काठमाडौं । रजत पटिदरको शतकप्रेरित रोयल च्यालेन्जर्स बैंगलोर बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा नवप्रवेशी लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
कोलकाताको इडन गार्डेन्समा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले ६ विकेट गुमाएर १९३ रन मात्र बनाउन सक्यो ।
जितसँगै मुस्किलले प्लेअफमा स्थान बनाएको बैंगलोर दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । दोस्रो क्वालिफायरमा बैंगलोरले अब राजस्थान रोयल्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टायटन्ससँग पराजित भएको थियो । गुजरातले राजस्थानलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
बैंगलोरका पटिदरले ५४ बलमा १२ चौका र सात छक्का प्रहार गर्दै अविजित ११२ रन बनाए । कप्तान विराट कोहलीले २५ रन बनाए । दिनेश कार्तिकले अविजित ३७ रन बनाउँदा महिपाल लोमरोरले १४ रन बनाइन् ।
लखनउका क्रुनाल पान्डय, मोहसिन खान, आबेष खान र रवि विश्नोईले १/१ विकेट लिए ।
२०८ रनको लक्ष्य पछ्याएको लखनउका लागि कप्तान केएल राहुलले सबैभन्दा धेरै ७९ रन बनाए । उनले ५८ बलमा तीन छक्का र पाँच चौका प्रहार गरेका थिए । दीपक हुडाले ४५ रन जोड्दा मनन बोहराले १९ रन जोडे । दुशमान्था चमीराले अविजित ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बैंगलोरका जोश हाज्लेउडले ३ तथा मोहम्मद सिराज, हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले १/१ विकेट लिए ।