काठमाडौं । कप्तान गारेथ बेलले आफ्नो राष्ट्र ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्नका लागि आतुर गरेको बताएका छन् ।
वेल्सले कतार विश्वकप छनोटका लागि आइतबार राति कार्डिफ सिटीमा युक्रेनविरुद्ध प्लेअफ खेल खेल्दै छ । युक्रेनले गत बिहीबार स्कटल्यान्डलाई ३–१ ले हराउँदै वेल्ससँगको भेट पक्का गरेको हो । रुसले युक्रेनमा आक्रमण गरेका कारण युक्रेन र स्कटल्यान्डबीचको खेल स्थिगित भएको थियो । त्यसकारण यो खेल ढिला गरी हुन लागेको हो ।
वेल्सले स्विडेनमा सम्पन्न १९५८ को विश्वकप खेलेपछि अहिलेसम्म विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउन सकेको छैन । १९५८ मा वेल्स क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । “यो महत्त्वपूर्ण र ठूलो खेल हो । हामीले युरोपियन च्याम्पियनसिपको सेमिफाइनल खेलिसकेका छौँ । त्यसकारण हामीले यसलाई ठूलो खेल भन्न पनि कठिन छ,” बेलले भने, “तथापि यो हाम्रो लागि धेरै महत्त्वपूर्ण खेल हो । यसमा लुकाउनुपर्ने केही छैन । हामीले अहिलेसम्म एउटा मात्र विश्वकप खेलेका छौँ । त्यसैले, हाम्रा लागि यो खेल कोसेढुंगा साबित हुनेछ । हामी यो जितेर लक्ष्य पूरा गर्न आतुर छौँ ।”
वेल्स बुधबार राति यूईएफए नेसन्स लिग ‘ए’ मा पोल्यान्डसँग २–१ ले पराजित भएको थियो । त्यससँगै वेल्सको ९ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । आज राति हुने खेलमा तटस्थ समर्थकको साथ युक्रेनले पाउने पक्का छ । कारण हो– रुसले युक्रेनमाथि गरेको सैनिक आक्रमण ।
अहिलेको परिस्थितिबारे बेलले भन्छन्, “युक्रेनप्रति अहिले सबैको सहानुभूति छ । खेलमा त्यसले सबैलाई एक ठाउँमा उभ्याएको छ । युक्रेनको अवस्था बुझ्छौँ तर हामी विश्वकप खेल्न चाहन्छौँ ।” कतारमा हुने विश्वकप २०२२ नोभेम्बर २१ बाट डिसेम्बर १८ सम्म हुनेछ ।