काठमाडौं । नेपालमा कोरोनाविरुद्धका दुईवटा खोपको ट्रायल प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन र अस्ट्रेलियाले उत्पादन गरेका दुईवटा खोपको तेस्रो चरणको ट्रायल प्रक्रिया अगाडि बढाएको हो ।
दुईमध्ये एउटा खोपको ट्रायलका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले नैतिक स्वीकृति दिए पनि मन्त्रिपरिषद्बाट निर्णय हुन भने बाँकी नै रहेको परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।
कुन–कुन खोप हुन् नेपालमा ट्रायल हुने ?
अस्ट्रेलियाको क्लोभर बायोफार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको भ्याक्सिन कोभिड–१९
भ्याक्सिन कोभिड–१९ चीनको सहयोगमा अस्ट्रेलियाले उत्पादन गरेको खोप हो । कम्पनीले उत्पादन गरेको यो खोप पहिलो चरणको क्लिनिकल ट्रायल २२ जुन २०२० बाट अष्ट्रेलियामा सुरु गरिएको थियो । वयस्क र ज्येष्ठ नागरिकहरुमा गरिएको ट्रायल सफल भएपछि दोस्रो चरण गत डिसेम्बरमा गरिएको थियो । तेस्रो चरणको ट्रायलका लागि ८ जनवरीमा फिलिपिन्सको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले पनि अनुमति दिएको थियो । ट्रायल अनुमति पाएको थियो । सफल नर्मल तापक्रम अर्थात् २ देखि ८ डिग्री सेल्सियससम्म भन्डारण गर्न सकिने खोप कोभ्याक्स कार्यक्रमअन्तर्गत् पनि सूचीकृत छ । यो खोपलाई नेपालमा ट्रायलका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृति दिइसकेको छ । यद्यपि, मन्त्रालयमार्फत् मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुन भने बाँकी नै छ ।
कहाँ कसलाई दिइन्छ भ्याक्सिन कोभिड–१९ खोप ?
भ्याक्सिन कोभिड–१९ को ट्रायल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र धुलिखेलस्थित धुुलिखेल अस्पतालमा गर्न लागिएको हो । ट्रायल कुल १८ सयजनामा गरिनेछ । जसमध्ये पहिलो चरणमा शिक्षण अस्पतालबाट १२ सयजनालाई र धुलिखेल अस्पतलामा ६०० जनालाई खोप दिने तयारी भएको छ ।
अष्ट्रेलियाको औषधि उत्पादक कम्पनी भ्याक्जाइनले उत्पादन गरेको खोप ‘कोभ्याक्स–१९’
कोभ्याक्स–१९ खोप भने नेपाल स्वास्थ्य अनुसान्धान परिषद्को पहलमा नै ट्रायल प्रक्रिया अगाडि बढाइएको हो । यसको ट्रायल स्वीकृतिका लागि तयारी पूरा भइनसकेको परिषद्ले जनाएको छ । यो खोपले पहिलो चरण ट्रायल मात्रै पूरा गरेको छ, यसको ट्रायल अष्ट्रेलियामा नै गरिएको थियो । यो खोपलाई भने अन्य देशले हालसम्म स्वीकृति दिएका छैनन् । कोभिड–१९ भ्याक्सिन ट्रयाकरका अनुसार हालसम्म ४६ देशले उत्पादन गरेका ७३ कोरोनाविरुद्धका खोपमध्ये ७ वटाले मात्र सम्बन्धित देशको आपत्कालीन प्रयोगको स्वीकृति पाएका छन् भने २३ वटा पहिलो, ३२ वटा दोस्रो र १८ वटा तेस्रो चरणको ट्रायलमा छन् । नेपालमा भने यसअघि टाइफाइडको खोपको सफल ट्रायल गरिएको थियो ।