बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
‘लकडाउन’मा बालबालिका कसरी तनावमुक्त हुन सक्छन् ?
सुनिता लोहनी
बाह्रखरी - सुनिता लोहनी मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौँ । ६ वर्षीय रिहान डंगोल हिन्दी कार्टुन ‘मोटु–पत्लु’ हेर्न मन पराउँछन् । यूकेजीमा पढ्ने रिहान पढ्नेभन्दा पनि कि त कार्टुन हेर्ने कि त मोबाइलमा गेम खेल्न बढी रुचाउँछन् । छोराको यस्तो बानी देखेर आमा कविता चिन्तित छिन् ।

निषेधाज्ञापछि विद्यालयले अनलाइन पढाउन थालेका छन् । तर, रिहानको कक्षातिर ध्यान जाँदैन । विद्यालयको प्रबन्धकसमेत रहेकी कविता भन्छिन्, “अनलाइनमा कक्षा चलिरहन्छ, रिहान के–के खेलेर बसिरहन्छ । कक्षापछि मोबाइलमा कार्टुन हेर्ने, हिन्दीमा साथीसँग बोलेर फ्रिफायर गेम खेल्छ । पढ्न फिटिक्कै मान्दैन ।”

रिहान एक प्रतिनिधि पात्र मात्रै हुन् । रिहानजस्तै धेरै बालबालिका पोहोरझैँ योपल्ट पनि निषेधाज्ञामा घर बस्नुपरेपछि पढ्नेभन्दा पनि मोबाइलमा गेम खेल्ने र कार्टुन हेर्नतिर बढी ध्यान दिन थालेपछि अभिभावक चिन्तित छन् ।

Rohto Landing

Agani Group

प्राथमिक तहका बालबालिका अनलाइनकक्षामै चल्ने, घरमा गेम खेल्ने गर्छन्, युट्युब हेर्ने गर्छन् भने माथिल्लो कक्षाका विद्यार्थी अनलाइनमा क्यामेरा बन्द गरेर क्यामेरा बिग्रियो भन्दै पढ्नेबाहेक अरु क्रियाकलाप गर्ने गरेको शिक्षक र अभिभावकको गुनासो छ । गएको वर्ष लकडाउनमा बालबालिका घरमा राखेका अभिभावक, विशेषतः कामकाजी आमाहरु बालबालिका पढ्नेभन्दा अन्य क्रियाकलापमा व्यस्त भएपछि झन् समस्यामा परेका हुन् ।

कोरोना, लकडाउन, स्कुल बन्द र घरैमा बस्नु बालबालिकाको लागि तनावपूर्ण समय भएको मनोचिकित्सक डा. गुञ्जन धोँजु बताउँछन् । कान्ति बाल अस्पतालमा कार्यरत डाक्टर धोँजु धेरै अभिभावक छोरा–छोरीले पढेन भन्दै आए पनि मूल समस्या भने अर्कै हुने उनको अनुभव छ ।

sarbottam cement

डा. धोँजुका अनुसार बच्चालाई पहिलाको सामान्य जीवनमा पनि विभिन्न खालको तनाव भइरहेको हुन्छ । अहिलेको अवस्था झन् जटिल छ । “एकातर्फ कोरोनाको तनाव,” उनले भने, “अर्कोतर्फ सामान्य दिनमा गर्दै आएको रुटिनानुसार चल्न पाइएन । घरमै बस्नुपर्ने, बाहिर खेल्न जान पाएनन् । साथीहरुसँग भेट पनि भएन ।”

उनले थपे, “कतिपयको पढाइ पहिल्यै पनि राम्रो थिएन होला, अनलाइनकक्षाले झन् समस्या थपेको होला । विभिन्न कुराले तनाव भइएको हुन्छ ।”

बालबालिकाले पढ्न नखोज्ने, अनलाइन बस्न नरुचाउने, अफलाइन बस्न खोज्नु, पढाइ–लेखाइका कुरालाई बेवास्ता गर्न खोज्नु पनि तनावको एउटा लक्षण हुन सक्ने डा. धोँजु बताउँछन् । “कुनै बच्चालाई तनाव भइरहेको छ भने साधारणतया उसले ध्यान दिन सक्दैन,” उनले भने । धेरै तनाव भए बालबालिकामा पढाइसम्बन्धी क्रियाकलपामा ह्रास आउँदै जाने उनले बताए । “पहिलेको प्रस्तुतिभन्दा झन् नराम्रो हुनसक्छ,” उनले थपे ।

डा. धोँजुका अनुसार अनलाइनकक्षाको राम्रो पक्ष पनि छ, यसले बालबालिकालाई पढाइ नियमित भइरहेको छ भन्ने चेत दिएको छ । साथी र शिक्षकसँग भर्चुअल वातावरणमा भए पनि कुरा गर्न पाएका छन् । दैनिकीजस्तो बनाइदिएको छ, अनलाइन कक्षाले । यसले बालबालिकामा विश्वसनीयता बढाउने, स्पष्टता र सुनिश्चितता ल्याउने विश्वास व्यक्त गर्छन्, डा. धोँजु ।

तर, बालबालिकाले पढेन भन्नेभन्दा पनि मूल समस्या खोज्नुपर्ने उनको भनाइ छ । उनले तनावका लक्षणलाई चार वर्गमा विभाजन गरेका छन् ।

भावनात्मक लक्षण : निराश हुने, दुःखी हुने । स–साना कुरामा रोइहाल्ने, चित्त दुखाउने र धेरै रिसाउन थाल्ने या डराउन थाल्ने । अत्यधिक डर, त्रास भयो भने बालबालिकाले केही पनि अनुभूति गर्न सक्दैनन् । रमाइलो लाग्ने कुरा पनि रमाइलो लाग्दैन । रिसाउने कुरामा पनि नरिसाएको जस्तो, केही कुरामा मतलब नभएको ‘इमोसनल्ली नम्ब’ हुनसक्छ ।

शारीरिक लक्षण : यो बालबालिकामा देखिने एकदमै सरल लक्षण हो । टाउको दुख्ने, पेट दुखिरहने, आँखा दुख्ने, वाकवाकी लाग्ने, मुटु धड्केको धड्क्यै गर्ने र श्वास फेर्न गाह्रो हुने ।

बौद्धिक लक्षण : ध्यान दिन नसक्ने, केही कुरा याद नहुने, बिर्सेको जस्तो लाग्ने ।

व्यावहारिक लक्षण : पहिलेको व्यवहारमा परिवर्तन आउने । जस्तो, झगडालु बनिदिने, सामानहरु डिमान्ड गर्ने, रोइकराइ गर्ने । सानो बच्चाजस्तो व्यवहार गर्न खोज्ने, ठूलो मान्छेसँग मात्रै बस्न खोज्ने, आफ्नो काम पनि अरुले गरिदेओस् भन्ने खालको कुरा गर्ने ।

किशोर समूहमा यी तनावका लक्षण आए भने गलत बाटो रोज्न सक्छन् । र, रक्सी तथा चुरोटजस्ता कुलतमा फस्न सक्छन् । अनलाइनकक्षाको उद्देश्य राम्रो भएको भन्दै उनी शिक्षक र अभिभावकले बालबालिकालाई तनाव नहुने किसिमले सकभर छोटो, बीच–बीचमा ब्रेक र रमाइलो क्रियाकलाप गराएर पढाउनुपर्ने सुझाव दिन्छन् ।

यस्तै, बालबालिकालाई तालिका बनाएर दैनिकी सञ्चालन गर्न उनले अभिभावकलाई सुझाव दिएका छन् । बिहान समयमै उठ्ने, शारीरिक व्यायाम गर्ने, आफ्नो स्वास्थ्यको ख्याल राख्ने, आफूले प्रयोग गरेका सामान मिलाउने, पोषणयुक्त खाना खाने, समयमै सुत्ने, खेल्ने समय, रमाइला क्रियाकलाप वा आफूलाई मन परेका कुरा गर्ने, परिवारसँग समय बिताउनेजस्ता कुरा राखेर सन्तुलित तालिका बनाउनुपर्ने उनको सुझाव छ । यसमा स्कुलको कुरा पनि त्यहाँ आउँछ, अन्य तनावको कुरा पनि सम्बोधन हुने उनको भनाइ छ ।

बालबालिकाले ग्याजेट धेरै प्रयोग गर्नु आफैँमा समस्या हो । डा. धोँजुका अनुसार त्यो ग्याजेटमा हुँदा अनलाइन देखिने विषय होस् वा गेमकै कुरा गर्दा पनि बानी लाग्ने गरी गेम सिर्जना गरिएको हुन्छ । नियन्त्रणहीन ग्याजेट चलाउन पायो भने चाहेर होस् या नचाहेर जो पनि एडिक्टेड हुने उनको भनाइ छ ।

मनोचिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई ग्याजेट दिनु हुँदैन । उनीहरुको शारीरिक र बौद्धिक विकासमा यसले असर पारिरहेको हुन्छ । ठूला बालबालिकाको हकमा ग्याजेट केको लागि प्रयोग भइरहेको छ ? सुपरिवेक्षण हुनुपर्ने विज्ञहरुको बुझाइ छ । ग्याजेट अनलाइनकक्षाको लागि, गृहकार्यको लागि भए त ठिक छ । तर, अन्य क्रियाकलाप हो भने बन्द गर्नुपर्ने धारणा राख्छन्, डा. धोँजु । उनले त्यो समय परिवारसँग बिताउन, सिर्जनात्मक क्रियाकलाप, रमाइला क्रियाकलाप गराउन बालबालिकालाई प्रेरित गर्नुपर्ने बताए ।

टिकटक, फेसबुक र इन्स्टाग्राममा बालबालिकाको फोटो, भिडियो सकेसम्म राख्न नहुने उनको धारणा छ । त्यसले अनलाइनमा बढ्दो बालबालिकासम्बन्धी अपराधमा टेवा पुग्ने उनको भनाइ छ । उनले भने, “अनलाइनमा बालबालिकालाई डर, धम्की, यौन दुर्व्यवहार गरेको हुनसक्छ । त्यसैले मोबाइलको प्रयोगमा ध्यान दिनुपर्छ ।”

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्