site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुच्छर टाँस्ने उर्दी
Sarbottam CementSarbottam Cement

मोहनराज शर्मा  


आखिरमा म पनि पुच्छर किन्न बजारतिर दौडिन्छु र आफ्ना लागि एकथान पुच्छर किनेर ढुक्क बन्छु । नकिनेर के गर्नु, कुरै त्यस्तो छ । अहिले देशमा पुच्छर नहुने मानिस दुच्छर कहलाउने र हदैसम्मको हन्डर खानुपर्ने खण्ड आएको छ ।

कुरा के हो भने नगरनगरमा एउटा अनौठोको उर्दी भर्खरै जारी गरिएको छ । उर्दीमा अबदेखि घरबाट बाहिर निस्कँदा जोकोहीले आफ्ना जिउमा बाँदरको एकथान पुच्छर देखिने गरी टाँस्नैपर्ने बेहोरा रहेको छ । उपरमाथि थुपर भने झैँ हरेकलाई आफ्ना पुच्छरको टुप्पामा भएभरका परिचयपत्रका झुप्पा झुन्ड्याउनसमेत हेक्का गराइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उर्दी कडा मात्र होइन, ज्यादै कडा छ । उर्दीको अटेर गर्नेलाई फेला पार्नासाथ चौखु¥याउने र नेलसहित जेल हाल्ने सजाय तोकिएको छ । पुच्छर नटाँसी बुच्चो भएर बाहिर निस्कँदा पक्राउबलको कुनै छुच्चो प्राणी आफूलाई समाउन आइपुग्ने हो कि भनेर मैले बेलैमा पुच्छर खरिद गरेको हुँ ।

पुच्छर किनेर कोठामा फर्केदेखि मलाई त्यो लाम्चो र बाउँठो जिनिस एकपटक आफ्ना जिउमा टाँसेर हेर्न उपद्रै सकसक लागेको छ । सकसक लागेर उखुमै भएपछि मैले त कुन सड्का हो कुन सड्का, पुच्छर त आफ्ना जिउमा टाँसी पो हालेछु । कस्तो अचम्म ! जिउमा पुच्छर जडान गर्नासाथ मेरो मानसिक अडान मात्र होइन, मेरा कोठाको सारा सरसामान पनि सिनित्तै फेरिन पुग्छ । जुत्ता र मोजाको नाक फुटाल्ने कुइगन्धले नित्य निवास गर्ने कोठामा सयौँ धूपबत्ती बल्छन् र मेरा नाकमा मिठो बास्ना भरिन थाल्छ । एफएमको मधुर वाणीलाई आफ्नो फुच्चे रेडियोले ख्यारख्यार र घ्यारघ्यारमा रूपान्तरित गरेपछि मात्र सुन्न पाउने मेरा कानमा शंख र घण्टको चोखो धुन बज्न थाल्छ । धेरै वर्षदेखि रङरोगनको मुखै देख्न नपाएर धुस्रे र फुस्रे भएको कोठामा दलिन र भित्ताहरू एक्कासि तेजिलो भएर अचम्मसँग चम्किन थाल्छन् । मेरा चिम्सा पर्दै गएका जोर आँखाले कोठाको भित्तामा एउटा रहस्यमय विराट छाया सर्लक्क पलाएको देख्छन् ।

Global Ime bank

छायालाई देख्नासाथ मेरो अन्तरकुन्तरमा श्रद्धाभक्तिको झोलिलो पदार्थ मुहान फुटाएर रसाउँछ र गद्गद् भएर म भित्तामा स्थित छायाका सम्मुख आफ्नोे टाउको लत्रक्क निहुराउँछु । मेरा जम्ल्याहा हात श्रद्धाको बाक्लो लीसामा लिपिस्सै टाँसिएर एकवत् भावले जोडिन्छन् । म देब्रे घुँडा मारेर जन्मजात चाकरका मुद्रामा थपक्क बस्छु र नवजडित पुच्छरलाई सक्तो मास्तिर उचालेर टुप्पामा घुमर्क्याउँछु । म आफ्ना बोलीमा सखरका डल्लाहरू घोलेर मिठो आवाज पोख्छु, “ओहो, प्रभु यहाँ ?”
“हो वत्स, म यहाँ !” छायाको टुन्याउने बोलीले मेरो मनमथिंगलमा झ्वाम्मै मुहुनी लगाउँछ ।
“म धन्य भएँ, प्रभु !” भावातिरेकमा कामेका मेरा ओठबाट लट्ठ परेकोे स्वर निस्किन्छ ।
“तिमी अझै धन्य हुन पाउनेछौ, वत्स !” छायाले मतिर फालेका रसवरीजस्ता शब्दहरूले मलाई गुलियोप्रेमी झिँगा झैँ लोभ्याउँछन् ।
“कसरी, प्रभो !” म रसवरीको चासनीमा चिप्लेर लडे झैँ गरी मुख मिठ्याउँदै प्रश्न गर्छु ।
“ल वत्स, यो समाऊ !” भन्दै भित्तामा स्थिति छायाको एउटा हात तन्किँदै मेरा छेउ आउँछ र एक पाना कागत थमाएर साँघुरिँदै साबिक ठाउँमा फिर्ता जान्छ ।
“यो के हो, प्रभु !” खैनी माड्दा मिसाउने चुनभन्दा सेतो कागतको त्यस पानालाई ओल्ट्याङपल्ट्याङ पार्दै म मनको बिस्मात् अकस्मात् ह्वाल्ल ओकल्छु ।
“यो फारम हो, वत्स !” छायाको ओठमा हलुका मुस्कान अलि–अलि इतरिँदै खेल्न थाल्छ ।
“कस्तो फारम, प्रभु ?” सालनालमा बेरिएको बिचरो भ्रुणझैँ म अज्ञानताको पाठेघरबाट चिच्याउँछु ।
“त्यो वत्स, प्रजातन्त्रको प्रवद्र्र्धनका निम्ति प्रारम्भ गरिने मर्यादित निर्वाचनको प्रायोजनका लागि प्रयुक्त हुने फारम हो !” छायाका मुखबाट निस्केको छर्राको पर्राले मेरो जिउभरि मकै भुट्छ ।

मचाहिँ निर्वाचन शब्द सुन्नासाथ जुलुसले उचालेको पुत्ला झैँ लल्याकलुलुक पर्छु । सर्वांग भएर म आच्छु–आच्छु पर्छु । उखेलेर एकातिर हुर्याउँछु । त्यसो गर्नासाथ मेरो मुटुभित्र गानिएको तनाउ स्वाट्टै हराउँछ । साथै, साबिक ढाँचा–काँचामा फर्केर कोठाले पनि उही तन्नम रूप धारणा गर्छ । धूपबत्तीको चन्दने मगमग मासिएर फेरि जुत्तामोजाको मन्द गन्धयुक्त झोक्का रुमलिन थाल्छ । शंख–घण्टको सुरिलो ध्वनिका सट्टा फेरि उही फुच्चे रेडियोको कर्कश ध्वनिसर्कसले कानका पर्दामा सियो घोच्न थाल्छ । भित्तामा प्रकट भएको विराट छाया मुलुकको शान्ति हराएझैँ एकदमै बेपत्ता हुन्छ र कोठामा उही धुस्रेफुस्रे रङरोगन मात्र बाँकी रहन्छ । जे होस्, म त्यस छायाको रहस्यमय कब्जाबाट मुक्त भएकोमा सारै सन्चो मान्छु र निर्धक्क भएर लामो सास फेर्छु ।

त्यसपछि एक छिन बित्छ, दुई छिन बित्छ र मलाई विस्तारै फारमबारे अलि खुलस्त कुरो बुझ्ने खसखस लाग्छ । छायाका मुखबाट निर्वाचन शब्द सुनेर म केही बेरपछि आत्तिनुपर्ने थियो, अलिछिटो आत्तिएछु । कुरो बुझ्न अति नै चौ–चौ लागेपछि म अघि मिल्काएको पुच्छर भुइँबाट टिप्छु र कत्ति नहडबडाई आफ्ना जिउमा गाँस्छु ।

पुच्छर गाँस्नासाथ फेरि उही धूपबत्तीको चन्दनवन हरर्र सल्किन्छ । फेरि, उही शंख–घण्टको सुरसप्तक घनन्न घन्किन्छ । भित्तामा फेर उही विराट छायाको सनसनीपूर्ण दाखिला हुन्छ र म फेरि देब्रे घुँडा मारी अनन्य सेवकको भंगीमा अँगालेर थुचुक्क बस्छु । विनीत भावले दुवै हात जोडेर म सुस्तसुस्त आफूभित्रका कुरा बाहिर काढ्छु, “मैले अघि लघुशंकाले च्यापेर बीचमै कुरो टुटाउने घिङ्न्याइँ गरेँे, माफ पाऊँ प्रभु ! मैले माफ पाएँ भने प्रभु, मनमा पोको पारेर राखेको सानो बिन्ती बिसाउने थिएँ ।” 
“तथास्तु वत्स, मैले तिमीलाई क्षमा गरेँ । मसँग तिमी कत्ति पनि धक मान्नुपर्दैन, जे भन्नु छ निर्धक्क भएर भन ।” छायाको उदार वचन सुनेर मेरो अति नै ढुकढुकाएको मुटुको चाल अलिकति भए पनि मत्थर हुन्छ ।

“प्रभु, हजुरले अघि मलाई एउटा फारम दिनुभएको थियो । त्यो कस्तो फारम थियो, प्रभु ?” अझै धकमा लकपक गर्दा आफ्नोे बक म बल्लतल्ल फुटाउँछु ।

“वत्स, त्यो त निर्वाचनमा उठ्ने प्रत्यासीले नामांकनका लागि भर्नुपर्ने फारम थियो । तर, अहिले नगरनगरमा त्यसको पूरै वितरण भइसकेको छ । सुन वत्स, मैले तिमीलाई योग्य मान्छे ठानेर एउटा नगरको प्रत्यासी बनाउन त्यो फारम दिएको थिएँ । तर, अब त्यसको आवश्यकता रहेन । मैले तिम्रो ठाउँमा तिमै्र छिमेकीलाई प्रत्यासी बनाएँ ।” छायाका मुखबाट सुत्तसुत्त निक्लेका सबै शब्दकनसुत्लाहरू मेरा कानमा पसेर बेसरी चलमलाउँछन् ।

“मैले अघि नै निवेदन गरिहालेँ नि प्रभु, मलाई त्यो जाबो लघुशंकाले ठूलो अलमलमा पा¥यो भनेर !” आफ्नोे दीन र मलिन खाप्चो माथि उचालेर म मनको व्यथा सुसाउँछु ।
“लघुशंका होइन दीर्घशंका भन, वत्स ! तिमी अहिले बहिस्कारको बाटातिर लागेजस्तो छ नि !” छायाको स्वर अलिक व्यंग्यतिर ढल्किँदै जान्छ ।
“प्र्रभुका नजरबाट के नै लुकेको छ र ?” निराशाले बोझिलो तुल्याएको स्वर निकालेर म बाटिएको डोरी झैँ भित्र–भित्रै बटारिन्छु ।
“निराश नहोऊ वत्स, तिम्रा लागि यो पेटिका जोगाएर राखेको छु !” काटेको घाउमा मलम लगाउनेजस्ता शीतल–शीतल शब्दहरू सुनेर म केही आश्वस्त हुन्छु ।

“सुुन र चाँदीले मोरिएको यो कस्तो पेटिका हो, प्रभु !” पेटिका समाएर त्यसको कलात्मकतामा मुग्ध हुँदै म सोधनी गर्छु ।
“यो नवीनतम मतपेटिका हो, वत्स ! यसलाई लिएर दैला–दैलामा जाऊ र प्रजातन्त्रको भजनकीर्तन सुनाएर जनतासँग मतको बिटो मागेर ल्याऊ । सुन वत्स, मैले त्यस्ता मतका अधिकतम बिटाहरू बटुल्ने संकल्प गरेको छु ।” भन्दा–भन्दै छायाको अनुहार कठोर र स्वर कडा हुन थाल्छ ।

त्यो सुन्नासाथ म फेरि अचाक्लीसँग आत्तिन्छु । यसपटक पुच्छर उक्याउनतिर नलागी म दोब्र्याएको देब्रे घुँडो सोझ्याएर जुरुक्क उभिन्छु । भक्तिभावले जोडिएका दुवै हात फट्याएर मुठी बटार्दै हावामा उचाल्छु । माथि उचालिएको पुच्छर लुलो पार्दै वेगसाथ भुइँमा बजार्छु र स्वरलाई भयानक पारेर चिच्याउँछु, “बल्ल मैले बुझेँ, बाँदरको पुच्छर टाँस्न जारी गरिएको उर्दीको अर्थ ! याद रहोस्, जसरी पहेँलाजति सबै सुन हुँदैनन्, त्यसैगरी पुच्छर टाँस्ने जति सबै हनुमान हुँदैनन् ।”

यति भनेर आक्रोशको हुरी–बतासमा बग्दै म आफ्ना जिउमा टाँसेको पुच्छर लुछेर मिल्काउँछु र उर्दीको बेवास्ता गरेर पुच्छरबिनै बाहिर निस्कन्छु ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC