विराटनगर । प्रदेश नम्बर–१ सरकारले यही चैत ७ गतेदेखि धनगढीमा हुने मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिदाइ गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा प्रदेश–१ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकासमन्त्री राजन राईले सुनसरीको इटहरीबाट बिदाइ गरेका हुन् ।
खेलाडीहरूलाई खेल पोसाक र राष्ट्रिय झन्डा हस्तान्तरण गर्र्दै सामाजिक विकासमन्त्री राईले उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिए । मन्त्री राईले सो प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त भएमा प्रदेश सरकारले टिमलाई पुरस्कृत गर्ने समेत बताए ।
प्रतियोगिताको टिम प्रशिक्षकमा दिनेश राई र व्यवस्थापकमा विनोद पाण्डे छन् । टिममा प्रकाश लावती लिम्बू (झापा), सन्देश विष्ट (भोजपुर), दिलीप राई (ओखलढुंगा), मिलन श्रेष्ठ (तेह्रथुम), निश्चल थापा (उदयपुर), अनिल श्रेष्ठ (ओखलढुंगा), यामबहादुर कटुवाल (ताप्लेजुङ), अभिषेक थापा (ओखलढुंगा), हिमाल प्रसाइँ (ताप्लेजुङ), संयोग नेम्वाङ (पाँचथर), दिनेश मगर (धनकुटा) र प्रविन कटुवाल (खोटाङ) सहभागी हुनेछन् ।
बिदाइ कार्यक्रममा मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, प्रदेश–१ भलिबल संघका अध्यक्ष हरिबहादुर निरौला, अन्तर्राष्ट्रिय खेलाडी दीपक सापकोटा र पूर्वक्याप्टेन ऋषिराज आचार्य तथा प्रदेश भलिबल संघका पदाधिकारी, सामाजिक विकास मन्त्रालयका कर्मचारीलगायत व्यक्तिको उपस्थिति थियो ।
सातवटै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी, सशस्त्र प्रहरी र त्रिभुवन आर्मील क्लब)सहित १० टोली सहभागी हुने प्रतियोगिता यही चैत १२ सम्म सञ्चालन हुनेछ ।