site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell
Dabur Nepal
NIC Asia

एकातिर चुनाव घाेषणा र अर्कातिर नागरिक स्वतन्त्रता खाेस्ने दुस्साहस त मूर्ख वा तानाशाहले मात्र गर्न सक्छ । नेपालका उद्दाम महत्त्वाकांक्षी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई मूर्ख ठान्नु नै सायद मूर्खता हुनेछ । उनका विराेधीहरूले ओलीलाई ‘सर्वसत्तावादी’ भएकाे आराेप लगाउँदै आएका छन् । प्रधानमन्त्री र उनकाे मन्त्रिपरिषद्का क्रियाकलापले पनि ओलीलाई सर्वसत्तावादी सिद्ध गर्दै लगेकाे देखिन्छ । सरकारले सामाजिक सञ्जाल नियमनका नाममा जारी गर्न लागेकाे ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ लाई पनि नागरिककाे अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने दुस्साहसका रूपमा हेरिएकाे छ । सरकारका प्रवक्ताका अनुसार अभिव्यक्ति स्वतन्त्रताका आडमा सामाजिक सञ्जालमा व्यक्तिविशेष विरुद्ध अमर्यादित अभिव्यक्ति दिने र त्यस्ताे अभिव्यक्तिले सञ्चारमाध्यमले समेत स्थान पाउने गरेकाले नियमनका लागि नयाँ निर्देशिका जारी गर्नु परेकाे हाे । परन्तु, सरकारकाे भनाइ पत्याउने आधार भने देखिँदैन । नियमनकाे आवश्यकता नै भए पनि त्यसका लागि समय र सरकार दुवै उपयुक्त देखिँदैन ।

व्यक्ति विशेषविरुद्ध कसैले अमर्यादित अभिव्यक्ति दिएमा कारबाही गर्ने व्यवस्था विद्यमान कानुनमा नै रहेकाले छद्म प्रयाेजन नभए अर्काे कानुनी व्यवस्था आवश्यक छैन । लाेकतन्त्रमा व्यक्ति सबै समान हुन्छन् । नेपालकाे संविधानले पनि समानताकाे प्रत्याभूति गरेकाे छ । यसैले जनसाधारण र पदाधिकारीका लागि अलगअलग विधि वा निषेधकाे व्यवस्था हुनसक्तैन । राजतन्त्रमा राजपरिवारका लागि केही विशेष अधिकारकाे व्यवस्था कानुनबाटै गरिएकाे हुन्थ्याे । गणतन्त्रमा कसैलाई त्यस्ताे विशेषाधिकार हुने कल्पनासम्म पनि संविधानले गरेकाे छैन । सामाजिक सञ्जाल नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ओली सरकारले संसद्मा पनि प्रस्तुत गरेकाे थियाे । तर, समुदाय र सञ्चारमाध्यम सबैतिरबाट चर्काे विराेध भएपछि त्याे विधेयक पारित हुन सकेन ।  अहिले त्यही विधेयकमा भएका प्रावधान समेटेर निर्देशिका जारी गर्ने सरकारी प्रयत्न निन्दनीय दुस्साहस हाे ।

प्रक्रिया र मनसाय दुवै आधारमा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सरकारी प्रयास गलत देखिन्छ । सरकारले आफैँ कानुन बनाउन सक्तैन । संसद्ले बनाएकाे कानुनमा प्रत्यायाेजित अधिकारमा टेकेरमात्र सरकारले नियम, निर्देशिका बनाउने हाे । सामाजिक सञ्जालसम्बन्धी विधेयक नै पारित नभएका अवस्थामा साेही प्रयोजनका लागि सरकारले निर्देशिका बनाउन पाउने नैतिक र कानुनी आधार देखिँदैन । सरकारले विद्युतीय काराेबार ऐनमा टेकेर सामाजिक सञ्जाल नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्न खोज्नु रकमी चरित्र हाे । नागरिकसँग छलछाम गर्ने रकमी प्रवृत्ति लाेकतान्त्रिक सरकारमा हुन सक्तैन । यसैगरी गाली बेइज्जतीलगायतका विभिन्न कानुनमा व्यक्ति विशेषविरुद्ध प्रयाेग हुने अमर्यादित अभिव्यक्तिमा कारबाही गर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै सरकारविरुद्ध जनता सडकमा ओर्लिएका र संसद् नभएका अवस्थामा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने निर्देशिका जारी गर्नेको मनसाय पनि दुर्नियतपूर्ण देखिन्छ । सम्भवतः यही कारणले पूर्वप्रधान न्यायाधीशहरूलगायत प्रतिष्ठित नागरिकहरूले चिन्ता प्रकट गरेका हुनुपर्छ । सरकारकाे नियत दुराशयपूर्ण छैन भने अहिले अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने प्रयास छाडेर सुशासनमा ध्यान देओस् । यतिबेला जनतालाई जिस्क्याउने दुस्साहस गर्नु सरकारकै लागि आत्मघाती हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu