site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सर्वोच्चको फैसलाले प्रदेशमा पनि तरङ्ग ! के गर्दैछन् नेकपाका दुवै पक्ष ?
फाइल तस्बिर

विराटनगर । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम बदर गरी ऋषि कट्टेलको कम्युनिष्ट पार्टीलाई वैधानिकता दिएपछि प्रदेशसमेत तरंगित बन्न पुगेको छ । 

खासगरी नेकपाभित्रको विवादबीच आएको सर्वोच्चको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीबीचको ध्रुवीकरण अब प्रस्टसँग हुने विश्लेषण हुन थालेको छ । 

तर, एमालेबाट माओवादीतर्फ प्रचण्ड निकट भएका र उताबाट पनि ओली निकट आएकाले के गर्लान् भन्ने अड्कलबाजीसमेत हुन थालेको हो । 

Argakhachi Cement Island Ad

सर्वोच्चको फैसलासँगै प्रदेशसभादेखि नेकपाभित्र दाहाल–नेपाल र ओली समूहका नेता तथा सांसदहरु नै अन्योलमा परेका छन् । 
ओली समूह छाडेर दाहाल–नेपाल समूह र उताबाट ओली समूहमा आएकाहरुको पदीय हैसियत के हुने भन्ने अन्योल र प्रश्न प्रदेशतिर पनि उठेको छ । 

प्रमुख विपक्षी दलहरुसमेत सर्वोच्चको निर्णयले नेकपा विभाजन भएको हो कि होइन भन्नेमा अन्योलग्रस्त छन् । 

साबिक नेकपा माओवादीका सांसद तथा नेताले समेत यसबारे प्रतिक्रिया दिएका छन् ।

आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले ‘संयमित बनौँ, निरासा, आक्रोस, कुण्ठा छाडौं अब समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबै एकताबद्ध बनौं’ भन्ने आग्रह गरेका छन् । 

यसैगरी उनले सामाजिक सञ्जालमा सन्देश पोस्ट गरी ‘सर्वोच्च अदालतले नेकपा बदर गरेको र ऋषि कट्टेलको कम्युनिष्ट पार्टीलाई दिएको भन्दै अब पुनः नेकपा एमाले र माओवादीतर्फ फर्कनु पर्ने हो कि ?’ भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सर्वोच्च अदालतको निर्णयपछि राजनीतिक रुपमा उठेका विषयलाई अहिल्यै यही भनेर प्रतिक्रिया दिन सक्ने अवस्था नरहेको बताए । 

‘माथि नै सभामुखको चयन र राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन प्रक्रिया एउटै पार्टीको रुपमा भएकोमा अहिलेको निर्णय संसदमा लागू हुन नसक्ने टिप्पणी आएका छन्,’ कोइरालाले भने,‘केन्द्रको टुंगो नलागी प्रदेशमा के हुने हो भनेर भन्ने अवस्था छैन ।’ राजनीतिक परिदृश्य हेरेर मात्र नेपाली कांग्रेसले तल आफ्नो धारणा सार्वजनिक गर्ने कोइरालाको कथन छ । 

प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सामाजिक सञ्जालमा सर्वोच्चको फैसलालगत्तै आफ्नो विचार सार्वजनिक गरेका छन् । 

“निर्वाचन आयोगमा चुनाव चिह्नसहित दर्ता भइसकेको सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्र अबको हाम्रो पार्टी हुन सक्दैन,” उनले भनेका छन्, “बहुमत केन्द्रीय सदस्यहरुसहित नाममा केही संशोधन गरेर हाम्रो पार्टी नेकपाले नै निरन्तरता पाउँछ धैर्य गरौं, अब जे हुन्छ राम्रोको लागि नै हुन्छ ।”

वैचारिक र भावनात्मक रुपमा नै नेकपा ओली र दाहाल–नेपाल समूहमा विभाजन भइ अलग अलग कार्यक्रम गर्दै आएका छन् ।
संसदमा समेत संसदीय दलको नेतादेखि प्रमुख सचेतकसम्म फेर्ने काम गरिसकेका छन् । 

चैत २ गतेसम्मको लागि प्रदेशसभा बैठक स्थगन भए पनि एक पक्षले अर्को पक्षका सांसदलाई तान्ने क्रम भने चलिरहेको छ । अब तल प्रदेशमा के हुन्छ ? भन्ने जिज्ञासामा कांग्रेस संसदीय दलका नेता कोइरालाले भने, “माथिको राजनीतिक अवस्था र निर्णय अनि परिवेश जे बन्दै जान्छ तल पनि त्यही हुने हो । हामी पर्ख र हेरको अवस्थामा छौं ।”

नेकपा एमालेका सांसद तथा हाल ओली समूहका पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले ‘सइँ पनि एमाले, मै पनि एमाले’ भन्ने एमालेको झन्डा र चुनाव चिह्न सूर्य पोस्ट गरेका छन् । 

नेकपाभित्रको विवाद प्रदेशसभामा समेत देखिएसँगै मुख्यमन्त्री शेरधन राईले १६ जना नेकपाका सांसदलाई संसदीय दलको नेताको हैसियतमा निलम्बन गरेका छन् । 

यसैगरी उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी भीम आचार्यसहितका नेताले ८ जनालाई निलम्बन गरिएको घोषणा गरेका छन् । यही विवादबीच अब प्रदेशसभाको बैठक बस्नेछ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०८:२७
प्रतिक्रिया दिनुहोस्