काठमाडौं । पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरी बल (एपीएफ)सँग १–१ को बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिस क्लबले पहिलो मिनेटमै सुमन लामाको गोलबाट अग्रता लिएको थियो । विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै सुमनले गोल गरेका थिए । कपिल ढकालको लामो पास एपीएफका रक्षक एडमा डौम्बियाले राम्रोसँग क्लियर गर्न सकेनन् । गोलकिपर युया कुरियामा पनि अगाडी बढेको अवस्थामा सुमनले डौम्बियाले क्लियर गरेको बल नियन्त्रणमा लिएर खाली पोस्टमा गोल गरेका थिए ।
एपीएफका प्रदीप लामाले ४१औँ मिनेटमा बराबरी गोल फर्काए । प्रदीपले २० यार्डबाट हानेको प्रहारमा पुलिस क्लबका गोलकिपर चनाखो नहुँदा गोल भएको थियो ।
बराबरीपछि एपीएफले १२ खेलबाट १५ अंक जोडेको छ । जुन सातौँ स्थानको संकटासँग बराबरी हो । नेपाल पुलिस क्लबले भने १२ खेलबाट १२ अंक जोडेको छ । पुलिस क्लब भने ११औं स्थानमा यथावत छ ।
लिगमा च्यासल युथ र ब्रिगेड ब्वाइज एक खेल बाँकी हुँदै रेलिगेसनमा परिसकेको छ । त्यस्तै साविक विजेता मछिन्द्रले दुई खेल अगावै उपाधि रक्षा गरिसकेको थियो ।