काठामडौं । आजबाट सुरु हुने यूएस ओपन टेनिसको केन्द्रविन्दुमा नोभाक जोकाभिच र नाओमी ओसाका छन् । जोकोभिच कीर्तिमानी २१औँ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन् भने ओसाका ग्रान्डस्लाम प्रतियोगितामा फर्किएकी छन् ।
अमेरिकाकै सेरेना विलियम्स, रोजर फेडेरर र राफेल नाडालजस्ता खेलाडी नहुँदा प्रतियोगिताका शीर्ष खेलाडी पनि यिनै दुई जना हुन् । यूएस ओपनमा सेरेना, फेडेरर र नाडाल नभएको १९९७ पछि यो पहिलोपटक हो ।
वर्षको अन्तिम ग्रान्ड स्लाम उपाधि जितेमा ३४ वर्षीय जोकोभिचले फेडेरर र नाडाललाई जित्नेछन् । अहिले फेडेरर, नाडाल र जोकोभिचको नाममा समान २० ग्रान्ड स्लाम उपाधि छ । नाडालले यस सिजन अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन टेनिसको उपाधि जितिसकेका छन् । उनले न्युयोर्कमा पनि उपाधि उचाले १९६९ पछि चारै ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो खेलाडी बन्नेछन् । जोकोभिचले पहिलो खेल डेनमार्कका होल्गर रुनेविरुद्ध खेल्नेछन् ।
महिलातर्फ तेस्रो वरीयाताकी ओसाका पहिलो दिनबाटै चर्चामा हुनेछिन् । उनले पहिलो दिन नै चेक गणतन्त्रकी मारिन बोउजकोभाविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछिन् ।
२३ वर्षिया ओसाकाले मानसिक स्वास्थ्यका कारण फ्रेन्च ओपनको बीचमै छाडेपछि खेल्न लागेको यो पहिलो ग्रान्ड स्लाम प्रतियोगिता हो । उनले यसबीचमा विम्बल्डन टेनिस पनि छाडेकी थिइन् ।
यूएस ओपन टेनिसमा यसवर्ष दर्शकलाई रंगशाला प्रवेशमा छुट दिइएको छ । तर दर्शकले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । आयोजकले सुरुमा मास्क पनि लगाउन नपर्ने जनाएको थियो । तर, पछिल्लो समय खोप लगाएको प्रमाण अनिवार्य पेश गर्नुपर्ने निर्णय गरेको थियो ।
साविक विजेता ओसाकालाई विश्व नम्बर अस्ट्रेलियाकी एश्लेघ बार्टीले चुनौती दिनेछिन् । जापानकी ओसाका पछिल्लो चार वर्षमा तेस्रोपटक न्युयोर्कमा उपाधि जित्न चाहन्छिन् ।
जोकोभिचलाई दोस्रो वरीयाताका ड्यानियल मेदभेदेभ, तेस्रो वरीयाताका स्टेफानोस सिटसिपस र चौथो वरीयाताका एलेक्जेन्डर जेरेभले चुनौती पेश गर्नेछन् ।