काठमाडौं । ई–कमर्स सेवा प्रदायकहरुले निषेधाज्ञामा होम डेलिभरी सेवा सञ्चालन गर्न दिन माग गरेका छन् । उनीहरुले यो सेवा सञ्चालन गर्न पाइने/नपाइने स्पष्ट पार्न पनि माग गरेका छन् ।
फुडमाण्डुका श्याम मालीले ई–कमर्स सञ्चालन गर्न पाउने/नपाउने विषयमा प्रशासन केही नबोल्दा ई–कमर्स नै दोधारमा रहेको बताए । उनले अनलाइन डेलिभरी सुरक्षित रहेकाले यसलाई खुला गर्नुपर्ने पनि बताए । “एकजना डेलिभरीले सबैतिर सामान पुर्याउँछ र पैसा पनि अनलाइनबाटै दिन मिल्छ । त्यसैले यो सुरक्षित छ, खुला गरिनुपर्छ,” उनले भने ।
खाद्यान खरिदका लागि सरकारले निश्चित समय तोकिदिएको छ । त्यो समयमा सामान खरिद गर्नेको भिड हुने भएकाले त्यस्तो भिडबाट बच्नको लागि पनि ई–कमर्सलाई खुला गरिनुपर्ने उनको भनाइ छ । “लोकल स्टोर निश्चित समयका लागि खुला गरिएको छ । त्यसले गर्दा सामान किन्नेको भिड हुन्छ । ई–कमर्सलाई सेवा दिन खुला गरिए राइडर्सको सुरक्षा पनि कम्पनीले हेरेको हुन्छ र यो सेवा ‘कन्ट्याक्स लेस’ डेलिभरी हुने हुनाले सुरक्षित हुन्छ । विश्व बजारमै अनलाइन डेलिभरीबाट कोरोना संक्रमण भएको घटना सुनिएको पनि छैन,” उनले भने ।
मेरो किरानाका सागरदेव भट्ट पनि ई–कमर्स सञ्चालनको विषयमा स्पष्ट नहुँदा समस्या भएको बताउँछन् । “अत्यावश्यक वस्तुको नाम लेखेर तपाईंहरु चलाउन सक्नुहुन्छ भन्ने कुरा छ । तर, होम डेलिभरी दिन सकिने भनेर केही नोटिस आएको छैन,” उनले भने । उनले कुनै–कुनै ई–कमर्सबाट होम डेलिभरी भइरहेको र कसैलाई समातिएको पनि बताए । “कसैलाई अत्यावश्यक वस्तु बोक्दा पनि समातिएको छ,” उनले भने ।
उनले होम डेलिभरी दिँदा अपनाउने स्वास्थ्य प्रोटोकलको विषयमा सीसीएमसीसहित प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए । “हामीले फलो गर्ने गाइडलाइन्स कस्तो हुन्छ ? हामीले कसरी प्रिकसन लिन्छौँ ? यो सेवा खुला गर्दा कसरी फाइदा हुन्छ ? भन्ने सबै कुरा खुलाएर पत्र दिइसकेका छौँ,” उनले भने ।
सरकारले ‘वर्क फ्रम होम’, ‘लर्निङ फ्रम होम’ भनेको तर त्यसरी काम गर्दा कम्प्युटर, ल्यापटपलगायत उपकरण बिग्रन सक्ने र मर्मतका लागि पनि होम डेलिभरी सेवा खुला गर्नुपर्ने उनले बताए । “त्यस हिसाबले होम डेलिभरी सेवा खुला गर्नु नै उपयुक्त हुन्छ,” उनले भने ।
यता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ई–कमर्सको विषयमा केही निर्णय नभए पनि अहिले सञ्चालन गर्न नपाइने बताए । यसबारेमा अर्को आदेशमा केही पुनर्विचार गर्ने कि भन्ने विषयमा छलफल भइरहेको उनले बताए । “अहिले ई–कमर्स सञ्चालन गर्न पाइँदैन । अर्को आदेशमा पुनर्विचार गर्ने कि भन्ने छ, के हुन्छ, छलफल हुँदै छ,” उनले भने ।