काठमाडौं । खेलकुदको माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
जितबहादुर खड्का स्मृति पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको कोरोना महामारीका कारण चौँथो संस्करण हुन सकेको थिएन ।
गाउँपालिकाले उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गर्दै यसवर्षदेखि पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको नाममा आयोजना गर्ने भएको छ ।
प्रतियोगिता फागुन १५ देखि २२ सम्म काठमाडौंको मुलपानीमा आयोजना गरिने आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । सरकार र स्थानीय तहले एक पालिका एक खेल मैदान र एक वडा एक खेल मैदान अभियान अन्तरगत अहिले खेलमैदान निर्माणको क्रममा रहेको हुँदा यसपटक मुलपानीमा प्रतियोगिता आयोजना गर्न लागेको खेलकुद विकास समिति पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी शेर्पाले बताए ।
प्रतियोगितामा सिन्धुपाल्चोकका ८ टिमको सहभागिता रहनेछ । जसमा पाँचपोखरी क्रिकेट क्लब, सानो सिरुवारी युथ क्लब,
मेलम्ची नगरपालिका, चौतारा सांगाचौक गढी नगरपालिका रहेका छन् । त्यस्तै इन्द्रावती गाउँपालिका, पाँचपोखरी भोटाङ क्रिकेट टिम र इन्द्रावती–९ सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता र उपविजेताले टोलीले क्रमशः नगत ७५ हजार र ४० हजार रुपैयाँका साथै मेडल ट्रफी प्रदान गरिने गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर र ब्याट्सम्यानलाई क्रमशः १ वर्ष र ६/६ महिना निशु:ल्क क्रिकेट प्रशिक्षणको व्यवस्था गरिने आयोजक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जानकारी गराएको छ ।