उभिएका यात्रुहरूका झोला काखमा राख्नु हो । झोला हराउने वा साटिने समस्या त्यो रूटमा नौला होइनन् । एकपटक साथीको झोला कुनै रूटमा साटिएछ । राहदानी, शैक्षिक प्रमाणपत्र र महत्त्वपूर्ण डकुमेन्ट हराएपछि साथीले झोला बोक्न छाडेको छ ।

नेपाली साहित्यमा झोलाको विशिष्ट स्थान र योगदान छ । ऊबेला लक्ष्मीप्रसाद देवकोटा साइकल चढ्दा झोला बोक्थे । झोलामा नेपाली साहित्यकारले निकै शब्द खर्च गरेका छन् । मदन पुरस्कार विजेता कृष्ण धरावासीले ‘झोला’ शीर्षकमा मर्मस्पर्शी कथा लेखेका छन् । पछि त्यही कथामा, त्यही शीर्षकमा यादव भट्टराईले फिल्म पनि बनाए ।

झोलाले अझ गाँजेको क्षेत्र हो राजनीति । संकटकालका बेला झोला भिरेर हिँड्ने जो पनि माओवादी लडाकुजस्तै लाग्थे । तिनको झोला बाटोमा खानतलासी हुन्थ्यो, मानांै हरेकले झोलामा बम, बारूद र बिस्फोटक पदार्थ बोकेका हुन्छन् । पञ्चायत कालमा पनि नेताहरू आफ्नो झोलामा पार्टीका पर्चा, लेटरहेड, स्ट्याम्प र चन्दा रसिद बोक्थे । उनीहरूलाई झोले नेता भनिन्थ्यो । 

पछिल्लो चुनावताका एक साँझ म फुटसल खेलेर घर फर्किंदै थिएँ । सुरक्षा संवेदनशीलता भन्दै झोला सर्च हानियो । गन्हाउने फुटसल जुत्ता अनि पसिनाले भिजेको जर्सी भेट्दा पनि प्रहरी दाजु सन्तुष्ट देखिएनन् । झोला बोकेकै कारण मान्छेप्रति बनाइने मान्यताहरू डरलाग्दा हुन्छन् ।

नेपालमा झोलाले इमान्दारीको उदाहरण दिने पनि गरेको छ । ट्याक्सीमा छुटेको यात्रुको पैसा र सुनले भरिएको झोला ड्राइभरले फिर्ता गरेका छन् । यद्यपि सबै गाडीमा छुटेका झोला भने फिर्ता हुँदैनन् । अझ नेपालीको यात्रामा झोलाको महत्त्व व्यापक रहन्छ । पारिवारिक कार्यक्रममा होस् वा दशैंमा गाउँ फर्किंदा— झोला र पोकापन्तुराको लावालस्कर हेर्नलायक हुन्छ ।

‘झोला’ शब्दले परिवार नियोजन र सन्तान संख्यामा पनि सन्देश पनि दिएको छ । “जति धेरै झोलाझम्टा, यात्रा उति साह्रो । थोरै भए पुगिसरी ।” यो चर्चित गीतमा ‘झोला’ शब्दको विम्ब गज्जबकै छ ।

एकै गाडी वा एकै फ्लाइटमा नपुगिने ठाउँमा ट्रान्जिट पर्दा झोला माथि–तल गर्ने र सार्ने काम कम्ता झन्झटिलो हुँदैन । अन्तर्राष्ट्रिय फ्लाइटमा मान्छे काठमाडौं आइपुग्ने तर झोला दुबई, दिल्लीमै रहने प्रसंग धेरैपटक सुनिसकियो । विदेश जान आँटेको एक औसत नेपालीले बोकेका साथीभाइका कोसेली अनि विदेशबाट फर्किनेले बोकेर ल्याइदिने स–साना झोला रेमिट्यान्ससँगै भित्रिन्छन् ।

परीक्षा दिने बेला परीक्षार्थीले बोकेर ल्याएको झोला कि ढोकाअघि चाङ पारेर राखिन्छ वा भित्र ब्ल्याकबोर्डअघिको स्ल्याबमा छताछुल्ल राखिन्छ । सबै विद्यार्थी एकै समयमा निस्कँदैनन् । रंग एकै र कम्पनी एकै हुने झोला एक–अर्काले भुलचुक गरेर लग्छन् ।

“मेरो त्यस्तै भयो,” एउटी साथीले भनिन्, “ब्याग साटिएपछि ब्यागभित्रको कपीमा लेखिएको नामअनुसार भोलिपल्ट फिर्ता गर्न भेट भयो । पछि हामी राम्रा साथी पनि भयौं ।”

यस्तो झोले मित्रता पनि बारम्बार देख्न पाइन्छ । हल्का रमाइलो ???? ।

पछिल्लो एक थान प्रसंगले झोलासँग सरकारको सम्बन्ध पनि उजागर गर्न सक्छ । वर्तमान मन्त्रीमण्डलका अर्थमन्त्रीले पुराना मन्त्रीको सिको (रातो रिबनले बाँधेको ब्रिफकेस) नगरी रातो लेदरको झोलामा बजेट भाषण बोकी मुस्कुराउँदै संसद् भवन छिरे । त्यसो त सरकार र झोलाको सम्बन्ध त्यति सुमधुर भने छैन । किनभने, सरकारले प्लास्टिक झोलालाई पूर्ण निषेध गर्ने कार्यक्रम ल्याएको छ । त्यसैकारण विभिन्न खाले सुपरमार्केटले आफ्नै झोला उत्पादन गरेका छन् ।

झोलालाई विज्ञापनको भरपर्दो माध्यमका रूपमा पनि लिन सकिन्छ । किनभने, मान्छेसँग झोला पुग्छ नै । झोलामा लेखिएका सन्देश पनि विज्ञापनका आधार हुन् । केही सार्वजनिक कार्यक्रमका लागि टिसर्ट र क्यापसँगै झोला पनि छाप्ने गरिएको छ । कार्यालयहरूले आफ्ना कर्मचारीका लागि र केही शैक्षिक संस्थाले विद्यार्थीलाई आधिकारिक झोला छापेर दिने गरेका पनि छन् ।

झोलामा धर्मग्रन्थ बोकेर एकाबिहानैबाट घर–घर चहार्नेदेखि सपनाको तमसुकलाई कुनै कुनामा च्यापेर ठूलो चेन लगाई एयरपोर्ट हिँड्दै गरेको नेपाली होस् वा शैक्षिक प्रमाणपत्र, बायोडाटा बोकेर अफिस–अफिस धाउने बेरोजगार, झोला सबै उमेर समूहका मान्छेले बोक्छन् । झोलाले संस्कृति, धर्म, राजनीति, प्रशासन सबैलाई बराबरी पक्डेको छ ।

त्यसो त झोला बोक्नु रमाइलो पनि हुन्छ । कालिमाटीमा एकाबिहानै झोला बोक्नेलाई ‘श्रमको लागि हो ?’ भन्दै तान्नेदेखि कोटेश्वरमा ‘सिन्धुली बर्दिबास हो ?’ भन्दै तानिन रमाइलो छ । रत्नपार्कमा झोला बोक्ने अधिकांशलाई ‘पुलिस रिपोर्ट’ बनाउन आएको मात्र ठानिन्छ ।

एक साँझ ‘अ’सँग फेरि भेट भयो । ‘अ’ अर्थात् अज्ञात । म झोलामा थिएँ । अफिसबाट त्यतै घर फर्किंदै थिएँ ।

“झोला सर ! के छ खबर ?” 

उसले मलाई ‘बाटो सर’, ‘राजमार्ग’ सर भन्थ्यो, आज ‘झोला सर’ भन्यो । मनमनै रिसाएँ । झोला सर रे !

“अनि के त ?”

चिसापानी उक्लिँदा यात्राको आधा समय मेरो झोला बोक्ने मान्छे ऊ पनि थ्यो ।

“अब झोलाबारे केही लेख्नुस् । तपाईंको एक्सपर्टिज छ,” उसले छुट्टिँदा भन्यो । 
म मुस्कुराएँ मात्रै । लेखौंला कुनै दिन फुर्सदमा । जय झोला !!
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro