गत साता नेपालका दैनिक पत्रिकाले विशेषतः सांसदहरूको विकास कोषमा १० करोड पुर्याउनुपर्ने समाचारलाई महत्व दिएको देखियो भने साताको बीचमा श्रीनिवास आचार्यले आफैँलाई गोली हान्न लगाएको समाचारलाई पनि नेपाली दैनिकले निकै महत्त्वका साथ प्रकाशित गरे । सप्ताहान्तमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको समाचारले निकै महत्त्व पायो ।
गएको साताको पहिलो दिन अर्थात् वैशाख २३ गतेका पत्रिकाको मुख्य समाचार फौजदारी अभियोग लागेका सांसदको पद निलम्वन नहुने विषयलाई सबै पत्रिकाले महत्त्व दिएका थिए । कान्तिपुर तथा अन्नपूर्ण पोस्टले यो समाचारलाई अलि बढी नै महत्त्व दिएको देखिन्छ भने अन्य पत्रिकाले पनि यसलाई एक–डेढ कोलममा स्थान दिएका छन् ।
त्यैसदिनको अर्को समाचार यातायात व्यवसायीको सिन्डिकेट अन्त्यको रह्यो । यो समाचार नयाँ पत्रिकाले सात कोलममा निकै आकर्षक र समाचारमूलक ढंगले प्रस्तुत गरेको छ । राजधानीले भने पक्राउ परेका यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षको माला लगाएको तस्विर प्रकाशित गरेर उनलाई राजनीतिक उचाइ दिन खोजेको देखिन्छ । तर, राजधानीको सम्पादकीयमा भने सिन्डिकेटविरुद्धको सरकारको कदमलाई साहसिक भनेर लेखिएको छ ।
गएको साताका उल्लेख्य अन्य समाचारमा नयाँ पत्रिकाको मंगलवारको ‘सिन्डिकेटको चक्रमा नेपाली’ भनेर कुन कुन क्षेत्रको सिन्डिकेटले जनतालाई कसरी असर गरेको छ भन्ने समाचार कसिलो, समयानुकूल र खोजीमूलक देखिन्छ । त्यस्तै नयाँ पत्रिकाकै बिहीबारको मुख्य समाचार पनि उल्लेख्य छ जसमा पानीमा दिसामा भेटिने कोलिफर्म जीवाणु भेटिएको विषयमा रहेको छ । यो समाचारलाई अन्नपूर्ण पोस्टले पनि नास्टको प्रतिवेदनको आधारमा मंगलवारकै दिन प्रकाशित गरेको थियो । शनिबारको नागरिकमा सुरेन्द्र पौडेलले नेपाल भारत सम्बन्धमा ‘सङ्लिन नसकेको समय’ शीर्षकमा लेखेको टिप्पणी मननीय छ । तर, शीर्षकमा सानो गल्ती भएको छ ।
गत साता कति समाचारले चाहिनेभन्दा बढी महत्त्व पाए भने केहीले समाचारको घनत्व अनुरूप महत्व नपाएको देखिन्छ । चाहिनेभन्दा बढी महत्त्व पाउने समाचारमा नागरिकले प्रकाशित गरेको डा. उपेन्द्र देवकोटाको समाचारलाई भन्न सकिन्छ । डा. देवकोटाको नेपाली चिकित्सा क्षेत्रमा छुट्टै महत्त्व छ र उनलाई अहिले असाध्य रोग पनि लागेको बुझिएको छ । त्यस्तैे गोरखापत्रले ११८ वर्षमा प्रवेश गरेको दिन सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको शुभकामना मन्तव्य तीन कोलमका मुख्य समाचारको स्थानमा विज्ञापन हो वा समाचार हो भन्ने शैलीमा प्रकाशित गरेको त्यति व्यवसायिक देखिएको छैन ।
महत्त्व नपाएको समाचारमा नागरिकमा मिथिलेश यादवको समाचार देखिन्छ । नागरिक दैनिकले कसरी वैकल्पिक लोकमार्गको नाममा गिट्टी निकासी भारततर्फ भइरहेको छ भन्ने समाचार मंगलवार प्रथम पृष्ठको सानो समाचार बनाएको छ तर यो समाचारले अझ धेरै महत्त्व र स्थान पाउनुपर्ने थियो ।
केही पत्रिकाले मोदी भ्रमणको बेलामा नेपालले उठाउनु पर्ने विषयलाई चातुर्यका साथ उठाएका छन् । जस्तो शुक्रवारको गोरखापत्रले मोदी आज आउने भनेर ठूलो समाचार बनाए पनि भारतले बनाइदिने भनेको लोक मार्ग बन्न नसकेको र एक हजार ४४४ मध्ये १२ किलोमिटरमात्र कालोपत्रे भएको सत्य पनि उजागर गरिदिएको छ । त्यस्तै सोही दिन हिमालय टाइम्सले पनि नेपाल भारतको सीमा नक्सांकनको समाचार प्रकाशित गर्दै २९० नयाँ स्तम्भ चाहिने समाचारलाई तीन कोलमको मुख्य समाचार बनाएर विषयको सही उठान गरेको छ । हिमालय टाइम्सले बिहीबार पनि कंचनपुरको सीमा स्तम्भमा भारतीय सीमा सुरक्षा बलको कब्जाको समाचारलाई ६ कोलममा प्रकाशित गरेर मोदीको भ्रमणको बेलामा दुई देशबीच रहेको समस्याको उठान गरेको थियो । नागरिक दैनिकले आइतवारकै पत्रिकामा भारतले भूकम्पपछिको पुर्ननिर्माणमा दिने भनेको १ खर्ब सहायतामा केही पनि नदिएको विषय पनि उठाएको थियो ।
गएको साता दुई कम्युनिस्ट पार्टीको एकताको विषयमा खासै धेरै समाचार छैनन् । तथापि, एक दुईले यो समाचारलाई पनि छाडेका छैनन् । बुधबारको कान्तिपुरले बजेट छलफलमा सत्तापक्षका पूर्वअर्थमन्त्री किन गएनन् भन्ने समाचारले पनि कम्युनिस्ट एकतामा देखिएको समस्या उजागर गरेको छ ।
गए साताको उल्लेख्य कार्टुनमा कान्तिपुरमा अविनको वैशाख २५ गते सोमवारको कार्टुन रहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकलौटी ढंगले चलाएको विरोधमा सिन्डिकेट बन्द गर भन्दै नेता रामचन्द्र पौडेल तथा कृष्ण सिटौलाको नाराबाजी रहेको छ सो कार्टुनमा । राजधानीले सोमवारनै ‘ठडिँदै सम्पदा’ शीर्षकमा प्रताप मल्लको सालिक पुरानै अवस्थामा बनाइएको तस्बिरले पनि भूकम्पपीडित मनलाई शान्ति प्रदान गर्दछ । अन्नपूर्ण पोस्टले २३ गते आइतवार थिति र बेथितिका नमुना भनेर बनिसकेको र बन्न नसकेको काठमाडौंका दुई पुलको तस्बिर प्रकाशित गरेको छ । यो पनि सराहनीय छ ।