site stats
बाह्रखरी :: Baahrakhari
विशेष
अमेरिकामा खोप लगाउनेहरुका लागि १० लाख डलरको लोटरी आयोजना

बीबीसी । अमेरिकाको ओहायो स्टेटले नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्न १० लाख डलरको लोटरी आयोजना गरेको छ । यसमा खोप लगाउनेहरु मध्ये पाँचजना व्यक्तिले लोटरी मार्फत १० लाख डलरको क्यास पुरस्कार प्राप्त गर्न सक्ने बताइएको छ ।
 
ओहायोका गर्भनर माइक डेवाइनका अनुसार खोप लगाइसकेका वयश्कहरु मात्र यस लोटरीका दाबेदार हुनेछन् । पाँच हप्ते कार्यक्रममा पहिलो विजेताको घोषणा आगामी मे २६ मा गरिने उनले बताए । यसमा लोटरीका लागि आवश्यक रकम, संघीय सरकारबाट प्राप्त कोरोना भाइरस राहत कोषबाट प्रयोग गरिने उनले बताए ।

कोभिड–१९ विरुद्धको खोप अभियानमा अग्रगामी रहँदै आएको अमेरिकाले अहिलेसम्म आफ्नो वयश्क जनसङ्ख्याको ५८.७ प्रतिशतलाई खोप लगाइसकेको छ । महामारीलाई नियन्त्रणमा ल्याउन, सफल खोप अभियानले अमेरिकामा धेरै ठूलो भूमिका निर्वाह गरेको विश्वास गरिन्छ जहाँको संक्रमण सङ्ख्या विश्वकै उच्च रहेको छ । यस्तोमा राष्ट्रपति जो बाइडेनले आगामी ४ जुलाइ, अमेरिकी स्वतन्त्रता दिवस अगाडि देशभरका ७० प्रतिशत वयश्कहरुलाई खोप लगाइसक्ने लक्ष्य राखेका छन् । तर, पछिल्ला केही हप्ता देशव्यापी रुपमा खोप अभियान सुस्त गतिमा अघि बढिरहेको पाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्यविद्हरुका अनुसार यसको मुख्य कारण भनेको अमेरिकीहरु अझै पनि खोप लगाउन हिचकिचाइरहेका छन् । यसैकारण खोप लगाउनेबारे अनिश्चितहरुका लागि भनेर विभिन्न किसिमका पुरस्कार दिने कार्यक्रमहरु आयोजना गरिएको छ । देशभरका विभिन्न ठाउँमा यसअघि बियर, डोनटलगायत खानेकुरा दिनेदेखि, खोप लगाउनेहरुलाई खेल हेर्न टिकट समेत उपहार स्वरुप दिइएको थियो ।
 
लोटरीको कार्यक्रमबारे डेवाइन भन्छन्, “मलाई थाहा छ धेरैले मलाई पागल भनिरहेका होलान् र यो १० लाख डलरको लोटरी बेकारको फुजुल खर्च ठानिरहेका होलान् । तर वास्तविक क्षति त्यति बेला हुनेछ जब महामारीका समयमा कोभिडको खोप सर्वत्र उपलब्ध हुँदा पनि कसैले लगाउँदैनन् । यो भनेको कोभिडका कारण जीवनको क्षति हो ।”

त्यस्तै, ओहायोले खोप लगाइसकेका १८ वर्ष मुनिकाहरुका लागि पनि लोटरीको आयोजना गरेको छ । तर, यसमा चाहिँ १० लाख डलरको सट्टा उनीहरुले स्टेटको कुनै एउटा युनिभर्सिटीमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।
 
गत हप्ता बाइडेन र उनको प्रशासनले खोप सम्बन्धी विश्वसनीयता बढाउन १२ वर्षसम्मका बालबालिकालाई पनि सुइ लगाउने घोषणा गरेका थिए । सोमबार मात्र अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले फाइजर कम्पनीको खोपलाई १२ देखि १५ वर्षीया किशोरहरुमा प्रयोग गर्न स्वीकृति दिएको हो । एफडीएकी कमान्डर डाक्टर जेनेटका अनुसार महामारी अन्त्य गरि पुनः सामान्य जीवनमा फर्किनेतर्फ नजिक पुग्ने लक्ष्यले यस्तो कदम उठाइएको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०७:१९
प्रतिक्रिया दिनुहोस्