काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको साविक विजेता अज्लेरिया आइतबार राती इक्वेटोरियल गिनीसँग १–० ले स्तब्ध भएको छ ।
अल्जेरियालाई हराउन ७०औं मिनेटमा ओबियाङ ओबोनो स्टेबनले गरेको गोल निर्णायक बन्यो । हारसँगै अल्जेरिया समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । अल्जेरियाले पहिलो खेलमा पनि सिएरा लियोनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको थियो ।
समूह ‘ई’मा दुई खेलबाट एक अंक जोडेको अल्जेरिया पुछारमा छ । दुई खेलबाट चार अंक जोडेको आइभोरी कोष्ट शीर्ष स्थानमा छ । इक्वेटोरियाल गिनी तीन अंकका साथ दोस्रो र सिएरा लियोन दुई अंकका साथ तेस्रो स्थानमा छ ।
इक्वेटोरियल गिनी पहिलो खेलमा आइभरी कोस्टसँग १–० को पराजित भएको थियो । अल्जेरियाले अब अन्तिम खेलमा आइभोरी कोष्टविरुद्ध खेल्नेछ भने इक्वेटोरियलले सिएरा लियोनसँग खेल्नेछ ।
नकआउ चरणमा स्थान बनाउन अब अल्जेरियालाई अन्तिम खेल जितेर मात्र पुग्दैन । इक्वेटोरियल र सिएरा लियोनबीचको नतिजा पनि आफुअनुकुल आउनुपर्छ ।
अल्जेरिया अक्टोबर २०१८ देखी अपराजित थियो । त्यही अल्जेरियालाई १४ लाख जनसंख्या भएको देशले स्तब्ध बनाइदिएको छ ।
प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउको गाम्बियाले मालीलाई १–१ को बराबरीमा रोकेको छ । १९९६ पछि पहिलो पटक यस प्रतियोगिता खेलेको सिएरा लियोनले आइभोरी कोष्टलाई २–२ को बराबरीमा रोक्यो । ट्युनेसियाले माउरिटानालाई ४–० ले हरायो ।
समूह ‘एफ’ मा गाम्बिया र माली समान चार अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ट्युनेसिया तीन अंक जोडेर तेस्रो स्थानमा छ भने माउरिटाना अंकबिहीन छ ।