site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऋषि कट्टेल भन्छन्– मिडिया, पैसा र पावरले पेलेका थिए 

पोखरा । नेपाल कम्युनिष्ट पार्टी आफ्नो नाममा रहेको भन्दै सर्वोच्च अदालत गुहारेका ऋषि कट्टेलले आफ्नो पक्षमा फैसला आएपछि पूर्व एमाले र पूर्वमाओवादी नेताहरुले मिडिया, पैसा र पावरमा आफूलाई पेलेको प्रतिक्रिया दिएका छन् ।

“मुद्दा हाम्रो पक्षमा आएको सुनेँ, खुसी लाग्यो,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “पुरानो माओवादी केन्द्र र एमाले काम गरेर फैसला गरिदिएको छ रे । माओवादी केन्द्र त अर्कै नाममा दर्ता भइसक्यो, एमाले पनि दर्ता भएको छ । उनीहरुको दर्ता खारेज हुने कुरा भएन । अब ओली र प्रचण्डलाई अप्ठ्यारै छ ।”

Argakhachi Cement Island Ad

केपी शर्मा ओली र पुष्पकमल दाहालसँग आक्रोशित उनले आफूले गरेको आग्रह अस्वीकार गरेर पेलेरै अघि बढ्दा अहिले सर्वोच्चको फैसलाले जवाफ पाएको बताए ।

“यिनलाई गाह्रो पर्न पनि परेको थियो । मातेर ठालु पल्टेका गाह्रो नपरेर हुन्छ त ?,” उनले भने, “त्यत्रो बहुमत पाएर सरकार चलाएको शिष्टतापूर्वक अतिक्रमण नगरी काम गर्न सकिन्थ्यो नि । सबैलाई कहिले खुट्टाले हानेको छ, कहिले टाउकोले हानेको छ । आफू मात्रै सबै कुरा हुँ भनेर हिँड्न थालेपछि, मैमत्त भएपछि गाह्रो पर्दैन त ? जुन पार्टीबाट निर्वाचित भएका हुन्, त्यो पार्टी नै नरहेपछि अब के हुन्छ ? अब विपक्षले मुद्दा हाल्ला नि ! अब सुरु गर्ला । हाम्रो चाहिँ काम सकियो ।” 

कट्टेलले भने एकता गर्दा आफ्नो नाम नराख्न पटक पटक आग्रह गरेको भए पनि नसुनेको बताए ।

“मैले यस्तो काम नगर भनेर भनेको पनि थिएँ । मरे मानेनन् । एकता गरेताप नि मिल्दो नाम चाहिँ नराख भनेको थिएँ, टेरेनन् । उनीहरुले आँटेका अतिक्रमण त नेपाल कम्युनिष्ट पार्टीमात्रै भनेर आँटेका हुन नि त,” उनले भने, “उनीहरु सत्तामा छन्, मिडिया छ, ठुलो पार्टी छ, मिडियाहरुले हाम्रा कुरा सुन्दैनन्, उनकै कुरामात्र सुन्छ, नेपाल कम्युनिष्ट पार्टी भनेको भन्यै गरे नि त । प्रचण्डसँग कैयौँपटक सहकार्य, आन्दोलनमा हिँडेको होइन ? उनलाई थाहा छ नि त । थाहा हुँदाहुँदै उनले चाहिँ जबर्जस्ती माने मान्छ, नमाने सरकारी रुपमा पेलेर जाने, सके त मेरो पार्टी लान्छौँ भने मलाई पनि मिलाइदेउ भन्न आउला, आएन भने पेलेरै जाने, हाम्रै मिडिया हुन्छ, पैसा, पावर हामीसँग छ । के गर्छ यसले, प्रतिरोध गर्न शक्ति पनि छैन भनेर पेलेका थिए, अहिले सर्वोच्चको फैसलापछि खुसी छु ।”
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्