विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
झापाको बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट झापाका टीकाराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ढकाल झापा उद्योग वाणिज्य संघको तर्फबाट प्रदेश अध्यक्षमा उमेदवार बनेका थिए ।
महासंघको उपाध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन भएका छन् । राउत एसोसिएटतर्फबाट उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । यसअघि पनि उनी सोही पदमा थिए ।
जिल्ला उपाध्यक्षतर्फ भने इटहरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भीम पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल र सुरुङ्गा उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल चुनावी मैदानमा थिए ।
कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठी, जिल्ला, एसोसिएट र वस्तुगत गरी नौ सदस्य पदमा जिल्ला संघमध्येबाट युवराज शाक्य (संखुवासभा), भूपालराज कटुवाल (गौरादह), कुमार भट्टराई (बिर्तामोड), वीरेन्द्रकुमार साह (इनरुवा) र पृतम खड्गी (उर्लाबारी) निर्विरोध निर्वाचित भएका छन् ।
वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र सुवास आचार्य, एसोसिएट सदस्यमा रविन दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् ।
पुस ११ गते विराटनगरमा गर्ने तोकिएको अधिवेशन रोक्न उद्योगी सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट दर्ता गराएका थिए । अदालतले साधारणसभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो ।
पुस १५ मा न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि महासंघको अधिवेशन सोमबार सम्पन्न भएको हो ।
अध्यक्ष ढकालले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गरी उद्योगी र व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।