काठमाडौं । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले नेपाली दर्शकहरूमाझ खेल्न आतुर भएको बताएका छन् । शनिबार देखि आयोजना हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न उनी बिहीबार काठमाडौं पुगेकाछन् ।
उनले नेपाली समर्थकमाझ खेल खेल्ने कुराको लागि आफू उत्साहित भएको बताए । साथै अफ्रिदीले आफू नेपाल आउनुको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई सहयोग गर्न भएको बताए । नेपाली क्रिकेट पछिल्लो समय राम्रो अवस्थामा भएका कारण आफ्नो उपस्थितिले पनि क्रिकेट विकासमा सहयोग पुगोस भन्ने उद्देश्य भएको बताए ।
“म यहाँ नेपाली क्रिकेटलाई सहयोग गर्न आएको हुँ । नेपाली समर्थकहरूमाझ खेल्न निकै उत्साहित छु । नेपाली क्रिकेट पछिल्लो सयम राम्रो अवस्थामा छ । आफ्नो उपस्थितिले केही सहयोग पुगोस भन्ने मेरो मान्यता हो,” त्रिभुवन विमान स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अफ्रिदीले भने ।
नेपाली क्रिकेटको बारेमा आफूले धेरै कुरा जानकारी नपाएकाले नेपाल बसाइको समयमा धेरै बुझ्ने अवसर भएको बताए । उनले नेपालको भौगोलिक वातावरणको पनि आफूले अवोलोकन गर्ने बताए ।
“नेपाल बसाइको दौरान मैले नेपाली क्रिकेटको बारेमा जान्ने मौका पाउनेछु । साथै नेपालको भौगोलिक वातावरणको पनि अवलोकन गर्ने पनि मैले योजना बनाएको छु,” अफ्रिदीले भने ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार देखि ईपीएल सुरु हुँदैछ । ईपीएलको पहिलो खेलमा काठमाडौं किङ्स–११ र ललितपुर पेट्रियटसले प्रतिस्पर्धा गर्नेछन् ।