कर्णाली । उच्च अदालतमा रिट परेपछि जिल्ला मालपोत कार्यालयले स्थानीय तहअनुसार सेवा प्रवाह गर्ने निर्णय गरेको छ । मालपोतले सेवा प्रवाहलाई सहज बनाउनुका साथै कोभिड–१९ को महामारीबाट सुरक्षित रहन यस्तो निर्णय गरेको हो ।
जिल्ला मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीका अनुसार हरेक साताको आइतबार, सोमबार चौकुने, बराहताल, चिङ्गाड, पञ्चपुरी, लेकवेशी र भेरीगङ्गा तथा मङ्गलबारदेखि शुक्रबारसम्म वीरेन्द्रनगर नगरपालिकाका सेवाग्राहीका लागि समय तोकिएको छ । सेवा तालिका आइतबारदेखि नै लागु भएको जनाइएको छ । यसअघि पहुँचका भरमा सेवाग्राहीले सेवा लिँदै आएको गुनासो आउने गरेको थियो ।
मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक सास्ती झेल्नुपरेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न मालपोत कार्यालयलगायत विपक्षीका नाउमा आदेश दिएको छ । रिट निवेदनमा मालपोतका साथै जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो । रासस