काठमाडौं । इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको लागि बक्सिङका १० खेलाडी छनोट भएका छन् । नेपाल बक्सिङ संघले शुक्रबार सम्पन्न छनोटबाट एसियन गेम्सको लागि ३ महिला र ७ पुरुष गरी १० खेलाडी छनोट गरेको हो ।
सातदोबाटोमा भएको छनोटको अन्तिम दिन शुक्रवार दुई पुरुष र १ महिला छनोट भए । पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले एपीएफका बिक्रम परियारलाई अंकका आधारमा हराउदै छनोट भएका छन् ।
पुरुष ६९ केजी तौल समूहमा आर्मीका बिष्णु प्रसाद घलेले एपीएफकै बिकासबल लामालाई अंकको आधारमा पराजित गदै एसियन गेम्सको लागि छनोट भए । महिला ५१ केजी तौल समूहमा आर्मीकै बिमला श्रेष्ठ छनोट भएकी छन् । विमलाले एपीएफकी माला राईलाई अंकका आधारमा हराएकी थिईन् ।
यसअघि बिहिवार भएको छनोटमा पुरुष ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवा, पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोका, पुरुष ६० केजीमा आर्मीका एकवहादुर घले, पुरुष ६४ केजीमा नेपाल पुलिसका भुपेन्द्र थापा र ७५ केजीमा आर्मीका दिपक श्रेष्ठ छनोट भएका थिए । त्यस्तै महिला ५७ केजी तौल समूहमा एपीएफकी संगिता सुनार र महिला ६० केजीमा आर्मीकी पुनम रावल छनोट भएकी थिइन् ।
एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ । एसियन गेम्सको लागि राष्ट्रिय खेलकुद परिषद्ले तीन महिला र चार पुरुष खेलाडीको कोटा उपलब्ध गराएको छ । तर, दश इभेन्टमै सहभागिता जनाउने उद्देश्यले १० खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी दिए ।