काठमाडौं । बायर्न म्युनिख तथा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवनडोवस्कीले सोमबार राति फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी र लिभरपुलका फरवार्ड मोहम्मद सालाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
अवार्डमा ‘फिफा प्यानल’ले ‘सर्ट–लिष्ट’ गरेका खेलाडीलाई राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र पत्रकारले मतदान गरेका थिए । त्यसमध्ये शीर्ष तीनमा रहेका खेलाडीले पनि राष्ट्रिय टोलीको कप्तानका हैसियतले मतदान गरेका थिए । उनीहरुले क–कसलाई मतदान गरे त ?
यसमा सम्भवत सबैभन्दा बढी चासोको विषय ६ पटकको अवार्ड विजेता मेसी र पाँच पटकको विजेता क्रिष्टियानो रोनाल्डोले क–कसलाई मतदान गरे भन्नेमा हुनसक्छ । त्यस्तै शीर्ष तीनमा रहेकाले एक–अर्कालाई मदातन गरे कि गरेनन् भन्ने पनि हुन सक्छ ।
त्यस्तोमा मेसी र रोनाल्डोले एक अर्कालाई बेवास्ता गर्ने क्रम यसवर्ष पनि जारी रह्यो । यस वर्ष रोनाल्डोले मेसीलाई र मेसीले रोनाल्डोलाई मतदान गरेनन् । लियोनल मेसीले पीएसजीकै नेइमार र एमबाप्पे तथा रियाल मड्रिडका करिम बेन्जेमालाई शीर्ष तीनमा राखेका थिए । रोनाल्डोले भने लेवनडोवस्की तथा चेल्सीका एन‘गोलो कान्टे र जर्जिन्होलाई शीर्ष तीनमा राखेका थिए ।
अवार्ड विजेता लेवनडोवस्कीले मेसीलाई दोस्रो स्थानमा राखेका थिए । लेवनडोवस्कीले चेल्सीका जर्जिन्हो, मसी र रोनाल्डोलाई शीर्ष तीनमा राखेका थिए । त्यस्तै सालाहले भने जर्जिन्हो, मेसी र लेवनडोवस्कीलाई मतदान गरेका थिए ।