‘नेपालमा धेरै उत्कृष्ट गल्फ खेलाडी उत्पादन गर्ने योजना छ’

‘नेपालमा धेरै उत्कृष्ट गल्फ खेलाडी उत्पादन गर्ने योजना छ’

काठमाडौं । पछिल्लो समय नेपालमा खेलकुदका धेरै क्षेत्रले स्थान बनाउन थालेका छन् । त्यसमध्ये गल्फ विधा पनि हो । गल्फमा नेपालले धेरै सम्भावना बोकेको छ ।

त्यसको गतिलोे उदाहारण हो, नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दुई स्वर्णपदक जित्न सक्नु । त्यही सफलताले नै नेपालमा पछिल्लो समय गल्फ खेलप्रति धेरै खेलाडीहरु आकर्षित छन् ।

तिनै आकर्षित युवाहरुको नयाँ जोसलाई सम्हाल्न एक उत्कृष्ट गल्फ प्रशिक्षकको खाँचो पर्दछ । त्यसको मुख्य विन्दु भनेकै नेपालका उत्कृष्ट गल्फ प्रशिक्षक सचिन भट्टराई हुन् ।

उनी हाल विश्वकै उत्कृष्ट १०० प्रशिक्षकभित्र पर्दछन् । लामो समय गल्फमा बिताएका उनले ठूलो सफलता हात पार्न सफल भए । उनको सफलताको पछाडि धेरै ठूलो संघर्ष भने जोडिएको छ ।

सानो उमेरमा नै गल्फसँग जोडिएका उनको पहिलो भूमिका भने फरक थियो । उनी सिधै गल्फ खेल्न भनेर गल्फसँग जोडिएका भने होइनन् । गल्फप्रतिको उनको नाता ‘ब्राउन ब्वाइ’का रुपमा जोडिएको थियो ।

‘ब्राउन ब्वाइ’का रुपमा सुरु भएको गल्फ करियर हाल विश्व गल्फ टिचर महासंघको सन् २०२०/२०२१ को शीर्ष १०० गल्फ प्रशिक्षकको सूचीमा भट्टराई समावेश छन् ।

“गल्फ करियरलाई फर्केर हेर्दा आफ्नो संघर्ष मात्र देख्छु । ‘ब्राउन ब्वाइ’का रुपमा सुरु भएको मेरो गल्फ भविष्य यो अवस्थामा पुग्छ भन्ने सोचेको थिइनँ । सुरुआतमा भूमिका फरक भएपनि मेरो रोजाइ, भविष्य र सफलता त्यसैमा जोडिएको रहेछ भन्ने लागेको छ,” भट्टराईले बाह्रखरीसँगको कुराकानीमा सुरुआती दिनलाई याद गरे ।

‘ब्राउन ब्वाइ’को भूमिकामा रहेका उनको एक वर्षमै भूमिका फरक बन्न पुग्यो । उनी क्याडी अर्थात् गल्फ खेलाडीको सहयोगीको रुपमा उसका खेल सामग्री बोकेर सघाउने काममा जोडिन पुगे । ‘ब्राउन ब्वाइ’को भूमिकामा भन्दा क्याडीको भूमिका केही फरक छ । क्याडीहरु खेलाडी र खेलको नजिक हुन्छन् । उनीहरुलाई खेलको विषयमा धेरै जानकारी हुन्छ ।

“क्याडीको रुपमा गल्फसँगको नाता झनै नजिक भयो । यसले गर्दा गल्फप्रति आकर्षण धेरै हुन थाल्यो । बल प्रहार गर्ने तरिकादेखि लिएर गल्फको बारेमा नियमहरुको पनि राम्रो जानकारी हुन थाल्यो । त्यसपछि गल्फतिर नै आफ्नो भविष्य देख्न थालेँ,” भट्टराईले भने ।

क्याडीको रुपमा काम गरेको केही समयपछि उनले गल्फ खेल्ने अवसर पनि पाए । क्याडीहरुको पनि प्रतियोगितामा उनी सहभागी भए । क्याडीको प्रतियोगितामा भट्टराई उत्कृष्ट ठहरिए । उनले सन् १९९८ देखि एमेच्योर खेलाडीका रुपमा गल्फ खेल्न थाले ।

त्यसपछि उनको गल्फप्रतिको नातानजिक भयो । भट्टराईको व्यावसायिक खेलप्रति नै चासो बढ्यो । उनी सन् १९९९ देखि व्यावसायिक खेलाडीको रुपमा गल्फ क्षेत्रमा लागे । गल्फमा लागरे उनले धेरै प्रतियोगिताहरुमा सहभागिता जानाउन सफल भए ।

भट्टराईले सन् २०१४ मा टिचिङ फेडेरेसनबाट मास्टर्स उपाधि हासिल गरेका छन् । यसैले उनी गल्फ क्षेत्रबाट टाढा हुने सोच नै बनाउँदैनन् । उत्कृष्ट प्रशिक्षक भट्टराईको प्रशिक्षकत्वमा नै नेपालकी गल्फ खेलाडी प्रतिमा शेर्पा पर्न सफल भइन् । उनी सन् २०२० मा फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका एसियाका प्रभावशालीहरुको सूचीमा पर्न सफल भइन् ।

भट्टराई अहिले रोयल नेपाल गल्फ क्लबमा साना उमेरका खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् । गल्फमा भविष्य बनाउन लागेका खेलाडीहरुको भविष्यको निर्धारण गर्ने जिम्मेवारी प्रशिक्षक भट्टराईलाई छ ।

“मलाई यो सफलताको कदर छ । यही कदरलाई सम्मान गर्दै नेपालमा धेरै राम्रा खेलाडी उत्पादन गर्ने मेरो लक्ष्य छ । यसैको सुरुआत रोयल नेपाल गल्फ क्लबमा रहेका खेलाडीहरुबाट हुनेछ । किनभने, नेपालमा धेरै उत्कृष्ट गल्फ खेलाडी उत्पादन गर्ने मेरो योजना छ,” सचिनले भने ।

भुपेस उपाध्याय

प्रतिकृया दिनुहोस
ad