काठमाडौं । यातायातका साधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने विषयमा नेपाली शिक्षा परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै नम्बर प्लेट देवनागरी लिपिमा रहनुपर्ने माग गरेको छ ।
नेपाल सरकारले सवारी साधनमा विशेष संख्या पाता (इम्बोस्ड नम्बर प्लेट) जडान गर्ने र सो पातामा अंक र अक्षर देवनागरी लिपि (नेपाली) नभई रोमन लिपि (अंग्रेजी) रहने निर्णयसमेत गरी सोहीअनुसार कार्यान्वयन गर्न सार्वजनिक सूचनासमेत प्रकाशित गरेको सन्दर्भमा परिषद्को ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।
उपरोक्त सम्बन्धमा परिषदको बैंठकले सो कार्यमा नेपाली भाषाको अनिवार्य प्रयोग गर्न विज्ञप्तिमार्फत् जोडदार माग गरेको छ । बैठकलगत्तै यातायात मन्त्रालयमा पत्रमार्फत् ध्यानाकर्षण गराउँदै सो कार्य सच्चाउनसमेत आग्रह गरेको छ ।