काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार त्रिपुरेश्वरस्थित सदस्यसचिव घिसिङको कार्यकक्षमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा सदस्यसचिव घिसिङले राजदूत युसुफ विन मोहम्मद खेलकुदप्रेमी भएको थाहा पाउँदा खुसी लागेको बताए ।
घिसिङले कतारमा हुने विश्वकपको पूर्वसन्ध्यामा नेपालस्थित दूतावाससँग समन्वय गर्दै राखेप, अखिल नेपाल फुटबल संघ (एन्फा)र नेपाल ओलम्पिक कमिटी मिलेर कार्यक्रम आयोजना गर्ने सोच रहेको बताए ।
राजदूत युसुफ विन मोहम्मदले सदस्यसचिव घिसिङको शुभेक्षाप्रति आभार प्रकट गर्दै नेपाली खेलकुदको विकासका लागि ‘जी–टु–जी’ मार्फत प्रस्ताव गरे आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत युसुफले मायाको चिनो स्वरूप सदस्यसचिव घिसिङलाई फुटबल उपहार दिएका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठको पनि उपस्थिति थियो ।