एजेन्सी । भारतसँगको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज इंग्ल्यान्डले जितको छ । मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले २–१ ले एक दिवसीय क्रिकेट शृंखलाको सिरिज जितेको हो ।
२५७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । इंग्ल्यान्डलाई जित दिलाउनका लागि जोइ रुट र कप्तान इओइन मोर्गनले उत्कृष्ट प्रदर्शन गरे । रुटले अविजित शतकीय पारी खेले । उनले १२० बलको सामना गर्दै १०० रन बनाए । उनले १० चौका प्रहार गरेका थिए ।
त्यस्तै, इंग्ल्यान्डका लागि कप्तान मोर्गनले पनि अविजित रहदै ८८ रन बनाए । उनले इंग्ल्यान्डलाई सिरिज दिलाउने क्रममा १०८ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, जोन्नी बैर्सटोवले ३० र जेम्स भिन्सले २७ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ७१ रन बनाएका थिए । त्यस्तै, शिखर धवनले ४४ र महेन्द्रसिंह धोनीले ४२ रन बनाएका थिए ।
बलिङतर्फ इंग्ल्यान्डका अदिल रशिद र डेभिड विल्लीले समान ३–३ विकेट लिए ।
३ खेलको एक दिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा पराजित भएको इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै सिरिज जितेको हो । पहिलो खेलमा भारतसँग इंग्ल्यान्ड ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने इंग्ल्यान्डले भारतलाई ८६ रनले पराजित थियो । तेस्रो खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।