काठमाडौं । करिम बेन्जेमा पेनाल्टी गोल गर्न चुके पनि रियाल मड्रिडले बुधबार राति स्पेनिस ला लिगामा ओसासुनामाथि ३–१ को विजय हासिल गरेको छ ।
बेन्जेमा सात मिनेटको अन्तरमा पाएको दुई पेनाल्टी अवसरमा गोल गर्न चुकेका थिए । रियालले ५२औँ र ५९औँ मिनेटमा पेनाल्टी अवसर पाएको थियो । तर, दुवै अवसरमा बेन्जेमा गोल गर्न चुके । पछिल्लो ११ खेलमा बेन्जेमा दोस्रोपटक गोलविहीन बने ।
पाहुना टोली रियालले १२औँ मिनेटमा डेबिड अलाबाको गोलबाट अग्रता लिएको थियो । १३औँ मिनेटमा ओसासुनाका एन्टे बुडिमिरले बराबरी गोल फर्काए । ४५औँ मिनेटमा मार्के असेन्सियोले गरेको गोलबाट रियालले पुनः अग्रता लियो । इन्ज्युरी समयमा लुकास भाजक्वेजले अर्को गोल थपेपछि रियालले महत्त्वपूर्ण तीन अंक पक्का गरेको थियो ।
जितसँगै रियालले ३३ खेलबाट ७८ अंक जोडेको छ । त्यो दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा १७ अंकले अगाडि हो । त्यस्तै, तेस्रो स्थानको बार्सिलोनाभन्दा १८ अंकले अगाडि हो । पराजित ओसासुना भने ४४ अंकका साथ नवौँ स्थानमा छ ।
रियाल र एट्लेटिकोले लिगमा अब समान पाँच खेल्न बाँकी छ भने बार्सिलोनाले सात खेल खेल्न बाँकी छ । त्यसकारण गणितीय रूपमा उपाधि होड बाँकी नै छ ।
‘‘हाम्रो लक्ष्यमा पुग्न सानो कदमले मात्र पछाडि छौँ,’’ रियालका मिडफिल्डर फेडरिको भालभार्डेले भने, ‘‘आज पहिलो हाफ केही कठिन भयो । तर, हामीले गल्ती सच्यायौँ र जित्न सफल भयौँ ।’’
एट्लेटिको मड्रिडले गए राति ग्रानाडासँग गोलरहित बराबरी खेलेको थियो । गए राति नै सम्पन्न अर्को खेलमा गेटाफेले सेल्टाभिगोलाई २–० ले हरायो । गेटाफेको जितमा दुवै गोल बोर्जा मायोरलले गरेका थिए ।