काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टिम बन्नै नसक्ने दाबी गरेका छन् । सोमबार स्कटल्यान्ड भ्रमणमा जाने टोलीलाई बिदाइ गर्ने क्रममा अध्यक्ष चन्दले क्रिकेटमा अहिलेको भन्दा राम्रो टोली बन्न नसक्ने दाबी गरेका हुन् ।
“क्रिकेटमा यो भन्दा उत्कृष्ट टिम बन्न सक्दैन । नेपालभर भएकामध्ये यो सबैभन्दा उत्कृष्ट टोली हो,” चन्दले भने, “त्यसकारण यही टिमले नतिजा निकाल्नुपर्छ । अमेरिकामा सानो सानो गल्तीले गर्दा हामीले महत्वपूर्ण अंक गुमाउन पुग्यौँ । अब स्कटल्यान्डमा राम्रो नतिजा निकालेर नेपाली समर्थकलाई उपहार दिनुपर्छ ।”
नेपाली टोली मंगलबार बिहान २ बजे क्यानडा जाने छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि स्कटल्यान्ड जानुअघि नेपाली टोलीले क्यानडामा दुई खेलको एकदिवसीय शृंखला खेल्न लागेको हो । क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्नुअघि नेपालले एक अध्यास खेल खेल्ने छ । त्यसपछि स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिदेशीय शृंखला खेल्ने छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणमा कम्तिीमा तीन खेल जित्ने लक्ष्य रहेको बताए ।
“हामी कम्तीमा तीन खेल जित्ने लक्ष्य लिएर स्कटल्यान्ड जादैछौँ,” कप्तान सन्दीपले भने, “चार खेलमा चारै खेल जित्न सक्यौँ भने त्यो सुनमा सुगन्ध हुने छ ।”
सन्दीपले अमेरिकाबाट फर्किएपछि नेपालमा तयारी गर्न नपाएको बताए । नेपालले अमेरिकामा ओमानसम्मिलित त्रिदेशीय शृंखला खेलेको थियो । जहाँ नेपालले ओमानसँग एक खेल जितेको थियो भने अर्को खेल हारेको थियो । त्यस्तै अमेरिकासँग पनि एक हारेको थियो भने एक बराबरीमा टुंगिएको थियो । अमेरिकाबाट फर्किएपछि नेपाली टोली सिधै क्यानडा जान लागेको हो ।
“स्कटल्यान्ड जानुअघि हामीले क्यानमा तीन खेल खेल्न पाएका छौँ । क्यानडा र स्कटल्यान्डको कन्डिसन मिल्दो जुल्दो छ । त्यसकारण पनि यो भ्रमण महत्वपूर्ण छ,” सन्दीपले क्यानडा भ्रमणबारे भने, “त्यहाँ नयाँ साथीहरूलाई पनि मनोबल बढाउने र अभ्यस्त हुने मौका मिल्ने छ । टिम सन्तुलित बनेको छ । टिममा युनिटी छ । स्कटल्यान्डमा हामीले सक्दो धेरै खेल जितेर अंकतालिकामा माथि जाने प्रयास गर्नेछौँ ।”
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, किशोर महतो, पवन सर्राफ र वासिर अहमद ।