काठमाडौं । नेपालीहरूको महान चाड दसैँको सातौँ दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती हर्ष बढाइँ गरिएको छ ।
आज सैनिक मञ्च टुँडिखेलमा फूलपातीको अवसरमा फूलपाती हर्ष बढाइँ गरिएको हो । आज बिहान दसैँघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो ।
टुँडिखेलमा अयोजित फूलपाती हर्ष बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकाले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।
सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ ।
बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतको उपस्थिती थियो ।
कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरूलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी