‘‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हास्नु पर्या छ’’ । स्वर सम्राट नारायण गोपालले गाएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । जजसले यो गित सुन्छन् उनकै लागि गाइएको हो भन्ने लाग्न थाल्छ । अचेल सडक बाट भारत आवतजावत गर्ने यात्रुहरू नारायणगोपाललाई सम्झिँदै यही गीत सुसेलीरहेका हुन्छन् । कारण ? एउटा भए पो । सुरू गर्न चाहन्छु, कोरोना संक्रमणको नाममा सिमाना क्षेत्रमा यात्रुहरू उपर लगाइएको छेकबारबाट ।
कोरोनाले नेपालमा उधुम मचाएको डेढ वर्ष नाघिसक्यो । दस हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसके, लाखौंले रोजगार गुमाए । यी पीडाहरू आफ्नो ठाँउमा छँदैछन् । परिस्थिति जति सकसपूर्ण भए पनि नागरिकले पापी पेट पाल्नै पर्यो । रोगीले उपचार गराउनै पर्यो । विद्यार्थीले पठनपाठन गर्नै पर्यो ।
जजसले नेपालभित्रै काम पाए, नेपालभित्रै पढ्न पाए, नेपालभित्रै उपचार पाए, उनीहरू त भाग्यमानी ! समुद्रपारीको देशमा काम, पठनपाठन र उपचार पाउनेहरू थोरैमात्रामा भए पनि भाग्यमानी । बाँकीलाई छिमेकी भारततिर धाउनुबाहेक कुनै विकल्प रहेन ।
भारत आवतजावत गर्नेहरmमध्ये पर्यटकलाई नगन्ने हो भने थुप्रै यात्रुको प्रयोजन तीर्थाटन, नातागोतामा भेट्घाट र व्यापारिक पनि हुन्छ । अर्थात प्रयोजन जति प्रकारका भए पनि आकाशको बाटो भएर भारत आवतजावत गर्नेहरूको संख्या एक प्रतिशत पनि पुग्दैन होला ।
नेपाल सरकारले विधिवत् सीमानाका खोलेको घोषणा नगरे पनि उनान्सय प्रतिशत यात्रुहरू त सडक बाटो भएर नै भारत आवतजावत गर्छन् । ती यात्रुहरूको सकसपूर्ण यात्रा हेर्नुछ भने कुनै बेला मौका मिलाएर सिमाना क्षेत्रमै पुग्नुपर्छ ।
पोकोपन्तरो बोकी असिनपसिन हुँदै पैदल आवतजावत गर्ने बूढाबुढी, बच्चा, युवायुवतीको लस्कर सधैँ भेटिन्छ । जति मान्छे भन्सार नाका भएर आवतजावत गर्ने भेट्नु हुन्छ त्यसभन्दा दस गुणा बढी चोरबाटोबाट ।
उनीहरूकै शब्दमा – ‘भन्सार नाका भएर जाँदा पनि टेम्पो आदि जे सवारीसाधनमा गए पनि सिमानावारी नै छोडिहाल्नु पर्छ । र, दुईचार किलोमिटर त पैदल नै हिड्नुपर्छ । बोनसमा पोकोपन्तरोको तलासी र सोधखोज पनि हुन्छ । कदाचित् आफूसित भएको भारतीय रूपैयाँ तलासी गर्नेहरूको हातमा पर्यो भने कालै आए सरह नै हुन्छ । पाँच सय र दुई हजारका भारू त देखाउनै हुन्न ।
अन्यथा, रूपैयाँ त जफत हुने नै भयो । त्यत्तिकै बिगो तिर्न सकिएन भने जेल जानुपर्ने हुन्छ । यति बिध्न दुःख पाउनुभन्दा चोरबाटो नै ठीक ।
प्रसङ्ग जोडौँ भारतीय रूपैयाँको । कुनै बेला नेपाली बजारमा भारू फालाफाल हुन्थे । तपाईँहामी, कसैलाई भारततिर जानु परेमा जति रूपैयाँ चाहिन्थ्यो, खुला बजारमा होस् अथवा बैंकमा सजिलै पाइन्थ्यो । सीमामा पनि खासै सोधखोज हुँदैनथ्यो । यसले अवैध निकासीपैठारीमा मलजल गर्यो भन्दै बिस्तारै नेपाल सरकारले भारू खुला लेनदेनमा कडाइ गर्दै लग्यो । परिणामस्वरूप नेपाली बजारमा भारू दुर्लभ हुँदै गयो ।
कसैलाई जाबो दुईचार हजार रूपैयाँ पनि चाहिएको छ भने घन्टौंसम्म बैंकको ढोकामा आफ्नो पालो कुर्नुपर्ने बाध्यता सुरू भयो ।
कसैलाई सोभन्दा बढी रकम चाहिएको छ भने फलानो प्रयोजनको लागि चाहिएको छ भनेर सबुतप्रमाणसहित नेपाल राष्ट्र बैंकको स्थानीय कार्यालयमा निवेदन चढाउनु पर्ने भयो । कसैलाई पठनपाठनको निमित्त जानु छ भने विद्यार्थी पहिचानपत्र तथा सम्बन्धित शिक्षण संस्थानको कागजात देखाउनु पर्ने भयो । आवतजावतको रेलवे टिकटसित बिन्तीपत्र चढाउने परम्परा पनि सुरू भयो ।
नेपाली जनता पनि के कम । सम्बन्धित बैंक अधिकारीको विश्वास जित्न कोहीकोही त भारततिर तीर्थाटनमा जानु छ भन्दै तिर्थालुको वस्त्र धारण गरेर नेपाल राष्ट्र बैंकको ढोकामा धाउन थाले । कतिपय मान्छे त वैवाहिक प्रयोजनको लागि भारततिर जानु छ भन्दै विवाहको निमन्त्रणा कार्डसहित बैंकमा पुग्न थाले । कोही चिकित्साको निमित्त जानु छ भन्दै चिकित्सकको कागजातसहित धाउन थाले । यति मिहिनेत गर्दा पनि सबै निवेदकले मागेजति भारू पाउलान् भनेर कुनै ग्यारेन्टी हुँदैन ।
कसैले दस पन्ध्र हजार रूपैयाँको सटही गर्ने अनुमति पायो भने उसको लागि त चिठ्ठा नै पर्यो । फलस्वरूप फस्टाउन थाल्यो भारूको खरिदबिक्री बजार । सिमाना क्षेत्रमा अलि गुपचुप पारामा । तर, भारतीय सिमाना क्षेत्रमा त पानपसल जस्तै नेरूभारू सटही काउन्टरहरू खुलेआम सुरू भए । तोकिएको सटही दरभन्दा झन्डै पाँचदेखि दस प्रतिशत बढी दरमा । सोझो मान्छे परेछ भने पच्चीस प्रतिशतसम्म महँगोमा । जनताको लागि ‘मरता क्या नहीँ करता’ सरह भयो । जे भए पनि भारततिर जानु छ भने भारूको जोहो त गर्नुपर्ने नै भयो ।
यस सम्बन्धमा नेपाल सरकारको आफ्नै तर्क छ – कसैलाई भारततिर जानुछ भने डेबिड अथवा क्रेडिट कार्ड बोकेर जाओस् न । कुनै पनि भारतीय व्यावसायिक अथवा शैक्षिक अथवा स्वास्थ संस्थालाई भुक्तानी पठाउनु छ भने बैंकिङ च्यानलको प्रयोग गरोस्, भारततिर जाने यात्रुले नगद नै बोकेर किन हिड्नु पर्यो ? नेपाल सरकारको तर्कमा दम त छ तर पचास प्रतिशत मिसावटका साथ । भारततिर हिँडेका यात्रुलाई थुप्रै यस्ता स्थान र प्रयोजनमा रकम खर्चिनु परेको हुन्छ जहाँ नगद भुक्तानीबाहेक कुनै विकल्प नै हुँदैन । थुप्रै ठाँउमा डेबिट अथवा क्रेडिट कार्ड मान्य त छन् तर ठ्याक्क त्यही बेला इन्टरनेटको समस्या तेस्र्याएर स्वाइप मेसिनले हडताल गरेको हुन्छ ।
कतिपय ठाँउमा सेवाप्रदायकहरूले हामीकहाँ इन्टरनेसनल कार्ड चल्दैन भनेर नेपाली बैंकले जारी गरेको कार्ड अस्वीकार गर्छन् । थप जान्नु पर्ने कुरो हाम्रो हातमा कार्ड जस्तोसुकै होस् दिनको भारू दस हजार र महिनाको एक लाख अधिकतम सीमा तोकिएको छ । आजको महँगो जमानामा कुनै गहन उपचार गराउन जानु पर्यो, एकदुईटा कार्डले काम नै चल्दैन । अनि कहाँबाट ल्याउनु एक दर्जन कार्ड ।
अब भारतबाट आफ्नो देश फर्किने नेपाली कामदारहरूको कुरो गरौँ । नेपालका लाखौं कामदार भारतमा कार्यरत छन् । प्रायः सडक मार्गबाटै आवतजावत गर्ने भएकाले नेपाल सरकारसँग उनीहरूको पनि तथ्याङ्क छैन । उनीहरू बिदा पाएर नेपाल फर्किँदा भारू नगद नै बौकेर आउनुपर्ने हुन्छ । कारण, भारतको औपचारिक क्षेत्रमा काम गर्ने नेपालीहरूको संख्या साह्रै न्यून छ । प्रायः अनौपचारिक क्षेत्रमै कार्यरत छन् । यी अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली कामदारलाई बैंक ड्राफ्ट अथवा रेमिट्यान्समार्फत हस्तान्तरण अथवा अन्य कुनै बैंकिङ च्यानलको सुबिधा अझै उपलब्ध भएको छैन । नेपाली सिमानामा समातिए भने अवैध विदेशी मुद्राको अवैध ओसारपसार कानुनअन्तर्गत उनको वर्षभरिको पारिश्रमिक खोसिने भयो, बोनसमा सजाय पनि भोग्नुपर्ने भयो ।
थोरै आँटिला यात्रु आफूसँगै भएका भारू लुकाएर भए पनि जेनतेन नेपालमा पसेकै हुन्छन् । अन्यथा प्रायः भारतीय सिमाना क्षेत्रमा त पानपसल जस्तै नेरूभारू सटही काउन्टरहरूमा शरणागत हुन्छन् । नेपाली यात्रुहरूको बाध्यात्मक परिस्थिति थाहा पाएपछि तिनीहरू झन् निर्मम भइदिन्छन् । भारूबाट नेरूमा सटही गर्दा पनि तोकिएको सटही दरभन्दा झन्डै पाँचदेखि दस प्रतिशत कम दरमा सटही गर्छन् । सोझो मान्छे परे पच्चीस प्रतिशतसम्म कम्तीमा ।
यस्तो स्थितिमा के गरून् जनता ? एक त सगरमाथा आरोहणमा हिँड्याजस्तै नेपालभारतको सिमानामा सकस भोग्नु छ । थप, नियत जति सुकै सफा भए पनि भारत आवतजावत गर्दा भारू लुकाएर लैजानु लानु पर्यो । कि भारततिर जाँदा भारतीय सीमास्थित सटही काउन्टरबाट महँगो दरमा भारू खरिद गर्नु पर्यो । अनि नेपाल फर्किँदा त्यही सटही काउन्टरमा महँगोमा नेरू किन्नु पर्यो । अनि उनीहरू किन नसम्झुन् नारायणगोपालको गी – ‘मुटुमाथि ढुङ्गा राखी हास्नु पर्या छ.........।’
(वीरगञ्ज)