site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्य संयन्त्रको ध्यानाकर्षण– विषय तीन

देशको कुन चाहिँ क्षेत्र सकारात्मक, सबल र उध्र्वगामी छ भनी खोतल्दा उत्साहित हुने स्थिति देखिँदैन । सामाजिक विषयका विभिन्न अप्ठेरालाई एकैछिन थाती राखेर सबै वा सिंगो राष्ट्रलाई चाहिने तीनवटा राजनीति, अर्थतन्त्र र परराष्ट्रनीतिमा कहीँ कतै चुक भइरहेको विचार फैलिँदैछ । 

अर्थतन्त्रको तस्बिर असामान्य ओरालो लागेको छ । यही अर्थसँग जाडिएको जीवनयापनको हरेक उपभोग्य वस्तुको भाउ यतिधेरै चर्किएको छ कि सामान्य मानिसले एकछाक वा आधापेट खान पनि धौधौ भएको छ । मध्यम वर्ग पनि गरिबीतिर तीव्र गतिमा धकेलिँदैछ । 

रोजगारी सीमित छ । उद्योग, उत्पादन फस्टाएको छैन । उत्पादनशील जनशक्ति कि बेरोजगार छ नभए वैदेशिक रोजगारीमा जान बाध्य छ । आयात १७ (खर्ब) को अंकमा पुग्दा निर्यातमात्र एक (खर्ब) को अंकमा सीमित छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विप्रेषण राष्ट्रिय अर्थतन्त्रको प्राणसञ्जीवनी भएको छ । हुनेका लागि त महँगी खासै चिन्ताको कुरा नहोला तर नहुने सीमान्त श्रमिक वा हरेक दिन मजदुरी गरेर हातमुख जोर्ने मानिसको यो महँगीले हालत कस्तो होला ? उसका बालबच्चाको अपेक्षित आवश्यकता कसरी खुम्चिँदै, च्यातिँदै होलान् ?

भनिन्छ, अहिलेको महँगी विश्व परिवेशको कारण हो । खासमा रुसले युक्रेनमाथि गरेको आक्रमणको परिणाम हो । यो आंशिक सत्य होला, पूर्ण होइन । अहिलेको ढाड सेकुवा महँगी नेपालको नीति र योजना कार्यान्वयनमा फितलो वा गैरजिम्मेवारीको परिणाम पनि हो । 

वर्षौंदेखि कृषिनीतिको गफ सुनिएको हो । बीस वर्षे कृषिनीति पनि पञ्चायत कालमा सुनिएको थियो । यो जुनीमा यतिका वर्ष भए, सुनेर केही बुझ्ने भएदेखि कृषिनीति, उत्पादन, उत्पादकत्व वृद्धिजस्ता गफ र सरकारी योजना कानमा ठोक्किनण्मात्रै काम लागे । रोजगारी बढाउने कुरा पनि बढाइचढाइ निरन्तर छ । तर हामी सधैं, क्रमशः ओरालैतिर झर्दैछौँ । 

बीस वर्षे कृषिनीतिको बारेमा डा. प्रकाशचन्द्र लोहनीलाई याद होला केही न केही सफलता प्राप्त गरिन्थ्यो भने अहिले तरकारीको भाउ हेर्नै नसक्ने अचाक्ली बढ्ने थिएन । यहाँको उत्पादनले छेउ पनि नपुगेर खर्बौंको आयात विदेशबाट गर्नु पर्थेन । तकारीमा आत्मनिर्भर बन्न सकिन्थ्यो । कृषि उत्पादनले अर्थतन्त्रलाई राम्रो भरथेग गर्नसक्ने अवस्था हुन्थ्यो । कृषिसम्बन्धी विभिन्न उपभोग्य सामग्री यहीँ मनग्य हुनसक्थ्यो । सायद, केही रोजगार पनि धानिने थियो । 

राज्ययन्त्रले वर्षौं गफ छाँटेर बितायो । सपना र लोभमात्र देखायो । राष्ट्रलाई समूल परनिर्भर र जनतालाई परजीवी बनायो । उद्योग, उत्पादनभन्दा आयात र व्यापारमात्रै मौलायो । केही कथित अर्थशास्त्रीले भने व्यापारले राजस्व बढ्छ, ठीकै हुन्छ । 

उत्पादन बढोत्तरीको त कुरै छोडौँ, आयात पनि धान्न नसक्ने राजस्व वृद्धिको हैसियत मुलुकी अर्थतन्त्रमा कस्तो हो ? देशको अहिलेको हालत त यही हो । व्यापारको बलमा उभ्याउन खोजिएको अर्थतन्त्रमा तस्करी मौलाएको छ, रातारात महँगी फस्टाएको छ । 

अर्थतन्त्र अहिलेमात्रै बिग्रेको होइन । दशकौंअघि नै बिग्रिन थालेको हो । विसं २०४८—२०५१ सालतिर अलिकति उत्साह लाग्दो थियो । त्यसअघि र पछि खासै उल्लेखनीय अर्थचित्र छैन तर यति अँध्यारो भने सायद यसपटक नै भएको हो । 

भूकम्पपछि सुध्रिँदै थियो । कोरोना महामारीले पनि गारो पारेकै हो । तर, अर्थतन्त्र धराशायी हुनुको कारण यतिमात्रै होइन ।

घोषित नीति र तिनको कार्यन्वयनमा भएको गैरजिम्मेवारी सबैभन्दा प्रमुख कारण हो । आफूलाई राष्ट्रिय अर्थाेपार्जनमा अब्बल दावी गर्ने पुराना, नयाँ शासक सबैलाई परिणामले गफाडी साबित गरिसकेको छ । 

थप, अहिले त नीति पनि, कार्यान्वयन पनि गैरजिम्मेवार प्रवृत्ति द्योतक छन् । उदाहरण – स्रोत नखुलेको रकमलाई वैधता दिन अर्थमन्त्रीले खेलेको भूमिका । यो स्वार्थ पूरा नगर्ने राष्ट्र बैंकका गभर्नरलाई निलम्बन । हालै अनधिकृत मानिस राखेर अर्थमन्त्रीले बजेटमा राजस्व हेरफेर र निर्धारण गरेको खबर । यस्तो कृत्य न नीति न नैतिक मूल्य अनुकूल छन् न जिम्मेवारीप्रति नै इमानदारी । 

यस्तै नेतृत्वको कारण अर्थतन्त्र अराजक हुने हो । अर्थतन्त्रको संवेदना बुझ्न नसकेको वा बुझ्न नखोज्ने अर्थक्षेत्र सञ्चालकको हुल्लडबाज वा भुँइफुट्टा शैलीले ल्याउने यसभन्दा भिन्न र राम्रो अवस्था हँुदैन । सन्निकट थप दुःखद परिणाम पर्खिए हुन्छ ।  

यो भयो राजनीतिक नेतृत्वको कुरा तर कार्यान्वयनको खास जिम्मा पाउने भनिएको हाम्रो मुलुको स्थायी सरकार (कर्मचारी तन्त्र) कस्तो छ नि ? उपल्लो तहका पदासीनहरु जिम्मेवारी अन्त पन्छाउने, दोष अरुलाई दिने, सफलता मेरै भन्ने, विदेश घुम्ने, गफ चुट्ने र पैसा कमाउने । हाम्रो कर्मचारी तन्त्रको उपल्लो मूलशैली यस्तै छ । यसले देश, जनता सबै पीडित भएका छन् । 

कर्मचारी तन्त्रलाई परापूर्वदेखि भृत्यतन्त्र भनियो । यसैको अनुवाद ‘नोकरशाही’ हो । यी शब्द चयन कर्मचारीहरु राज्य र जनताका सेवक, सहयोगी भन्ने अर्थमा प्रयुक्त गरिएको हो । तर नेपाली कर्मचारी जनतालाई दमित र दलित (दलमल्याउने अर्थमा) बनाउन तल्लीन रहेको आरोप छ । 

नीति निर्माणमा सहभागी रहने यो कर्मचारीतन्त्र सेवाग्राहीलाई अप्ठेरो पार्ने सोचले निर्देशित लाग्छ । अन्य मुलुकको नीति वा ऐन, कानुन सेवाग्राहीलाई सक्दो सहज र सजिलो गर्ने बनाइन्छ । हाम्रोमा चाहिँ अप्ठ्यारो र खोँचे थाप्न मिल्ने कानुन बनाइन्छ । किन रे सोध्दा – त्यो खोँचे तलदेखि माथिसम्म अर्थोपार्जनको (अनधिकृत) मुहान हो भनिन्छ । 

प्रायः धेरै अड्डामा अतिरिक्त रकम नदिई सेवा पाउन हम्मे नै पर्ने गुनासो सर्वत्र छ । कर्मचारीले ‘माल अड्डा’ रोज्ने कारण पनि त यही होला ? कर्मचारीतन्त्रको यस्तो हबिगत त्यसको नेतृत्वकर्ता मुख्य सचिव र सचिवहरुलाई थाहाम छैन होला र ? नहुने कुरै भएन । ती स्वयं अनुभवी हुन् । अतिरिक्त कमाइमा लिप्त भएको कुरा कहिले सुरक्षा निकायहरुको र कहिले न्यायालयको पनि आइरहन्छन् । के राज्यको मूल प्रवृत्ति भ्रष्ट हुँदै र त्यसैमा जकडिँदै गएको हो त ?  

तीन विषयमध्ये राजनीतिक स्थिति र चरित्रको लामो टिप्पणी गर्न आवश्यक छैन । धेरै किन भन्नुपर्छ र ? स्वतन्त्रको नाममा हौसिने राजनीतिक लहर किन फस्टाएको हो ? दलका नेता, कार्यकर्ताले ऐनाअघि उभिएर हेरे स्वयं चित्र प्रस्टिने नै छ ।

नैतिकहीन राजनीति, गैरजिम्मेवार कर्मचारी तन्त्र । साँच्चै अध्ययन, अनुसन्धान गर्ने हो भने राजनीतिलाई बदनाम गर्न राजनीतिकतन्त्र र कर्मचारीतन्त्रको हिस्सेदारी के कति देखिएला ?

अन्त्यमा परराष्ट्र (वैदेशिक) नीति । जुनसुकै मुलुकको वैदेशिक नीति राष्ट्रहितमा परिलक्षित हुन्छ र त्यसलाई गृहनीतिकै विम्ब पनि भनिन्छ । यो सदाबहार भनाइ हो । तर, वैदेशिक नीतिअन्तर्गत मित्र मुलुक वा छिमेकी मुलुकको हित र स्वार्थलाई पनि गणना गरिनै पर्छ । 

कसैको एकोहोरो राष्ट्रहितको लागि न हामी  समर्पित हुन्छौँ, न हाम्रो हित र स्वार्थमा मात्र तिमी केन्द्रित हौ भनेर कुनै मुलुकलाई हामी भन्नै सक्छौँ । अंश आफ्नातिर धेर खोजे पनि सम्बन्धका दोहोरो, तेहेरो पक्ष (मुलुक)बीच हित कायम हुनु वैदेशिक व्यवहारमा अनिवार्य छ । वैदेशिक नीतिलाई भूराजनीतिक अवस्थितिले पार्ने प्रभाव बिर्सनु हुँदैन । नेपालजस्तो मुलुक यस विषयमा थप संवेदनशील हुनुपर्छ ।   

निश्चय पनि यतिबेला नेपालको वैदेशिक नीतिमा लामो समय पछि गतिशीलता देखिएको छ । हाम्रो वैदेशिक नीति र व्यवहार व्यापक र विश्वस्तरसम्म हुनैपर्छ । त्यो राष्ट्रिय हित अनुकूल होस् र मित्रको पनि चित्त दुःखाइ पनि नहोस् । 

विदेशनीति वा व्यवहारलाई टड्कारै छुने विषय छिमेक र छिमेकी सीमा वा शक्ति सामथ्र्य रहेछ । उदाहरण – रुसले छिमेकी सानो मुलुक युक्रेनमाथि गरेको निर्मम युद्ध र नरसंहारको प्रतिवाद बाँकी विश्वले कसरी गर्दै छ ? धेरै भन्नु परेन । विश्वको भूमिका ‘कराउने र तमासा हेर्र्ने’ जस्तै त छ नि ! 

बिग्रँदो राजनीति, खस्किँदो र भ्रष्ट अर्थतन्त्र, त्यसमाथि वैदेशिक नीतिले पनि आवश्यक सन्तुलनसमेत गुमाउँदै गए, नेपाली भविष्य कस्तो होला ? राज्ययन्त्र र त्यसको सञ्चालक सरकारको ध्यानाकर्षण । छ त उज्यालो कतै ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro