विराटनगर । सरकारको रवैया ठिक नभएको भन्दै प्रदेशसभामा विपक्षी दलका नेताहरू सरकारविरुद्ध खनिएका छन् । विपक्षी दलका नेताहरूले सरकारले संविधानको गलत व्याख्या गरेको र यसलाई सभामुखले समेत साथ दिएको भन्दै आलोचना गरे ।
आइतबार प्रदेशसभा बैठकमा बोल्ने विपक्षी दलका नेताहरूले अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको सरकारले आयु लम्ब्याउने तानाबाना बुनिरहेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोेले सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको बताए । “असंवैधानिक तरिकारले सरकारको आयु लम्ब्याउने कार्यमा सभामुखले साथ दिनुभएको छ । उहाँले संविधानको मर्मअनुसार अघि बढ्नुपर्छ,” उनले भने ।
विश्वासको मत लिन सरकारले प्रस्ताव ल्याएको छैन भनेर सभामुखले छुट नपाउने आङ्बोले तर्क गरे । सभामुख व्यवस्थापिका प्रमुख भएकोले सरकार संविधान बाहिर जाँदा सरकारलाई रुलिङ गर्नुपर्ने उनको भनाइ छ ।
विपक्षी दलका नेताहरूले दसैँ भनेर नहुने भन्दै विश्वासको मत लिनुपर्ने माग गर्दै आएका छन् । तर, मुख्मयन्त्री आचार्यले भने दशैँपछि मात्र विश्वासको मत लिने जनाउ दिएका छन् । सोमबार १ बजेका लागि संसद् बैठक बोलाइएको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टी एकैदिन विभाजित हुँदा समान राजनीतिक घटनाक्रमबाट गुज्रिएको प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । दल विभाजित भए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र राईले सरकार प्रमुखले विश्वासको मत लिनु नैतिक रूपमा पनि उचित हुने बताउँदै आयु लम्ब्याउने प्रपञ्च नगर्न आग्रह गरे । “संविधानअनुसार सरकारलाई चलाउन सभामुखले पनि भूमिका खेल्नुपर्छ,” उनले भने ।
गत भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य संसदीय दल र मुख्यमन्त्रीमा चयन भएका थिए । त्यतिबेला बहुमत दलको नेताको रूपमा उनी मुख्यमन्त्री बनेका थिए ।