site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : यही अवस्थामा कसरी हुन्छ सम्भव ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत बुधबार साँझ विज्ञप्ति एक जारी गरे । 

आगामी भदौमा महाधिवेशन गराउन आफू प्रतिबद्ध रहेको जानकारी विज्ञप्तिमार्फत दिए । त्यसको तीनदिनपछि उनले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाए ।  

बैठकले भदौ १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने, वडा तहको अधिवेशन साउन पहिलोसाता देखि सुरु गर्ने र औपचारिक निर्णयका लागि असार ३ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गर्‍यो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर पार्टी बैठकबाट फागुन मसान्तभित्र टुंग्याउने निर्णय गरेको क्रियाशील सदस्यता अहिलेसम्म टुंगो लागेको छैन । 

फागुन १५ भित्रै टुंग्याउने भनेको पार्टी समायोजन अहिलेसम्म टुंगिएको छैन । महाधिवेशनका लागि पहिलो र आधारभुत काम भनेकै मतदाता नामावली तयार पार्ने हो ।

Global Ime bank

तर, कांग्रेसले अहिलेसम्म नौ क्षेत्र र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट आउने महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन सकेको छैन । 

कांग्रेसले सदस्यता संख्या दोब्बर बनाउने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको थियो । गत १३ औँ महाधिवेशनको क्रियाशील सदस्य संख्या ४ लाख ७२ हजार रहेको थियो । त्यसमा अन्य पार्टीबाट आएकाहरुलाई पनि पुरानै क्रियाशील मान्ने निर्णय हुँदा करिब पाँचलाख क्रियाशील मान्दा कांग्रेसको निर्णयअनुसार १० लाख क्रियाशील सदस्य पुग्नुपर्ने हुन्छ । गत २५ गते मध्यरातसम्म आठ लाख तीन सय १७ क्रियाशील सदस्य मात्र औपचारिकरुपमा दर्ता भएको छ ।

“सिन्धुपाल्चोक र सप्तरीले अहिलेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम नै सुरु गरेका छैनन्, त्यहाँबाट सदस्यताको विवरण अद्यावधिक गर्ने काम नै सुरु भएको छैन,” पार्टी कार्यालयका एक सचिवले भने, “विदेशस्थित जनसम्पर्क समितिहरुको पनि सदस्यता विवरण आएको छैन ।” 

उनले सप्तरीमा ५२ जनाको परीक्षण गर्दा ४२ जनाको कोरोना पुष्टि भएको भन्दै सदस्यता तत्काल पठाउन नसक्ने जानकारी दिएको बताए । 

सदस्यता विवरणका लागि फागुनदेखि म्याद थप्दै वैशाख मसान्तसम्म पुर्‍याउँदा पनि सदस्यता विवरण नपठाएको भन्दै केन्द्रीय सदस्यता छानबिन समितिले २५ गतेदेखि अनलाइन दर्ता प्रणाली नै लक गरिदिएको छ । 

विदेशस्थित जनसम्पर्क समितिबाट करिब ५० हजार र सप्तरीका ६ र सिन्धुपाल्चोकका ३ क्षेत्रबाट सदस्यता आउँदा करिब त्यही संख्यामा आउँदा करिब ९ लाख क्रियाशील सदस्य पुग्ने अनुमान छ । 

अझै एक लाख सदस्यको टुंगो लाग्न बाँकी रहेको, त्यसको उजुरी, छानबिन र निर्णयका लागि थप समय आवश्यक पर्छ, केन्द्रीय सदस्यता छानबिन समितिका सदस्यहरु नै कोरोना भएका कारण आराममा रहेको कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

सभापति देउवाले वर्तमान परिस्थितिमा महाधिवेशन गर्न कस्ता तयारी आवश्यक छन् र के–के विकल्प प्रयोग हुन सक्छ जस्ता विषयमा छलफल नगरी भदौमा महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको र भदौमा महाधिवेशन गर्नुको विकल्प पनि नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् । 

विज्ञप्तिमा देउवाले भनेका छन्, “हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु ।” 

देउवाले यति मात्र भनेका छैनन् महाधिवेशन पार्टी जीवनको महायज्ञ भएकाले यसको विकल्प खोज्न नहुने पनि उल्लेख गरेका छन् ।

“पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु,” देउवाले भनेका छन्, “महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु । पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन् ।” 

उनले महाधिवेशनका विषयमा कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न नहुने बताएका छन् । 

देउवाले यस्तो विज्ञप्ति जारी गर्नुअघि पनि नेताहरुबीच छलफल बहस नभएका होइनन् । तर, देउवाले जसरी पनि महाधिवेशन गर्ने हो भन्नेबाहेक विकल्पका छलफलमा भाग नलिने गरेको पौडेल पक्षीय नेताहरुको भनाइ छ । त्यसको संकेत यही जेठ १३ गते नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा भएको अन्तक्रियामा पनि देखिएको थियो । 

“लोकतन्त्रिक गणतन्त्रलाई प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका असंवैधानिक कदमबाट जोगाउनु छ, उनीहरुबाट व्यवस्था जोखिममा परिरहेको छ, पार्टीलाई महाधिवेशनबाट अवैधानिक हुनबाट जोगाउनु छ,” पौडेलले भनेका थिए, “त्यसका लागि लोकतन्त्र जोगाउन सबै दललाई एकजुट बनाएर जानु छ, कांग्रेसलाई जोगाउन समयमा महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य छ ।” 

पौडेलले महाधिवेशन समयमा गर्न कोरोना महामारी बाधक बनेको भन्दै विकल्पहरुबारे सोच्नुपर्ने बताएका थिए । 

“कांग्रेसको वैधानिकता जोगाउन आगामी भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्र्नु छ, त्यसका लागि क्रियाशील सदस्यता र अधिवेशन सहज भएन भने १३ औँ महाधिवेशनकै प्रतिनिधिलाई जिल्ला जिल्लामै मतदान गराएर पनि महाधिवेशन सम्पन्न गर्नुपर्छ,” पौडेलले भनेका थिए । 

पौडेललगत्तै बोलेका देउवाले आफू महाधिवेशनको विकल्पमा कहिल्यै नरहेको भन्दै महाधिवेशन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने बताएका थिए । 

“रामचन्द्रजीले महाधिवेशनका विषयमा कुरा उठाउनुभयो, महाधिवेशनको विकल्पमा म कहिल्यै पनि छैन, कसरी गर्ने भन्ने विषय मैले मात्र भनेर पुग्दैन, साथीहरुसँग सल्लाह गर्नुपर्छ ।” 

उनले कांग्रेसको महाधिवेशन संविधानअनुसार नै सार्न नमिल्ने भन्दै कि संविधान संशोधन हुनुपर्यो हैन भने महाधिवेशन गर्नैैपर्ने बाध्यता रहेको बताए । 

१३ जेठमै यस्तो बताएका देउवाले कुनै प्रक्रिया नथाले पछि कांग्रेसका केही युवा नेताहरु गत २४ गते देउवा निवास पुगेका थिए । 
कांग्रेस युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, जीवन परियारसहितका नेताहरु पुगेर महाधिवेशनको विषयलाई विवादित नबनाउन र समयमा सम्पन्न गर्ने विधि निकाल्न सुझाव दिएका थिए ।

“हामीले महाधिवेशन प्रभावित हुँदा कांग्रेसको वैधानिकसँगै नैतिक धरातल पनि कमजोर हुन्छ, त्यसैले महाधिवेशनका लागि वैकल्पिक तयारी थाल्न सुझाव दिएका थियाैँ,” कांग्रेस नेता गुरुराज घिमिरेले भने, “हामीले महाधिवेशन विवादको विषय नबनाइयोस् । नेताहरु बसेर विकल्प निकाल्नुस्, विकल्पबारे आवश्यक परे कार्ययोजना हामी प्रस्तुत गर्छौँ भनेका छौँ ।” 

उनले सभापति देउवाको पूर्वतयारी हो वा अन्य कारण थाह नभए पनि त्यसको भोलिपल्ट नै विज्ञप्ति आएको बताए । 

“उहाँबाट प्रतिबद्ध छु भनेर विज्ञप्ति आउनु र देशभरका साथीहरुलाई महाधिवेशनको तयारी गर्न आग्रह गर्नु सकारात्मक कुरा हो,” घिमिरेले भने, “अकब केही दिनमै छलफल गर्छु भन्नुभएको छ, आशा गरौं त्यो छलफल पछि महाधिवेशन कसरी गर्ने भनेर नयाँ खाका आउने छ ।” 

युवाको विकल्प : आवश्यक स्थानमा मात्र अधिवेशन

नेता घिमिरेले केन्द्रीय महाधिवेशन र प्रदेश महाधिवेशनका लागि तीन तहका मात्र अधिवेशन आवश्यक पर्ने बताए । पालिका र जिल्लाको अधिवेशन केन्द्रका लागि केही फरक पार्दैन त्यसैले ती अधिवेशन महामारीपछि गर्न पनि सकिन्छ,” घिमिरेले भने, “वडाबाट क्षेत्रीय प्रतिनिधि छान्ने तीनै प्रतिनिधिबाट हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन गरी महाधिवेशनका प्रतिनिधिहरु छान्ने काम गरियो भने महाधिवेशनका लागि पर्याप्त हुन्छ ।” 

उनले त्यसो गर्दा वडामा बुथ संख्या बढाएर अधिवेशन गराउने र निर्वाचन क्षेत्र वा जिल्लाबाटै केन्द्रको महाधिवेशनमा मतदानको व्यवस्था मिलाउन सकिने बताए । 

सभापति शेरबहादुर देउवा पक्षले भने अहिलेसम्म औपचारिक रुपमा महाधिवेशनको वैकल्पिक विधिबारे सोचिसकेको छैन । 

सभापति देउवा पक्षले अझै पनि महाधिवेशने सम्भव हुने भन्दै तत्कालको तालिका मात्र पछि सार्न अवश्यक भएको बताएको छ ।

“महाधिवेशनको विकल्पबारे औपचारिक छलफल भएका छैनन्, अनौपचारिक त भइरहेकै होलान्,” देउवा पक्षका केन्द्रीय सदस्य तथा केन्द्रीय सदस्ता छानबिन समितिका सदस्य श्याम घिमिरेले भने, “तर, हामी अहिलेसम्म महाधिवेशन सम्भव छ भन्नेमै छौँ ।” 

उनले राज्य पुनःसंरचनापछि पार्टीलाई त्यही संरचनाअनुरुप लैजान पार्टी समायोजन आवश्यक भएको र धेरै कुरा त्यही मिलाउनेमा गएको बताए । 

“राज्य पुनःसंरचना भएपछि पार्टी संरचनाको पुनःसंरचजा आवश्यक भयो । त्यसको काम विवादित हुँदै अझै पनि दुइचार जिल्लामा विवाद टुंगिएको छैन,” घिमिरेले भने, “सप्तरी, धुनषा, बारामा पटक–पटक विवाद टुंग्याएर पनि फेरि विवाद बल्झिएर टुंगिने क्रममा छ । सिन्धुपाल्चोक र सप्तरीमा बल्ल मिल्न लागेकाले अब क्रियाशील सदस्यताको फाराम जान्छ होला ।”

के गर्दैछ केन्द्रीय सदस्यता छानबिन समिति ? 

सदस्य घिमिरेका अनुसार फागुन ५ गते केन्द्रीय समितिको निर्णयबाट केन्द्रीय सदस्यता छानबिन समिति गठन भयो र फागुन ७ बाट काम सुरु गरेको हो । 

“केन्द्रीय सदस्यता छानविन समितिले काम थालेपछि फागुन ७ देखि वैशाख १५ भित्रै सात लाख ५० हजार सदस्यता इन्ट्रि भएको छ,” घिमिरेले भने, “केन्द्रीय समितिको बैठकले नै वैशाख १५ पछि सदस्यता इन्ट्रि बन्द गर्ने निर्णय गरेको हो । केन्द्रका नेताहरुको कन्सेप्टमा थप दश दिनका लागि खोल्दा आठ लाख तीन सय पुगेको छ ।” उनले अब सबै जिल्लाले केही दिनभित्रै सदस्यता पठाउँदा थप १५ दिनमा छानबिन टुंग्याउने जानकारी दिए ।  

“अधिवेशनका लागि केही ठाउँमा विवाद र समस्याहरु छन् । त्यसका उजुरीहरु छन् । त्यो सुन्ने चरणमा हामी प्रवेश गर्न लाग्दैछौ,” घिमिरेले भने, “असार १५ गतेसम्म सक्छौँ होला भन्ने लागेको छ ।” 
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement