काठमाडौं । आउटफिल्ड ओसिलो भएका कारण आठ ओभरमा छोट्ट्याइएको खेलमा काठमाडौं किंग्स–११ ले विराटनगर वारियर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं किंग्स–११ का कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै प्रतियोगिताको सुरुवात गरेको काठमाडौंको खेल्न लागेको यो तेस्रो खेल हो । काठमाडौं बिहीबार चितवन टाइगर्ससँग तीन विकेटले हारेको थियो ।
सुरुको तालिकाअनुसार काठमाडौंको खेल वर्षाका कारण स्थगित भएको थियो । दुई खेलबाट दुई अंक जोडेको काठमाडौं पाँचौँ स्थानमा छ । चार खेलेको विराटनगरले अहिलेसम्म खेल जित्न सकेको छैन ।