काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि च्यासल युथ क्लबसँग अनुबन्ध भएका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले नयाँ चुनौतीका लागि आफू तयार रहेको बताएका छन् ।
मच्छिन्द्र क्लबबाट गत सिजन आफ्नै कप्तानीमा लिग उपाधि उचालेका विराजले गएको मंगलबार ललितपुरको च्यासल युथसँग सम्झौता गरेका हुन् । अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्न्यास लिइसकेका विराजले च्यासल युथसँग एक वर्षका लागि सम्झौता गरेका छन् ।
‘‘मेरो लागि फुटबल नै सबथोक हो । नयाँ अध्याय सुरु गर्नुअघि पूर्वक्लबका सम्पूर्ण टिम व्यवस्थापनलाई आभार व्यक्त गर्न चाहन्छु । मेरो कप्तानीमा टिममा उपाधि जिताउन पाउँदा एकदम खुसी लागेको छ र भाग्यमानी ठानेको छु,’’ विराजले सामाजिक सञ्जल फेसबुकमा लेखेका छन्, ‘‘अब फेरि नयाँ क्लबलाई उपाधि जिताउने लक्ष्यसहित नयाँ चुनौतीलाई स्वीकार गर्दै यस क्लबसँग अनुबन्ध भएको छु । आशा छ, हामी आफ्नो लक्ष्यमा पक्कै पनि सफल हुनेछौँ ।’’
अखिल नेपाल फुटबल संघ (एन्फा)को एकेडेमीमा हुर्किएका विराजले यसअघि एनआरटी, संकटा, थ्री स्टार, मनाङ–मर्स्याङदी, मच्छिन्द्रबाट खेलिसकेका छन् । उनले थ्री स्टार, मनाङ र मच्छिन्द्रबाट लिग उपाधि उपाधि जितिसकेका छन् । मनाङ र मच्छिन्द्र क्लबबाट उपाधि जित्दा विराज आफै कप्तानको भूमिकामा थिए ।