काठमाडौं । अमेरिकाको बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आठले नेपालका खेल पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारीलाई सम्मान गरेको छ ।
अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि बाल्टिमोर काउन्टी अन्तर्गत डिस्ट्रिक्ट आठले रोशन र कुशलसहित नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवासलाई सम्मान गरेको थियो ।
खेलाडीबाहेक रोशनलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्त्वपूर्ण योगदानका कारण सम्मान गरेको हो भने कौशललाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरेका हुन । साथै सोही क्षेत्रका जोसेप बोट्लेर र कार्ल ज्याक्सनले पनि सम्मानपत्रमा हस्ताक्षर गरेका थिए ।
भण्डारीले चारै जनाले नेपाली खेलकुदमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मन गरिएको बताए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्वर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए । नवयुगले नेपालले कुवेतमा भएको एसियन कप छनोटमा टिमको कप्तानी गरेका थिए । एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एलए गुँरासबाट खेलेका थिए ।