काठमाडौं । ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आज (शुक्रबार)बाट जापानमा सुरु हुँदैछ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा रहेको खेलकुद प्रतियोगिता आजबाट सुरु हुन लागेको हो ।
टोकियोमा आयोजना हुने ओलम्पिकको औपचारिक रुपमा सुरु हुनेछ । जापानको राजधानीमा विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा सुरु हुनेछ ।
प्रतियोगिता अन्तरगत फुटबलखेलहरु भने मंगलबारबाट सुरु भइसकेका छन् । उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।
टोकियो ओलम्पिकमा २०७ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट ५ खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेको छ ।
नेपालका खेलाडीहरुको भोलिबाट प्रतियोगितामा खेल हुनेछ । उद्घाटन सत्रको मार्चपासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स)ले बोक्ने छन् ।
टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीहरु युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।