काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । पारसले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।
३४ वर्षीय पारसले अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य गर्ने घोषणा गरेका हुन् । पारसको अप्रत्यासित सन्न्यासपछि समर्थकहरुले सन्न्यास फिर्ता लिन आग्रह गरिरहेका छन् ।
पारस अब घरेलु क्रिकेटमा मात्र देखिनेछन् । सन्न्यासपछि पारसको पहिलो घरेलु क्रिकेटका रुपमा आउँदो असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट हुनेछ ।
पारसको कप्तानीमा नेपालले धेरै सफलता हासिल गरेको छ । जसमध्य सबैभन्दा ठूलो सफलता भनेको सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपाललाई पुर्याउनु हो ।
नेपाली सिनियर टोलीले पहिलोपटक २०१४ मा विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले त्यसयता विश्वकप क्रिकेट खेल्न सकेको छैन ।
पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनु ठूलो उपलब्धि रह्यो । डिभिजन ५ बाट कप्तानी गरेर पारसले एकदिवसीय मान्यता पाउँदासम्म नेपाललाई पुर्याए ।
पारसकै कप्तानीमा नेपालले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको थियो । त्यति बेला आजकै दिन नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको थियो । संयोगवश पारसले आजकै दिन सन्न्यास घोषणा गरेका छन् ।
पारसको कप्तानीमा नेपालले सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि जितेको थियो । कप्तानको रुपमा नेपाली क्रिकेटमा उनको यो पहिलो उपाधि थियो । त्यसपछि पारसको कप्तानीमा नै नेपालले सन् २०१२ को डिभिजन–४ को उपाधि जित्न सफल भयो । नेपालले सन् २०१३ र २०१४ को डिभिजन–३ प्रतियोगिताको उपाधि पनि जित्यो । पारसकै कप्तानीमा २०१२ को एसीसी ट्रफीमा नेपाल यूएईसँगै संयुक्त विजेता बनेको थियो ।
पारसले यसअघि नै नेपाली टोलीको कप्तानीबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेट सन् २०१९ अक्टोबरमा आईसीसीको निलम्बनबाट फुकुवा भएकै भोलिपल्ट पारसले नेपाली टोलीको कप्तानीबाट राजीनामा दिएका थिए ।
त्यसपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । पारस सबैभन्दा धेरै वर्ष नेपालको कप्तानी गर्ने खेलाडी हुन् ।
पारसको कप्तानीमा नेपालले २७ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा नेपालले ११ जित र १५ हार बेहोर्यो । यस्तै, उनले ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेतृत्व गर्दा तीन खेलमा जित र तीन खेलमा नेपालले हार बेहोर्यो ।
नेपालका लागि पारस उत्कृष्ट खेलाडीसँगै सफल कप्तानको रुपमा चिनिन्छन् । पारस नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–ट्वान्टीमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
उनी नेपालका लागि एकदिवसीय क्रिकेट र टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । पारसले एकदिवसीयमा १० खेलमा एक शतक र एक अर्धशतकसहित ३१५ रन बनाएका छन् । त्यस्तै, टी–ट्वान्टीमा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन बनाएका छन् । उनले २०१९ मा यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा तथा सोही वर्ष सिंगापुरविरुद्ध अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।
नेपालका लागि पारसले सर्वाधिक रन बनाएका छन् । सन् २००४ मा मलेसियाविरुद्ध आईसीसी इन्टरकन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि डेब्यु गरेका उनले त्यसअघि नेपाली उमेर समूह टोलीको प्रतिनिधित्व गरेका थिए ।
पारसले नेपालका लागि यू–१६, यू–१७ र यू–१९ को टोलीमा पनि सहभागिता जनाएका छन् । उमेर समूहको खेलदेखि नै पारसमा नेतृत्वकर्ताको खुबी थियो ।