site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यूएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई । संयुक्त अरब इमिरेट्सले दुईजना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ ।

दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्विटरमार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका हुन् । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुन् भने मोहम्मद अल–मुल्ला पुरुष हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् १९९३ मा जन्मिएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत छिन् ।

यूएईका चार हजारभन्दा बढी आवेदकबाट दुईजना छनोट गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु दुवैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइनेछ ।

यदि, अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उनी अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनेछिन् । यसअघि, इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झन्डै दुई करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गरेकी थिइन् ।

अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाएका छन् । उनले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गरेका थिए ।

सन् २०१९ मा यूएईका मेजर हज्जा अल–मन्सूरीले पहिलोपटक अन्तरिक्ष यात्रा गरेका थिए । उनी अन्तरिक्ष केन्द्रमा आठ दिन रहेका थिए । रासस/एपी

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १२:५६
प्रतिक्रिया दिनुहोस्