०३६ सालमा निर्दल कि बहुदल भन्ने जनमत संग्रहको अभियान हामीले चितवनबाट सुरु गरेका थियौं । चितवनबाट कार्यक्रम सकेर हामी हेटौडा पुग्यौँ । हेटौडा कांग्रेसको कमजोर नै ठाउँ हो । कमजोर ठाउँ भएकाले हेटौडामै आमसभा गर्ने तय गरेका थियौं । हेटौडामा अहिलेसम्म पनि कांग्रेसको अवस्था राम्रो भएको छैन । आफूलाई कम्युनिष्ट भन्नेहरुकै त्यहाँ प्रभाव छ । जनमत संग्रहका बेलामा सरकार पनि कम्युनिष्टहरुप्रति नरम थियो । कांग्रेसलाई मात्र निषेध गर्ने चरित्र भएको ठाउँ थियो हेटौडा । त्यस्तो ठाउँमा कार्यक्रम गर्ने तय भयो ।
गणेशमान सिहंंज्यूसँग म प्युठान, दाङको घोराहीलगायतका ठाउँहरु पनि घुमेको थिएँ । चितवनमा भव्य आमसभा भयो ।
कम्युनिष्टहरु जनमतसंग्रहको विरोधी थिए । पञ्चहरु त विरोधी हुनेनै भए । गणेशमान सिंह, कांग्रेसका पूर्वमहामन्त्री त्रिभुवनसिंह प्रधान, गणेशमानजीको छोरा प्रदीपमान सिंह पनि हुनुहुन्थ्यो । म गणेशमानजीको कार्यक्रम संयोजक थिएँ त्यतिबेला ।
हेटौडा हामी आइपुग्दा कम्युनिष्ट र पञ्चहरुले सुरुमै विरोध गरेका थिए । तर, हामीले बहुदलको पक्षमा आयोजना गरेको कार्यक्रमबाट पछाडि पर्नुहुँदैन, अगाडी नै जानुपर्छ भन्ने हिसाबले हेटौडामा कार्यक्रम गर्ने नै निधो गर्यौँ । हामीले बहुदलीय प्रजातन्त्रका पक्षमा कार्यक्रम गर्नेनै भएपछि कार्यक्रम बिथोल्न त्यहाँ कम्युनिष्टहरुको चहलपहल बढ्यो । तर, हामीले आमसभा सुरु गर्यौँ । आमसभा सुरु हुनासाथै त्यहाँ नारा लगाएर कार्यक्रम विथोल्ने प्रयास भयो । मञ्चको एकातिर कम्युनिष्ट (तत्कालीन माले) र अर्कोतिर पञ्चहरु थिए । पञ्चहरु तत्कालीन निर्दलीय पञ्चायती सरकारका पक्षमा थिए । बहुदलको प्रचारप्रसारमा भएको सभा बिथोल्न माले र पञ्चहरुको योजना र मिलेमतो देखिन्छ ।
कार्यक्रम सुरु गरेर स्वागत भाषण गर्दागर्दै आक्रमण सुरु भयो । यो २०३६ असार १३ गतेको घटना हो । त्यसपछि त्यहाँ भागाभाग भयो । आक्रमण गर्नेहरुको टोलीमा सुशील प्याकुरेल, बद्रीप्रसाद खतिवडा, दीपकश्रेष्ठलगायत एउटा समूह र अर्को पञ्चहरुको समूह थियो । उनीहरुको नेतृत्वमा रहेको समूहले लठ्ठी र जे–जे भेट्यो त्यसैले हामीमाथि आक्रमण गरे ।
हामीलाई मञ्चबाटै लडाए ।
सभामै आक्रमण भएपछि हामी एउटा नजिकैको घरमा पस्यौं । तर, त्यो घर पञ्चहरुकै समर्थकको रहेछ । हामीलाई त्यो घरमा बस्न दिइएन । बाहिर हामीलाई आक्रमण गर्नेहरु थिए ।
सबैभन्दा अगाडि म नै बाहिर निस्किएँ । गणेशमानजीलाई जोगाउनका लागि म एउटा बाटोबाट र उहाँ अर्को बाटोबाट निस्कने योजना थियो । निस्कनासाथ हामीमाथि आक्रमण भएको थियो । मलाई मरणासन्न हुने गरि कुटियो । उनीहरुको कुटाइबाट म त बेहोस नै भएँछु ।
पछि गणेशमानजी भएको घरमा लगेपछि म होसमा आएँ ।
उनीहरुले सकेसम्म ज्यानै मार्नेगरि आक्रमण गरेका थिए । तर, हामीलाई जनताको साथ थियो । पछि हामी बुद्धि पुर्याएर बजारतिर जाँदा हामी सुरक्षित भयौं ।
हेटौडामा त्यतिबेला कांग्रेसका नेतालाई सिध्याउननै खोजेको घटना थियो त्यो । गणेशमानजी र मेरो ढाडमा पिटाइको डामनै बसेको थियो ।
त्यहाँको अवस्था हेर्दा म आफू सुरक्षित रहनुपर्ने अवस्था देखेँ । चितवनमा पार्टीका साथीहरुले गरेको थोरै आर्थिक सहयोग पनि मसँगै थियो । पार्टीको इमान्दार कार्यकर्ताको नाताले म आफूसँगै साथीहरुले गरेको सहयोग जोगाउनतिर लागेँ । म आक्रमण गर्नेहरुलाई प्रतिकार गर्न लागिन ।
तर, मलाई मरणासन्न हुनेगरि कुटे । म मरणासन्न भएपछि गणेशमान सिंहले आश्रय लिएको घरबाट बाहिर निस्नुभयो । गणेशमानजीको लुगा च्यातेर नाङ्गै बनाएर दुर्व्यवहार गरेका थिए ।
भुटनदेवी स्कूलको पूर्वपट्टि गाउँ र पश्चिमतिर बजार थियो । बजारबाट करिब ३ सय फिट भित्र रहेको स्कुलको पश्चिमउत्तरतिर मञ्च बनाइएको थियो । त्यहाँ एउटा बाटो पनि थियो । हामी उनीहरुले आक्रमण गरिरहेकै बेला त्यही बाटोबाट राति ( कार्यक्रमको अघिल्लो दिन) गणेशमानजी बसेको गोपिकृष्ण गोर्खालीको घरमा पुग्यौं । त्यहाँ घरमा पनि ढुँगामुढा गरे । गोर्खालीजी कांग्रेसकै कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ त्यहाँ प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो । त्यसकारण उनीहरुले घरभित्र पसेर आक्रमण गर्नचाहिँ सकेनन् ।
उनीहरुको योजना जसरी पनि प्रजातन्त्रवादीहरुलाई सिध्याउने भन्ने नै थियो । जोसँग मिलेर भए पनि पञ्चायती सरकार प्रजातन्त्रवादीहरुलाई सिध्याउने योजनामा थिए । (माले) लाई संगठन गर्न पनि तत्कालीन पञ्चायती सरकारले सजिलो बनाइदिएको थियो । तर, बहुदलवादीलाई छिर्नै नदिने, निषेध गर्ने गरिएको थियो ।
तस्बिरः ध्यानगोविन्द रञ्जितको फेसबुकबाट
(कांग्रेसका पूर्वसांसद रञ्जितले बाह्रखरीका जगन्नाथ दुलालसँग गरेको कुराकानीमा आधारित)