काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले सर्बियाको हुने आईवा विश्व बक्सिङ च्याम्पियनसिप खेल्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ कार्यक्रम राखेको थियो । खेल सामग्री वितरणसहित बिदाइ गर्ने कार्यक्रममा खेलाडी नै अनुपस्थित रहे ।
खेलाडी अनुपस्थित रहेपनि लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले आफुहरूले सधै खेलाडीहरूको हकहितको पक्षमा रहेको बताए । अध्यक्ष गुरुङले कार्तिक ८ देखि २० गतेसम्म हुने प्रतियोगितामा खेलाडीहरूको मनोबल बढाउन नगद पुरस्कारको घोषणा गरे । प्रत्येक बाउट जित्ने खेलाडीलाई २५ हजार, स्वर्णपदक जित्नेलाई एक लाख ५० हजार, रजत पदक जित्नेलाई एक लाख र कास्य पदक जित्नेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरे ।
गुरुङले प्रतियोगितामा सहभागी हुने चार खेलाडी र प्रशिक्षकका लागि दिने भनिएको खेल सामग्री बक्सिङ संघका केन्द्रीय सदस्य ओम नारायण श्रेष्ठमार्फत खेलाडीहरूलाई हस्तान्तरण गरे ।
अध्यक्ष गुरुङले बक्सिङ संघले खेलाडी नपठाएर खेल भावनाविरुद्ध कार्य गरेको बताए । गुरुङले आफू पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरूलाई राजनीतिमा मुछेको बताए । उनले बक्सिङ नेतृत्वले विधान विपरित कार्यहरू गरेका कारण संघका पदाधिकारीहरूबीच वैमनस्यता देखिएको बताए ।
बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवि भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको बताए । श्रेष्ठले बक्सिङ संघलाई खेल भावनाले अगाडि बढाउन नसकेकोमा आपत्ति जनाए ।