site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पदा संरक्षणको लडाइँ
SkywellSkywell

‘सम्पदा लडाइँ’ सम्पदा संरक्षणका लागि भएका लडाइँहरूको दस्ताबेज हो । विभिन्‍न व्यक्ति, निकाय तथा संस्थाहरूको स्वार्थका कारण सम्पदा मासिँदै र मिचिँदै गएकामा चिन्ता र दुःख व्यक्त गर्दै सम्पदा संरक्षणका लागि गरिएका प्रयासहरूको इतिवृतान्त सम्पदा लडाइँमा पाइन्छ । सम्पदा बनाउन र बचाउन उपत्यकाका नेवार समुदायले गर्दै आएको मिहिनेतको पनि पुस्तकभित्र खुलेर प्रशंसा गरिएको छ । 

सम्पदा मिचेर र मासेर व्यक्तिगत सम्पत्ति बनाउन-बढाउन उद्यत माफियाविरुद्ध लेखक खुलेरै लागेका छन् । उनको यो साहस र निर्भिकता तारिफयोग्य छ । देशमा पर्यटन प्रवर्द्धनको कुरा गर्दा सधैँ यहाँका प्राकृतिक, ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको नाउँ लिने गरिन्छ । तिनै सम्पदालाई आकर्षणको केन्द्रविन्दु बनाएर पर्यटन प्रवर्द्धनका योजना, नीति तथा कार्यक्रमहरू बनाइन्छन् । तर तिनै सम्पदा संरक्षणका लागि सिन्को नभाँच्ने प्रवृत्ति उदेकलाग्दो छ । 

यही समुदाय, यही समाज र यही देशभित्र सम्पदा संरक्षणका लागि अहोरात्र खट्ने नायकहरू छन् । त्यही सम्पदा मिचेर र मासेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने माफियाहरू पनि छन् र सम्पदा संरक्षणका अभियन्तालाई दुःख दिएर तिनै माफियालाई सघाउने खलनायक-शासकहरू पनि छन् । माफिया र खलनायकप्रति घृणा र नायकहरूप्रति सम्मान व्यक्त गर्नु यो पुस्तकको उद्देश्य हो भन्दा अतिशयोक्ति नहोला । 

KFC Island Ad
NIC Asia

नायकहरूमध्येका एक हुन् लेखक दामोदर न्यौपाने स्वयम् । उनले कान्तिपुरको सम्पदा बिटअन्तर्गत उनले उठाएका र उजागर गरेका विषय वा मुद्दाहरूले सम्पदा संरक्षणमा महत्त्वपूर्ण टेवा पुर्‍याएको यथार्थको साक्षी हो ‘सम्पदा लडाइँ’ । ‘देश, काल, परिस्थितिअनुसार प्रयोग नगरी सिद्धान्तमा जे लेखिएको छ त्यही प्रयोग गर्न खोज्नु जडसूत्रवाद हो । जडसूत्रको समर्थन गर्ने जडसूत्रवादी हुन्छ ।’ लेखक आफैंले लेखेका छन् । यस अर्थमा यो ‘सम्पदा लडाइँ’ जडसूत्रवादीको सम्पदा संरक्षण अभियानको दस्ताबेज हो ।

लेखकले सम्पदाको क्षेत्रमा भएका राम्रा र नराम्रा सबै प्रकारका कार्यको निर्भिकतापूर्वक विश्लेषण गरेका छन् । कसैको डर नमानी र मनमा कुनै लोभ, मोह र स्थार्थ नराखी विशुद्ध रूपमा राष्ट्रिय पहिचानका रूपमा रहेका मूर्त सम्पदाको संरक्षणका लागि कलमरूपी अस्त्रले लडेको लडाइँको गाथा हो ‘सम्पदा लडाइँ’ । ऐतिहासिक र पुरातात्त्विक सम्पदा अनि सार्वजनिक सम्पत्तिको जगेर्नामा स्थानीय बासिन्दाले लडेको लडाइँमा लेखकले होस्टेमा हैंसे गरेका छन् । वाचडगको भूमिका निर्वाह गरेका छन् । 

Royal Enfield Island Ad

सम्पदा के हो, सम्पदाभित्र के-के पर्छन् र सम्पदाको संरक्षण किन गर्ने भन्ने अति गहन विषयलाई अति सरल र बोधगम्य भाषामा लेखेर पाठकको मनमा पनि सम्पदा संरक्षणको हुटहुटी जगाउन सक्नु लेखकको विशेषता हो । जुन पुस्तकको पनि विशेषता हो । सम्पदा कसले बनाए, कहिले बनाए, किन बनाए र कसरी बनाए भन्ने कुराको यथेष्ट जानकारी पुस्तकका विभिन्न आलेखहरूमा पाइन्छ । 

उपत्यकाको सम्पदाको सानो ‘इन्साइक्लोपेडिया’ नै बनेको छ ‘सम्पदा लडाइँ’ । पुस्तक पढ्दा कानुनको ज्ञान हुन्छ । विभिन्न ऐनका दफा र उपदफाको ज्ञान हुन्छ । इतिहासको ज्ञान हुन्छ । पुरातत्त्वको ज्ञान हुन्छ । वास्तुकलाको ज्ञान हुन्छ । पढ्दा कतै कानुनको किताब पढिरहेजस्तो लाग्छ ! कतै इतिहास पढिरहेजस्तो लाग्छ ! कतै वास्तुकला, कतै संस्कृति, कतै पुरातत्त्व र कतैकतैचाहिँ आख्यान नै पो पढिरहेको छु भनेजस्तो लाग्छ ! एउटै पुस्तकभित्र यति धेरै विषयमा सामान्य-व्यवहारिक ज्ञानका कुरा पाउनु दुर्लभ हुन्छ । त्यो दुर्लभतालाई सुलभ बनाइदिएको छ ‘सम्पदा लडाइँ’ ले ।

सम्पदा संरक्षणको आवश्यकता जँचेकै बेलामा एउटा व्यक्तिले अहोरात्र खटेर सम्पदा संरक्षणको विषयलाई उठान गरिरहनु र गर्दै आउनु ठूलो कुरा हो । विश्वसामु आफूलाई चिनाउने, आफ्नो जातीयतालाई चिनाउने, समाजलाई चिनाउने र राष्ट्रलाई नै चिनाउने अमूल्य सम्पदाहरू विभिन्‍न कारणले मिचिँदै र मासिँदै गरेको र कतिपय सम्पदाको अस्तित्व संकटमा परिसकेको अनि कतिपय सम्पदाको अस्तित्व मेटिइ नै सकेको पीडालाई लेखकले पुस्तकमा तथ्यहरूसहित् प्रस्तुत गरेका छन् । हाम्रो पहिचानका रूपमा सम्पदा नै नरहे भावी पुस्ताले आफूलाई कसरी विश्वसामु चिनाउने भन्ने चिन्ता पुस्तकमा भेटिन्छ । त्यसैले यो पुस्तक वर्तमान पुस्ताका लागि मात्रै होइन, भावी पुस्ताका लागि पनि सम्पदा संरक्षणका लागि एउटा महत्त्वपूर्ण दस्ताबेजका रूपमा रहनेमा विश्वस्त हुन सकिन्छ ।

दिनहुँ हुने मानवीय मिचाहा प्रवृत्ति र समयसमयमा हुने भूकम्पजस्ता प्राकृतिक प्रकोपका कारणले सम्पदाहरू भत्किने, बिग्रिने, मिचिने र मासिने क्रम निरन्तर चलिरहेको छ । अनि सम्पदा संरक्षणको प्रयास पनि निरन्तर जारी नै छ । तर सम्पदाको संरक्षण गर्नेभन्दा सम्पदा मिच्ने, मास्ने र यसको अस्तित्व नै समाप्त पार्न उद्यतहरूको संख्या ठूलो भएकाले सम्पदामाथिको खतरा दिनहुँ बढिरहेको छ । 

यसो हुँदा पुरातात्त्विक सम्पदा क्षेत्र निरन्तर संकटमा पर्दै आएको छ । विकासको नाउँमा सम्पदाको विनाश धेरै भए, गरिए । पूर्वाधार निर्माणको निहुँमा सम्पदा नै मास्‍ने दुस्कार्य हुँदै आयो । व्यवसायीले सम्पदा क्षेत्रलाई व्यावसायिक केन्द्र बनाउन खोज्ने । कानुनले रोक भन्ने । कानुन पालना गराउनेहरूले चाहिँ नदेखेजस्तो अथवा थाहा नपाएजस्तो गरिदिने । गजबको तारतम्य मिल्ने गरेको छ नेपालमा ! 

२०७२ सालको विनाशकारी भूकम्पमा ढलेको धरहरा, वसन्तपुर दरबार, काष्ठमण्डप र रानीपोखरी आदि दिनहुँ लाखौं सर्वसाधारणको आँखा पर्ने सम्पदा हुन् । तिनको पुनर्निर्माणमा पनि राजनीति नै गरिरहेको सरकारले अन्य आँखा नपर्ने सम्पदाहरूको जीर्णोद्धार र पुनर्निर्माण कहिले गर्ला भनेर आशा गर्ने ? घुस, कमिसन भ्रष्टाचारमा बिकिसकेका शासकहरूबाट हाम्रो पहिचान र हाम्रो गौरव बोकेका अमूल्य सम्पदाको संरक्षण होला भनेर आशा गर्नु व्यर्थ बनेको छ । यस्तै अवस्थामा सम्पदा बुझाउन, सम्पदाप्रतिको सोचमा परिवर्तन ल्याउन, सम्पदा चेतना बढाउन र सम्पदा जोगाउन लडाइँ लड्नेहरूको गाथा भएको छ, ‘सम्पदा लडाइँ’ ।

सम्पदाको नाउँ बेचेर आर्थिक लाभ मात्रै हासिल गर्ने होइन, हासिल भएको आर्थिक लाभ सम्पदा संरक्षण र सम्वर्द्धनमा लगानी गर्न सक्नुपर्छ । सम्पदालाई अर्थसँग जोडेर हेर्ने होइन, हाम्रो जीवनशैली र हाम्रो पहिचानसँग जोडेर हेर्नुपर्छ । सम्पदालाई अर्थसँग मात्रै जोडेर हेर्ने हो भने त्यो केही होइन । हाम्रो जीवनसँग जोडेर हेर्ने हो भने त्यो धेरै थोक हो । सम्पदा हाम्रो पहिचान, हाम्रो अस्तित्व, हाम्रो जीवनशैली, हाम्रो प्रतिष्ठा, हाम्रो गौरव र हाम्रो धनदौलत सबथोक हो । त्यसैले यसको संरक्षण र सम्वर्द्धन हुनुपर्छ । संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । ‘इतिहास कालो होस् वा सेतो, जोगाउनुपर्छ । आउँदा पुस्ताले पनि हेर्न, देख्‍न पाउनुपर्छ ।’ 

हामी आफ्नै सम्पदा, संस्कृति र इतिहास मासेर आधुनिक बन्ने होडमा छौं । सम्पदा, संस्कृति र इतिहास नै जीवित नभएपछि हामी आधुनिक हुँदाको हाम्रो परिचय के हुन्छ ? नेपाली, अमेरिकन अथवा बेलायती ? अथवा अरू नै केही ? आफ्नो परिचय नै गुमेपछि हामी जतिसुकै आधुनिक बने पनि हामी केही पनि हुँदैनौँ र कहीँका रहँदैनौँ । त्यसैले सम्पदा, संस्कृति र इतिहासको संरक्षण गर्नुपर्छ, सम्वर्द्धन गर्नुपर्छ भन्ने सम्पदा, संस्कृति र इतिहासप्रेमीहरूको मान्यता हो । 

यसो त पुँजीवादले गाँजेको विश्वमा यस्ता थोत्रा र भग्नावेश बन्न लागेका सम्पदाहरूको कुनै आर्थिक मूल्य र महत्त्व नरहला । ग्लोबलाइजेसनको जमानामा परिचयको सीमित घेराको कुनै अर्थ नरहला । तर हामीलाई अर्थ छ हाम्रो सम्पदा, संस्कृति र इतिहासको । किनभने पूर्ण रूपमा पुँजीवादी बन्न नसकेका हामी स्वाभिमानी नेपालीलाई आफ्नै छुट्टै परिचयको मोह छ र खाँचो पनि छ । नभए डीभी, ग्रिनकार्ड वा अन्य विभिन्न बहानामा पुँजीवादी समाजमा विलय हुन पुगेका नेपालीले त्यहाँ दौरा, सुरुवाल, ढाकाटोपी र गुन्यूचोली लाउनुपर्ने आवश्यकता किन ? हो, पहिचानका लागि । त्यही पहिचान बचाइराख्नका लागि सम्पदाको संरक्षण र सम्वर्द्धन जरुरी छ । यही चेतना र सन्देश प्रवाह गर्न खोजेका छन् लेखक दामोदर न्यौपानेले ‘सम्पदा लडाइँ’ मार्फत ।

लेखक न्यौपानेकै शब्दमा भन्ने हो भने सम्पदा राष्ट्रको चिनारी हो । सम्पदा विगतको अभिलेख हो, वर्तमानको यथार्थ हो र भविष्यको सत्‌मार्ग पनि हो । सम्पदा सभ्यताको सूचक हो । तत्कालीन मूल्यमान्यता र जीवनपद्धति देखाउने ऐना हो सम्पदा । समुन्नतिका प्रतीक हाम्रा सम्पदा राष्ट्रिय परिचयका संवाहक पनि हुन्, जसले विभिन्न कालखण्डका वैभव देखाउँछन् । विविध कालखण्डका अनेक व्याख्या गर्छन् । यस अर्थमा सम्पदा भावनात्मक एकता सिर्जना गर्ने जीवित इतिहास हुन् । यिनले सामूहिक आस्था, विश्वास र मूल्य-मान्यताको निर्माण गर्छन् । विगतको समृद्धि देखाउने सम्पदा भविष्यको समृद्धिका आधार पनि हुन् । सम्पदा पुर्खाका देन हुन्, विगतका यथार्थ तस्बिर हुन् । समाजका अभिलेख हुन् । सम्पदा जीवित इतिहास हुन् । इतिहासले सभ्यता र संस्कृतिको पहिचान दिन्छ, गौरव बोक्छ । 

संक्षेपमा भन्नुपर्दा राष्ट्र चिनाउँछन् सम्पदाले । तर अफ्‌सोच, उपेक्षित छन् हाम्रा सम्पदा । यिनको संरक्षण भए मात्र सभ्यताको पहिचान, पुर्खाको नासो, समाजको गौरव भनेर हामीले गर्व गरिरहन पाइनेछ ।

कतिपय अवस्थामा सरकारी कानुन र अदालत नै सम्पदा संरक्षणमा बाधकका रूपमा खडा हुने गरेको यथार्थको वर्णन पनि छन् ‘सम्पदा लडाइँ’ भित्र । सम्पदाको महत्त्व नबुझ्नु वा बुझ्न नखोज्नु एकदमै ठूलो कमजोरी हो । अझ बुझेर पनि नबुझेझैं गर्नु त्यो त एकदमै ठूलो गल्ती हो । हो, हाम्रो सरकार, हाम्रो कानुन र हाम्रा शासकहरूबाट यस्तै गल्तीहरू भएका छन् । सम्पदाको संरक्षणमा भन्दा यसको विनाशमा साथ दिने हाम्रो सरकार, हाम्रो कानुन र हाम्रा शासकहरूले गर्दा सम्पदा संरक्षणको अभियानमा खलनायकको रूपमा देखापर्ने माफियाको मनोबल उच्च रहँदै आएको छ । यद्यपि सम्पदा संरक्षणका लागि लडाइँ लड्ने योद्धाहरूसामु त्यस्ता खलनायकहरू परास्त हुनेछन् र भएका छन् भन्ने धेरै उदाहरण यसै पुस्तकभित्र समेटिएका छन् । यसकारण सम्पदा संरक्षणका अभियन्ताका लागि यो पुस्तक प्रेरणा र हौसलाको माध्यम बन्नेमा पनि निश्चिन्त हुन सकिन्छ ।

सम्पदा मात्र होइन, इतिहासका कुरा पनि छन् पुस्तकभित्र । ऐतिहासिक तथ्यहरूलाई पनि यथास्थानमा प्रसङ्‍ग मिलाएर लेखिएका छन् । मूर्त सम्पदालाई जीवन्त बनाउने अनगिन्ती अमूर्त सम्पदाहरू छन् देशमा । विशेषगरी काठमाडौं उपत्यकामा त्यस्ता अमूर्त सम्पदाहरूको बाहुल्यता छ । तिनलाई पनि क्रमशः पश्चिमा संस्कृतिले विस्तारै अतिक्रमण गर्दै छ । तिनको पनि संरक्षण जरुरी भएको छ । 

सम्पदा मिचिएको, सम्पदा मासिएको र सम्पदामाथिको अतिक्रमण बढेको टुलुटुलु हेर्न नसकेर यसको संरक्षणमा जुटेका केही साहसिला र जोशिला सम्पदाप्रेमी युवालाई कलमको अस्त्र लिएर साथ दिने लेखक न्यौपानेको योगदानलाई अब भावी पुस्ताले पनि सम्झने छन् यसै पुस्तकमार्फत । विशेषगरी सम्पदा संरक्षणका क्षेत्रमा कहाँ, के र कस्ता समस्या आए अथवा आएका छन् र कहाँ, केकस्ता प्रयास भइरहेका छन् भन्ने यथासम्भव जानकारी यो पुस्तकमा समेट्ने प्रयास गरेका छन् । 

सम्पदा संरक्षणको विषयलाई लिएर महानगरपालिका, पुरातत्त्व विभाग, अदालत, अख्तियार, मालपोत, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयसम्म पटकपटक धाउनुपरेको दुःख, पीडा, सास्ती र हैरानीलाई पुस्तकमा सप्रसङ्‍ग व्याख्या गरेका छन् । सम्पदा संरक्षणको अभियन्ताले भोगेका अपमानसँगसँगै धम्की र चेतावनीहरूसँग निर्भिकतापूर्वक लडेका प्रसङ्गहरू पनि छन् । यी प्रसङ्गहरूले नयाँ अभियन्ताहरूलाई आत्मविश्वास र हौसला बढाउनेमा कुनै सन्देह मान्नु पर्दैन । आफ्नो सम्पदा र आफ्नो पहिचानलाई माया गर्ने सबैका लागि यो पुस्तक एउटा गौरवगाथा नै हो । यो पुस्तक सम्पदा संरक्षणको क्षेत्रमा एउटा ऐतिहासिक दस्तावेजकै रूपमा रहनेछ ।

ठाउँठाउँमा भएका मुद्राराक्षसले ‘सम्पदा लडाइँ’ को सौन्दर्यमा दाग लगाएका छन् । आगामी संस्करणमा मुद्राराक्षस करेक्सन भए पुस्तकको स्‍निग्ध सौन्दर्य अझै खुल्नेछ कञ्चन हिमालझैं । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro