site stats
बाह्रखरी :: Baahrakhari
विशेष
जेठ–असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्छ : स्वास्थ्य मन्त्री

काठमाडौं । सरकारले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे । 

पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ असारमा पुनः उच्च दरमा पुग्न सक्ने उनको भनाइ छ । 

“कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो सातादेखि निकै कम भइसकेकोमा पुन संक्रमण बढ्दै गइरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ,” उनले भने, “ छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९०० पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको तत्काल पहिचान, आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनाँले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु गरेको बताए ।  खोपको आपतकालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधि तेश्रो संशोधन अध्यादेश–२०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर, अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेकोतर्फ उनले चिन्ता व्यक्त गरे । 


मन्त्री त्रिपाठीका अनुसार चैत्र २२ गते सम्म २२ लाख ८५ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । 

नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए । 

उनले दोस्रो डोज भण्डारणमा रहेको र असार भित्र ६० लाखलाई खोप लगाउने तयारी रहेको बताए । पहिलो खोप लगाएकाहरुको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गरे । 

उनले भने, “चैत २२ गतेसम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरुलाई २०७८ वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरुको खोप सुरक्षित छ । त्यो लगाइएको छैन । भण्डारणमा छ ।”

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अहिलेसम्म ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको उनले जानकारी एि ।  । पीसीआर, किट, गाउन औषधि उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्तालगायतमा खर्च समेटिएको उनको भनाइ छ । मन्त्री त्रिपाठीले दिएको जानकारी अनुसार २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भने भुक्तानी हुन बाँकी छ । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १७:१४
प्रतिक्रिया दिनुहोस्