जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी सम्पन्न भएको छ । आज अन्तिम दिन बेहुलालाई खिर खुवाएर विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो ।
रामकलेवा विधि अन्तर्गत मडवा (विवाह हुने स्थल) भगवान रामलाई खिर खुवाइएको छ । जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसेर मौहकका लागि रघुवर चारै भाइलाई खिर ग्रहण गराई महोत्सव सम्पन्न भएको मन्दिरका सहायक महन्थ राम रोसन दासले जानकारी दिए ।
उनकाअनुसार रामकलेवामा सहभागी जन्तीहरूलाई कपडा, प्रसाद आदि दिएर बिदाइ गरिएको छ ।
विवाहपञ्चमीको पहिलो दिन जनकपुर नगरदर्शन भएको थियो । त्यस्तै दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर छठौँ दिन स्वयंवर तथा शुभविवाह र सातौँ दिन रामकलेवा भएको छ ।