विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा विराटनगरमा जारी प्रथम 'इक्युवालिटी कप महिला क्रिकेट' प्रतियोगितामा झापा र मोरङ विजयी भएका छन् ।
बैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई फाइनलमा पुगेका हुन् । झापा यसअघि नै फानलमा पुगेको हो ।
पहिलो खेलमा झापाले सप्तरीलाई २३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । झापाले लिगमा सवै खेलमा विजयी भएको छ । सप्तरीले कुनै पनि खेलमा जित हासिल गर्न सकेन ।
टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २६० रन बनाएको थियो । झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठले सतक प्रहार गरिन् । काजलले १ सय २ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा १७ चौका प्रहार गरिन् । काजलबाहेक अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट भइन् । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउटमा भएको थियो ।
२६१ रनको लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलब २ बलमा सबै विकेटको क्षति २७ रन मात्र बनाउन सक्यो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राखेकी थिइन् भने । खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् ।
दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १२७ रन बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन् ।
११८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षतिमा लक्ष भेटायो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाइन् । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् ।
खेलको वुमेन अफ म्याच मोरङकी रानु घोषित भइन् ।
फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।