site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेकपा माओवादी केन्द्र हेडक्वार्टर र सचिवालयको बैठकले केन्द्रीय समितिको सदस्य संख्या घटाउन नसकेपछि कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।
सांगठिनक संरचनासम्बन्धी निर्णय लिन भन्दै आइतबार बिहान र साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको हेडक्वार्टर तथा शनिबार र सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले ठोस निर्णय लिन नसकेपछि काठमाडौंमा दसैँपछि राष्ट्रिय भेला गर्ने निर्णय भएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । 
हेडक्वार्टर बैठकले केन्द्रीय समितिको संख्या घटाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका कार्यालय सचिव प्रल्हाद बुढाथोकीले २५ सय हाराहारीको संख्यालाई कम्तिमा ५ सयमा झार्ने सहमति भएको तर कसरी झार्ने भन्नेमा नेताहरुबीच कुरा मिल्न नसकेको बताएका थिए । केन्द्रीय सदस्यको संख्या घटाउने उपायको खोजी गर्न बसेको माओवादी केन्द्रको सचिवालयको बैठकमा नेताहरुबीच कुरा नमिलेपछि संख्या नबढाउने गरी राष्ट्रिय भेला बोलाएको पार्टीका हेडक्वार्टर सदस्य मणि थापाले बताए । 
“अहिले २४ सय ८३ को केन्द्रीय समिति छ । यसमा एकतामा आएका पार्टीका केही सिनियर नेताहरु केन्द्रीय समितिमा छुटेकोले उनीहरुलाई समावेश गर्ने गरी सबै प्रदेशबाट नाम पठाउन प्रस्ताव गरेका थियौं । थेग्नै नसक्ने गरी सिफारिस आएपछि सदस्य संख्या घटाउने गरी बैठकमा छलफल भएको थियो । तर कुनै पनि बैठकले यसबारेमा निर्णय लिन सकेन,” थापाले भने, “त्यसैले अहिले भएको केन्द्रीय सदस्यको संख्यामा नथप्ने निर्णय गरी कात्तिकमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेका छौं ।”
राष्ट्रिय भेलाले आउँदो स्थानीय निकायको निर्वाचनका लागि कार्यविधि र जिम्मेवारीसहितको संगठन पनि निर्माण  गर्ने थापाले बताए ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १३:०५
प्रतिक्रिया दिनुहोस्