विचार

समृद्धिका लागि उत्तर लाग्नोस्

आदित्यमान श्रेष्ठ

समृद्धिका लागि उत्तर लाग्नोस्

इतिहासमा नेपालले उत्तरतिर जति सम्बन्ध र सम्पर्क बढायो उति धनी बन्दै गएको देखिन्छ । यस्तै दक्षिणतिर भने जति सम्बन्ध र सम्पर्क बढायो उति उति गरीब र विपत्र बन्दै गएको छ । यस ऐतिहासिक तथ्यसित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुभन्दा अगाडि परिचित हुनु जरुरी छ । इतिहासले केही तथ्य प्रस्तुत गर्छ । त्यसबाट केही सिक्नु नसिक्नु अर्को पक्ष हो । आगामी चीन भ्रमणको क्रममा यो तथ्यले केही बाटो देखाउन सक्छ । उत्तरतिर सम्बन्ध र सम्पर्क बढाउने कि नबढाउने अथवा कत्तिको बढाउने भत्रे दुबिधा ऐतिहासिक तथ्यले केही सहयोग गर्न भने अवश्य सक्नेछ । प्रधानमन्त्री ओलीको समृद्ध नेपालको आकांक्षालाई पूरा गर्न यसले मद्दत गर्न सक्छ ।

उत्तर अर्थात् तत्कालीन तिब्बतसित सातौं शताब्दीमा पहिलोपटक सम्पर्क हुनगएको थियो । यो सम्पर्क लिच्छवी वंशका राजा अंशुवर्माको समयमा भएको थियो । तिब्बती सम्राट स्रोङ चङ गम्पो एक बलिया राजा थिए । उनले केही तिब्बतीलाई नेपालमा सम्पर्क गर्न पठाए । नेपालीले तिब्बतीको नियतमा शंका गरेर होसियारी अपनाए । अंशुवर्माले तिब्बतसित विवाहको नाता जोडेर सम्बन्ध मधुर पारे । यसबाट उत्तरी नाका खोलिएको मात्र होइन नेपालसित शताब्दियौंसम्म व्यापारिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध रहन गयो । पछि पन्ध्राैं शताब्दीमा यस सम्बन्धले अरू व्यापकता पायो । मल्लकालका यक्ष मल्लको शासनपछि काठमाडौं उपत्यका तीन भागमा टुक्रियो – कान्तिपुर, ललितपुर र भक्तपुर ।

इतिहासकार रमेश ढुङ्गेल र ऐश्वर्यलाल प्रधानाङ्गका अनुसार यी तीन राज्यको स्रोतसाधनको विभाजन र प्रतिस्पर्धाको कारण खिंचातानी सुरु भयो । तर आआफ्नो राज्यको आर्थिक उत्पादनका निमित्त तीनवटै राज्यले समानरूपले प्रयत्न गर्दै गए । फलतः राज्य विभाजन भए पनि आर्थिक अवस्थामा त्यति कमजोरी आएन । उत्तर–दक्षिण व्यापारमा प्रतिस्पर्धात्मकरूपले उपत्यकाका तीनवटै राज्य संलग्न रहे । यस युगमा उपत्यकाका मुद्रासमेत तिब्बतमा चल्ने र तिब्बतबाट त्यसको सट्टामा शुद्ध सुनचाँदी ल्याएर यहाँको राजकोष भर्ने परम्परा चल्यो । एक किसिमले तिब्बत नेपाली उत्पादनको बजार बत्र पुग्यो । नेपाली व्यापारीहरुको समूह नै तिब्बत जाने र त्यहीं कोठीसमेत खोलेर व्यापार गरी बस्न थाले । यसका निमित्त वाणिज्यदूतको समेत व्यवस्था उपत्यकाको कान्तिपुर राज्यको तर्फबाट भएको उल्लेख पाइन्छ । 
पन्ध्रौं शताब्दीमा काजी भीम मल्लले तिब्बतसँग गरेको सन्धीका बुँदा नेपालको पक्षमा थिए । यसमा निम्न बुँदा संलग्न थिए जसबाट नेपालीहरु सयौं वर्षसम्म धनी हुन पुगे ।

१. कुती—केरुङ्ग तथा त्यस आसपासका भूभाग आधा नेपालको र आधा भोटको हुने ।

२. नेपालका ३२ कोठी महाजन भोटमा व्यापार गरी बस्ने र तिनीहरु माथि भोटेहरुले कुनै पनि किसिमको दस्तुर असुल गर्न नपाउने, भोट व्यापारको व्यापार कर नेपालले नै लिन पाउने ।

३. नेपालबाट भोटमा हुने व्यापार र व्यापारीको देखरेख र व्यवस्थाका निमित्त भोटमा नायक (वाणिज्यदूत) रहने, नेपालको माध्यमबाट भोट गएका कास्मिरी व्यापारीको पनि रेखदेख नेपाली नायकबाटै हुने ।

४. नेपाली व्यापारी तथा अरू साधारण नेपाली प्रजाको मुद्दा मामिला भोट सरकारले हेर्न नपाउने, नेपाली शासकले नै मुद्दा हेर्ने, छित्रे र दण्ड दस्तुर लिने ।

५. भोटमा नेपाली पैसा (मोहर) मात्र चलाउन पाइने ।

६. १ रुपैयाको १३ मासा चाँदी, १२ रुपैयाको १ तोला वुकी सुन, १ रुपैयाको ३ पाथी नूनको दरभाउ कायम गरी यसै भाउमा किनबेच गर्ने ।

७. भारत र भोटबीचको व्यापार गर्ने आवतजावतको बाटो नेपाल उपत्यका भएर जाने बाटोमात्र अपनाउन पाइने अन्यत्र ठाउँबाट जान नपाइने ।

८. भोटमा मरेका नेपाली महाजन व्यापारीको अपुताली सम्पत्ति भोटले लिन नपाउने, नेपाल सरकारकै हुने । 

दोलखा एक छुट्टै राज्य थियो । माथि उल्लेखित इतिहासकारका अनुसार यसको विकासमा भोट—चीन र भारतबीचको मध्यस्त व्यापार मार्गको विशेष भूमिका रह्यो । किनभने तराईबाट जनकपुर, जलेश्वर, सिन्धुलीमाडी हुँदै दोलखा आएर त्यहाँबाट लामाबगर, फल्याग् हुँदै कुतीतर्फबाट भोट व्यापारमा जानेआउने व्यापार मार्ग मध्यकालमा अत्यन्त प्रचलित थियो । उपत्यकाको विभाजनपछि दोलखाले बीच बाटोमा बसेर आफैँ व्यापार गर्न र व्यापार तथा भन्सार महसुल असुल गरी फाइदा उठाउने राम्रो मौका  पाएको थियो । दोलखाका शासकहरु सबै नै भोट व्यापारमा संलग्न भएका थिए । दोलखा भोट जाने चल्तीको बाटोमा रहेको र उपत्यकाको राजनीतिक कमजोरीका कारण करिब एक शताब्दीसम्म स्वतन्त्रसमेत रहेको हुनाले दोलखाका राजा र जनताले बाह्य व्यापारको माध्यमबाट प्रशस्त सम्पत्ति आर्जन गरेका थिए । भोटबाट सुनचाँदी हात लगाउने, चाँदीमा चास्नी मिसावट गर्ने र मोहर बनाएको दस्तुरसमेत लिई चाँदीका मोहर पठाउने परम्परा दोलखाका राजा ईन्द्रदेवले नै पहिले चलाएका थिए । त्यसैले मोहर प्रसार गरेर दोलखाले बाह्य व्यापारमा विस्तार गर्ने तथा भोटबाट आर्थिक लाभ गर्ने नीति लिएको थियो । वास्तवमा दोलखा बाह्य व्यापारको कारण धनधान्यपूर्ण भएको व्यापारिक बस्ती थियो । 

काठमाडौं उपत्यकाको मध्यकालीन आर्थिक इतिहासमा लेखिएको छ – मध्यकालको उत्तरार्धदेखि भारतीय भूभागतर्फ निकासी हुनेभन्दा त्यताबाट यसतर्फ आयात हुने व्यापारको परिणाम धेरै हुन थाल्यो । भोटतर्फको व्यापारमा नेपालको एकाधिकार कायमै भएकोले मात्र त्यस बखतको व्यापार सन्तुलन नेपालको पक्षमा कायम रहेको थियो । यसरी मल्लकालको अन्तिम समयताका उपत्यकामा बाहिर टाढाटाढा देखिका विलासी र अत्यन्त मूल्यवान वस्तुको आयात दक्षिणतर्फबाट प्रशस्त मात्रामा हुन थालेको थियो । यसैबाट सचेत भएर पृथ्वीनारायण शाहको दिव्यउपदेशमा विदेशी कपडा नलगाउनू र आफैँ उत्पादन गरी प्रयोग गर्नू र आफूले उत्पादन गरेका वस्तुको निकासी गरेर विदेशी रुपैयाँ देशमा भित्र्याउनू भत्रे उल्लेख भएको हुनुपर्छ । 

मल्लकालको अन्तिम समयमा भारतीय भूभागबाट उनका सामग्री, रेसमका वस्त्र आदि यसतर्फ आयात हुन थालेको देखिन्छ । कास्मिरी उनका वस्त्रले परम्परागत नेपाली उनको बजारलाई उछित्र पुग्यो । यसकालमा आइपुग्दा भारतीय मैदानतर्फबाट आयात हुने सामग्रीको विविधता तथा परिणाममा समेत व्यापक विस्तार भएको देखिन्छ । खासगरी शासकवर्ग, सामन्त वर्ग तथा ठूलाबडाहरू देशविदेशका किमती र मिहिन वस्त्र तथा अन्य विदेशी सामग्रीतर्फ लहसिन थालेका थिए । यस ऐतिहासिक विवरणअनुसार विदेशी अनुकरणको विलासी जीवनको ज्वलन्त नमुना भक्तपुर दरबारको सूचीबाट छर्लङ्ग हुन्छ । कतिसम्म भने नेपालीहरु क्रमशः आत्मनिर्भरता र व्यापारिक फाइदाको पहिलेको अवस्थाबाट अब खस्किनेतर्फ लाग्न थालेका थिए । त्यसै कारणले पुथ्वीनारायण शाहले उपत्यका विजयको क्रममा वरिपरिबाट आर्थिक नाकाबन्दी लगाइसकेपछि काठमाडांै खाल्डो भित्रका मानिसहरुले लुगासम्म लाउन नपाएर फाटेका र टालेका लुगा लगाउन थालेका थिए । वैदेशिक व्यापारमा बढ्दै गइरहेको असन्तुलन र अघोषित नाकाबन्दीबाट कतै नेपालीको अवस्था त्यस्तै हुने त होइन ?

तपाईंको मत