काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई हिरासतमुक्त गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज (बिहीबार) पनि सकिएन । उक्त मुद्दाको अर्को पेशी १५ साउनका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
आज अधिवक्ताहरु भीमार्जुन अचार्य, सतिषकृष्ण खरेललगायतले शर्माको पक्षमा बहस गरेका थिए । शर्माको मुद्दाको सुनुवाइ सर्वेच्चको पूर्ण इजलाशमा भइरहेको छ ।
गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।
रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।